Aamsanchar

आफैँले पढाएको विद्यार्थीले गरे प्रधानाध्यापकमाथि हँसिया प्रहारको प्रयास

Author Image
बिहिवार, असोज ४, २०८०

सुर्खेत – यति बेला सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल छ । उक्त भिडिओमा एक जना युवाले हँसिया लिएर एक महिलालाई धम्क्याइरहेका छन् । महिला रुँदै हँसिया खोस्ने प्रयास गरिरहेकी छिन् । तर, ती युवा धम्कीपूर्ण व्यवहार गरिरहेका छन् । सामाजिक सञ्जालमा भाइरल यो भिडिओ हो, पश्चिम सुर्खेतको चौकुने गाउँपालिका –१, बडासैनमा रहेको सुदर्शन प्राथमिक विद्यालयको । ती युवकले विद्यालयका प्रधानाध्यापक हिरादेवी भण्डारीलाई काटिदिने भन्दै हँसिया लिएर विद्यालयमा प्रवेश गरेका थिए । घटना ३१ भदौको हो । शिक्षा दिवसको अवसर पारेर विद्यालयका गरिएको कार्यक्रममा सबै जना सहभागी थिए ।

कार्यक्रममा सामान्य विवाद गरेर घर फर्किएका ती युवा हुन्, सोही ठाउँमा २२ वर्षीय छवि साउँद । मदिरा सेवन गरी कार्यक्रममा सहभागी साउँदले प्रधानाध्यापक भण्डारी र विद्यालय व्यवस्थापन समितिको अध्यक्षलाई काटिदिने धम्की दिएका थिए ।

विवाद गरी घर फर्किएका उनी केही बेरपछि हँसिया लिएर पुनः विवाद गर्न थाले । प्रधानाध्यापकको कोठामा प्रवेश गरेका उनको हातबाट प्रअ भण्डारीले हँसिया खोस्ने प्रयास गरिरहेकी छन् । तर, ती युवाले हँसिया खोसेकी प्रअमाथि जाइलागेको भिडिओमा देख्न सकिन्छ ।

भण्डारीमाथि हँसिया प्रहार गर्न खोज्ने ती युवा स्वयम् भण्डारीकै विद्यार्थी हुन् । साउँदलाई प्राथमिक तहसम्मको शिक्षा दिने उनै प्रअ भण्डारी हुन् ।

घटना के भएको हो प्रअ भण्डारीको भनाइ जस्ताको त्यस्तै :

स्कुलमा कार्यक्रम गरिरहेकै बेलामा रक्सी खाएर हातहतियारसहित ममाथि आक्रमण गर्न खोजेका हो । म ठुलो दुर्घटनाबाट बचेँ । विद्यार्थीलाई राम्रोसँग नपढाउनु भएर हो कि रु भन्ने रातोपाटीको प्रश्नमा भण्डारी भन्छिन्–हैन त्यस्तो केही हैन । विद्यालयमा अभिभावक पनि बोलाएकी थिएँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्यू पनि हुनुहुन्थ्यो । उहाँमाथि पनि गाली बेइज्जती र धम्की दियो । पछि म अफिसभित्र बसिरहेका बेला ढोकालाई लात्तिने हानेर भित्र पसेर दुई पटकको प्रयासमा हात पन्छाएर हतियार फाल्न सकेँ । तीन पटकमा हतियार म आफैँले समात्न सफल भएँ । अहिले सामाजिक सञ्जालमा आएको भिडिओ अफिस भित्रको होइन । ढोकाबाट बाहिर निस्किसकेपछिको हो । उ मैले नै पढाएको विद्यार्थी हो ।

घटनापछि उनी लुकेर बसेका थिए । ऊसँग सम्पर्क गर्दा फोन नउठाउने गर्थ्यो । अस्ति उनको आमा सम्पर्कमा आएर मिल्छु भनेपछि उसलाई ल्याएर मिलाइदिनु भनेर भने । तर, अपराधीलाई छोड्न नमिल्ने भन्दै प्रहरीले पक्राउ गरेको हो ।

हामीले विद्यार्थीलाई नपढाएको भनेर होइन । हाम्रो विद्यालयको बारेमा पालिकाले चासो दिएको छ । शिक्षक दरबन्दी कम छ । कार्यक्रम हुन लागेको बेला उनको भान्जा बिरामी थियो । मेरो भान्जा बिरामी हुँदा पनि किन हेरेनौ । मरेको भए तिमीलाई जानेको थिएँ, तिमीलाई अब काट्छु, मार्छु भनेर यस्तो हर्कत गरेको हो ।

दोषीलाई कडा कारबाही गर्न पालिकाको माग

उक्त घटनाको विषयलाई लिएर चौकुने गाउँपालिकाले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । गाउँपालिकाका अध्यक्ष खड्क विक (विवश) र शिक्षा शाखा प्रमुख टेकेन्द्रबहादुर बुढाले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका हुन् ।

युवक पक्राउ, जिप्रकामा मुद्दा दर्ताको तयारी

इलाका प्रहरी कार्यालय बाबियाचौरले घटनामा संलग्न साउँदलाई पक्राउ गरेर पनि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाइसकेको छ ।

बुधबार पक्राउ परेका युवक र घटनासँग सम्बन्धित पीडितलाई मुद्दा दर्ताका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएको हो । वीरेन्द्रनगरमा रहेकी प्रअ भण्डारीले आज बिहीबार मुद्दा दर्ता गर्ने तयारी गरिरहेको बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)