काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदको चुनावमा पूर्वकप्तान पारस खड्काले अग्रता बढाएका छन् । शनिबार भएको क्यानको केन्द्रिय चुनावमा सचिव पदमा सुरुवाती ५० मत गणना हुँदा पारसले २९ र प्रशान्त मल्लले २१ मत लिएका छन् । पारसले सुरुवाती ५० मत गणना हुँदा ८ मत अग्रता लिएका छन् । सुरुवाती २० मत गणना हुँदा पारसले अग्रता १ मतले मात्रै लिएका थिए ।
कुल मत ८५ हुँदा सबै खसेको थियो । सचिव पद जित्न ४३ मत आवश्यक पर्दछ । प्रमुख पदमा सचिव बाहेक अन्य सबैमा सर्वसम्मत निर्वाचित भएको थियो । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का सर्वसम्मत निर्वाचित भएका थिए । तर सचिव पदमा सर्वसम्मत नहुन नसकेपछि निर्वाचन गर्नु परेको थियो । त्यस्तै महिला सदस्यमा जयन्ती देवी भट्ट पनि सर्बसम्मत रुपमा निर्वाचित भएकी थिइन् ।
सात प्रदेशबाट एक एक जना सदस्यमा निर्वाचित हुने गर्दछन् । जसमा लुम्बिनीबाट प्रदीप मजगैयाँ र कर्णालीबाट श्रीधर केसी सर्वसम्मत प्रदेश कोटामा सदस्यमा निर्वाचित भएका थिए । अव पाँच प्रदेश र पाँच खुल्ला सदस्यको मतगढना जारी छ ।