Aamsanchar

ॐ श्री हरि विष्णु । आजका राशिफल । ४ असोज २०८०, बिहिवार

Author Image
बिहिवार, असोज ४, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु उचित हुनेछ, जीवनसाथी र घरपरिवारसँगै रमाएको जाती हुन्छ । तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रुचि बढ्न सक्छ । आज कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्न सक्नुहुन्छ । कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । हतारमा लिएको निर्णय गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कामको चाप बढे पनि मनमा सन्तुष्टिको आभास हुने राम्रो दिन छ, आज गैरलाभकारी कामतर्फ समेत मनको आकर्षण रहने छ । मन प्रसन्न रहने छ, लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । सानातिना झंझट वा विवादबाट जोगिनुपर्ने समय हो, ससाना कुरामा दिक्क लाग्ने समय छ । घरमा सम्पर्क गरी जीवनसाथीका भावना बुझ्नु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । स्वास्थ्यस्थितिमा कमजोरी देखिए पनि आनन्द र तिर्सनामा बृद्धि हुने दिन हो । स्वभावमा अस्वाभाविकता देखा पर्नेछ, कलहबाट टाढिएको जाती हुन्छ । जिद्दीपन र घमण्ड बढ्नेछ, गर्नुपर्ने काम वा जिम्मेबारीप्रति कुनै लगाव देखिंदैन, तर परीक्षामा खरो उत्रन अझ धेरै मिहिनेत गर्ने समय हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन् । ईर्ष्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ । इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कुरा काट्ने र खुट्टा तान्नेहरू सक्रिय हुनेछन्, स्वास्थ्यस्थितिमा पनि असर पर्नसक्छ, त्यसैले आज शारीरिक तन्दुरुस्ती र आहारविहारमा ध्यान दिनुहोला । हाँके÷ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो । पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम लुकाएर गर्नुपर्ने परिस्थिति बन्नेछ, हिसाबकिताबको कुरा हो भने पछि हट्नु ठीक हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
खटेअनुसार फाइदा बटुल्ने दिन हो, अझ रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ । बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ । पुराना विषयले तनाव बढाउने दिन हो, त्यसैले आफूलाई सम्हालेको जाती हुन्छ । कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथीहरूसँग छलफल गरी जानकारी बटुल्ने दिन हो, नयाँ कुरो सिक्न पाइने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, पेसा वा नोकरीका बारेमा आकर्षण छ भने अनुभवी र जान्नेबुझ्नेको राय लिएर अघि बढ्दा जाती हुन्छ । सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । नौलो विषयमा चासो देखाउनु तथा नयाँ ठाउँमा धन लगानी गर्नु उचित समय छैन, दैनिकी सञ्चालनमा समेत बाधा झेल्नुपर्ने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
एकआपसमा अहङ्कार र एटिच्युडको प्रवेश हुनु राम्रो होइन, जीवनसाथीसँग कुनै पनि कुरो नलुकाउनु होला, नत्र भविष्यमा कलहको बीजारोपण हुनसक्छ । अवसरको खोजी गर्ने दिन हो, अझ प्रतिष्ठित शैक्षिक संस्थान वा विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ । निर्णयात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पठनपाठनमा ध्यान केन्द्रित हुँदैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित हुनुपर्छ । कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ । महत्त्वाकाङ्क्षा राख्नुहुँदैन, नत्र व्यावहारिक समस्या र अपजस खेप्नुपर्ने समय छ । कतिपय स्थितिमा थालेको काम पनि बीचमा नै छाड्नुपर्ने हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मानसिक सन्तुष्टिको समय हो, तथापि आज कुनैकुनै कुरामा भावनामा वहन सक्नुहुन्छ । पार्टनरलाई कुनै उपहार दिएमा सम्बन्धमा अझ प्रगाढता छाउनेछ । नयाँ ठाउँको यात्रा वा नयाँ मित्रको सङ्गतबाट आनन्द लिने समय हो । प्रतिष्ठित व्यक्तिलाई मित्र बनाउन पाउँदा दङ्ग पर्न सक्नुहुन्छ । जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । धैर्य र संयम भएर काम गर्ने समय हो, नत्र सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अर्काको जिम्मामा काम छाडेर अन्त जानु हुँदैन । कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
विशेष गरी जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन्, तिनको प्रयास सफल हुने तथा प्रशंसा पाउने समय हो । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । कुनै नौलो विषयको अनुभव प्राप्त हुनेछ, जसले तपाईंको कार्यशैलीमा सुधार गर्नेछ । वरिष्ठ कर्मचारीको मद्दतले नसुल्झिएको गुत्थी सुल्झाउन सकिने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर