Aamsanchar

अर्घाखाँचीमा भैरव नाच

Author Image
आइतवार, असोज ७, २०८०

अर्घाखाँची – अर्घाखाँचीमा भैरव नाच सुरू भएको छ ।

अर्घाखाँचीको लोकप्रिय भैरव नाच विधिवत पूजा गरि सुरु गरिएको छ । एक वर्ष बिराएर नेवार समुदायमा नाचिने यो नाच सन्धिखर्क नगरपालिकाको डिभर्ना, वाङ्ला, भुमिकास्थान नगरपालिकाको लात्तेबाँझ र नुवाकोट लगायतका क्षेत्रमा नाचिने नाचमा आलोपालो देवी जगाएर डङ्किनीसहित कालो, रातो र सेतो भैराम नचाउने गरिन्छ ।

भैरव नाचलाई श्रीकृष्णका विभिन्न रुपमा लिइदै आएको छ । भैरव नाच संरक्षणका लागि स्थानीय सरकारदेखि युवा पिढी जुटेर लागेको नुवाकोटका संयोजक तथा भुमिकास्थान नगरपालिका– ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।

यस्तै, भैरवको स्वरुपमा हुने यस नाचका नर्तकलाई भगवानको प्रतिकका रुपमा पूजा गरिन्छ । पुरुष नर्तकले महिलाको भेषमा श्रृंगार गरेको हुन्छ । यसको स्पष्ट स्वरुप नखुले पनि भैरव नाचको अभिन्न अंगका रुपमा रहँदै आएको छ ।

भैरव नाच सात तालसम्म नाचिन्छ । यसमा काल भैरव मुख्य हुन्छ भने श्वेत भैरव र रक्त भैरव सहायक हुन्छ । अर्को तर्फ चरा नाच, घोडा नाच, लाउरे लाहुरेनी नाच, टाकन टुकन नाच लगायतका नाच भैरव नाचका विशेषता रहेका छन् । भैरव नाचबाट उठेको रकमबाट सामाजिक क्षेत्रमा खर्च गरिदै आएको सन्धिखर्क नगरपालिका १२ का डिभर्ना भैरव नाच संमरक्षणका अभियन्ता बसन्त श्रेष्ठले बताउनुभयो ।

भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरू गरी कार्तिकको औंसीसम्म नाचिने प्रचलन छ । यो नाच रातको समयमा विशेषगरी सूर्य अस्ताएपछि सूर्योदयअघिसम्म स्थानीय चलनअनुसार बिहान भाले बास्नु अघिसम्म नाच्ने गरिन्छ । कुनै दिन अन्यत्र गाउँमा गई नाच्नुपर्‍यो र उज्यालो भयो भने बोकाको बली दिनुपर्छ भन्ने मान्यता रहेको छ ।

भैरव नाच जिल्लाभित्र मात्रै होइन छिमेकी जिल्ला गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रुपन्देहीलगायतका क्षेत्रमा पनि लोकप्रिय छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)