Aamsanchar

नडियाबारीमा आयोजित तिज कार्यक्रमको स्थानीय स्तरमा प्रशंसा

Author Image
मङ्गलवार, असोज २, २०८०

बिर्तामोड । पछिल्लो एक दशक भित्र केही संस्थाहरूले सामाजिक रुपमा आयोजना गरेको तिज कार्यक्रमहरू भड्किलो, पाश्चात्य र अश्लिल शैलीको भएको भनेर चौतर्फी आलोचना भइरहेको छ । यस वर्ष पनि तिजलाई मौलिकता विपरित मनाउने हरुले कडै आलोचनाको सामना गर्नु परेको छ ।

झापामा एक धार्मिक संस्थाले आयोजना गरेको तिज कार्यक्रमको भने स्थानीय स्तरमा प्रशंसा भएको छ ।

बिर्तामोड–९ नडियावारीस्थित कालिमाता मठमन्दिरमा आयोजित तीज कार्यक्रममा गन्धर्व कलाकारहरूले सारंगी र मादलको धुनमा गीत गाइरहँदा सबैको मन छोयो ।  मौलिक तिजको ‘घुमिफिरी चाड आउँछ ,माइतीघरको याद आउँछ’ बोलको गीत गन्धर्व कलाकारहरूले गाउँदा माइत जान नपाएका महिलाहरूको आँखा रसायो । कालिमाता मठमन्दिर व्यवस्थापन समिति, आदर्श नवयुवा क्लब, आदर्श कीर्तन मण्डली, आशीर्वाद कीर्तन मण्डली र हरिहर कीर्तन मण्डलीले संयुक्त रुपमा तीज कार्यक्रम गरी कार्यक्रममा ख्यातिप्राप्त गन्धर्व कलाकारहरूलाई बोलाएका थिए ।

पुरानो गीतको भाकामा महिलाहरू नाचिरहेका थिए । कार्यक्रममा पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजका अध्यक्ष रविन गन्धर्व, गन्धर्व संगीत सञ्जालका उपाध्यक्ष श्याम गन्धर्व , सञ्जालकै लालबहादुर गन्धर्व , सुजन गन्धर्व र तारा गन्धर्वले ‘घुमिफिरी चाड आउँछ , माइतीघरको याद आउँछ’, ‘तीजको लहर आयो बैरी लै’, ‘माइती किन हुँदैछ टाढा’ जस्ता गीत गाएका थिए ।

महिलाहरूको कथा व्यथा समेटिएको मौलिक गीत गन्धर्वहरूले गाइरहँदा कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई पनि गीत गाउन मन लाग्यो । उनले ‘तीजको बेलामा सबै जान्छन् माइत, आफ्नो माइती मुग्लान पारि छैन साइत’ बोलको जनवादी गीत गाएर मनोरञ्जन प्रदान गरे । तीज पर्व विकृत बन्दै गइरहेकाले मौलिक सांस्कृतिक सम्पदालाई संरक्षण गर्न यस किसिमको कार्यक्रम अपरिहार्य भएको उपप्रमुख संग्रौलाले बताए । उनले हिन्दु धर्मावलम्बीहरूले आफ्नो संस्कार संस्कृति छोड्दै गएकोमा चिन्ता व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि बिर्तामोड– ९ का कार्यवाहक वडा अध्यक्ष केशव बुढाथोकीले पनि तीज पर्वमा महिलाहरूले भित्र्याएको विकृतिले संस्कार संस्कृतिको महत्व घटेको बताए ।

कालिमाता मठमन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रविन बुढाथोकीको अध्यक्षतामा भएको तीज विशेष कार्यक्रममा स्वागत मन्तव्य मन्दिर समितिका सल्लाहकार तथा आदर्श नवयुवा क्लबका संस्थापक अध्यक्ष काजी बुढाथोकीले गरेका थिए ।

आदर्श कीर्तन मण्डलीकी अध्यक्ष अम्बिका कटुवाललगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विश्व हिन्दु महासंघ नेपालका सल्लाहकार सदस्य दीपक पाण्डे , खप्तडी बुढाथोकी क्षेत्री समाज झापाका अध्यक्ष योगेन्द्र बुढाथोकीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मन्दिर व्यवस्थापन समितिका सचिव जगत कटुवालले गरेका थिए । कालिमाता मठमन्दिर व्यवस्थापन समितिले विगत ७ वर्षदेखि निरन्तर रुपमा तीज मिलन कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)