Aamsanchar

संयुक्त राष्ट्रसंघको ‘यूएन इन्टरएजेन्सी टास्क फोर्स अवार्ड’ उपभोक्ता हित संरक्षण मञ्चलाई

Author Image
बुधवार, असोज ३, २०८०

काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्चले संयुक्त राष्ट्रसंघको ‘यूएन इन्टरएजेन्सी टास्क फोर्स अवार्ड २०२३ ’ प्राप्त गरेको छ । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभामा धूम्रपान र मद्यपानको सेवन न्यूनीकरणमा अथक प्रयास गर्दै नसर्ने रोगको रोकथाममा उल्लेखनीय योगदान गरेको मूल्यांकन गर्दै संयुक्त राष्ट्रसङ्घले मञ्चलाई यो अवार्ड प्रदान गरेको जनाएको छ ।

यो अवार्डको घोषणा संयुक्त राष्ट्रसंघको सभाले मंगलबार राति गरेको हो । यो अवार्ड नेपालले पहिलो पटक पाएको हो । राष्ट्रसङ्घले नसर्ने रोग र मानसिक स्वास्थ्यमा उल्लेख्य भूमिका निभाएकोमा सरकारी तर्फ निकारागुवा, लेबनान, ओमन र कोस्टारिकाको स्वास्थ्य मन्त्रालयलाई पनि अवार्ड प्रदान गरेको छ भने गैरसरकारी संस्थाहरूमध्ये अमेरिकाको हेल्थ फाइनान्सिङ इन्स्टिच्युट, चेक रिपब्लिकको लूनो र नेपालको उपभोक्ता हित संरक्षण मञ्च रहेका छन् ।

महासभाको अवार्ड घोषणा समारोहमा मञ्चका अध्यक्ष उपभोक्ता अधिकारकर्मी ज्योति बानिया भर्चुअल माध्यमबाट सहभागी भएका थिए । बानियाँले भर्चुअल माध्यमबाट छोटो सम्बोधन पनि गरेका थिए । २९ वर्षदेखि निरन्तर मञ्चले जनस्वास्थ्य अधिकार सहित उपभोक्ता अधिकारका क्षेत्रमा गरिरहेको कामको कुनै न कुनै रूपमा मूल्यांकन भएको भन्दै मञ्चका अध्यक्ष बानियाँले खुसी व्यक्त गर्दै यो अवार्डले मञ्चलाई अझै गहन जिम्मेवारी थपिएको प्रतिक्रिया दिए ।

बानियाँ नेतृत्वको उपभोक्ता हित संरक्षण मञ्चले नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानून बनाउने, सुर्तीजन्य पदार्थका विरुद्ध पैरवी गर्ने, विज्ञापन रोक लगाउने, सुर्तीजन्य उद्योग बन्द गराउने, मदिराको विज्ञापन रोक लगाउने जस्ता कुरामा राज्यलाई दबाब दिँदै आइरहेको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)