Aamsanchar

इन्द्रजात्राको पौराणिक कथन

Author Image
बिहिवार, असोज ११, २०८०

काठमाडौँ एउटा इतिहासै इतिहासको सहर हो

काठमाडौँ एउटा इतिहासै इतिहासको सहर हो, देवाधिदेव महादेवको पवित्र पाशुपत क्षेत्रको इतिहास कुनै काव्य या इतिहासका ताम्र पत्र या शिलालेखमा उल्लेख छैन तथापि यस सहर बासीको सहिष्णुता, संस्कार, सभ्यता अनि सांस्कृतिक धरोहरहरू आज विश्वका लागि नै एउटा अनमोल प्राचीन सम्पत्ति भएको छ ।

‘येँया पुन्हि’
काठमाडौँको माटो र आव हवामा सभ्यता र शान्तिको एउटा स्वाद छ अनि काठमाडौँ देवता र मन्दिरको मात्र सहर नभई विविधता सहितका अनेक चाडबाड र प्राचीन सभ्यताको सहर पनि हो । इन्द्रजात्रा अर्थात् नेपाल भाषामा ‘येँया पुन्हि’, काठमाडौँ सहरको प्राचीन बस्ती वसन्तपुरमा मनाइने सबैभन्दा ठुलो चाडहरुमध्य एक हो ।

किम्बदन्ती
सुरु गरौँ किम्बदन्ती बाट जसका अनुसार स्वर्ग लोकका भगवान् इन्द्र आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका निम्ति आवश्यक पारिजातको फूल र कर्कलो चोर्न मानव रूप धारण गरी काठमाडौँ सहरमा आएर बगैँचाको माली लाई सोध्दै नसोधी चोर्न लाग्दा स्थानीयले आफ्नो तन्त्र शक्तिको प्रयोग गरी इन्द्रलाई पाता कसी बिच सडकमा बाँधेर ढाले पछिको दृश्य सहितको मूर्ति प्रदर्शन गरिएको लोक कथन छ।

काठमाडौँको इन्द्रचोक, किलागल र नरदेवीमा पनि बाँधिएका इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबलीमा प्रदर्शन गर्ने गरिन्छ ।

बन्धनमा पारेका छोरा इन्द्र
यसरी आफ्नो खातिर काठमाडौंवासी ले बन्धनमा पारेका छोरा इन्द्रलाई त्यस बन्धनबाट मुक्त गराउन उनकी आमा स्वयं काठ्माण्डौ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन् । यस मौसममा लाग्ने त्यही विशेष कुहिरोका कारण धान बाली समयमै हुर्किएर पाक्छ भन्ने किम्बदन्ती अझै पनि जनजिब्रोमा जीवितै छ। इन्द्रजात्राको प्रमुख कार्य नै लिङ्गो *ध्वजा) स्थापना गर्नु र उल्लासपूर्ण माहौलमा रथयात्राको आयोजन गर्नु हो ।

नेवास् परम्परा अनुसार भाद्र शुक्ल पक्ष ुयँलाथ्व द्वादशीुको दिन मनाइने इन्द्र ध्वजोत्थानबाट प्रारम्भ भएर ‘यँलागाः चौथी’ अर्थात् इन्द्र ध्वज पतनसम्म आठ दिन विभिन्न देवी देवतासङ सम्बन्धित नाच, गान र रथयात्रा (विशेषतः कुमारी, भैरव र गणेश)  गरेर सम्पन्न गरिने यो जात्रालाई मुख्यतः दुई प्रकारले मनाउने चलन रही आएको छ । अनुहारमा विभिन्न देवी देउताका ‘ख्वापाः’ (अर्थात् मुखौटा) लगाएर नेवास् समुदायका विभिन्न गुठी र समूहहरू मिली नाचगान गर्ने गरिन्छ ।

तान्त्रिक विधिद्वारा पूजाआजा गरी एउटा विशेष प्रक्रियाको लागि तयार पारिएको कालो बोकोलाई काभ्रे जिल्लाको उग्र चण्डी नालास्थित जङ्गलमा छाडिएपछि उक्त बोकोले त्यस जङ्गलमा सर्वप्रथम छोएको रूखलाई काटेर एकादशीका दिन विधिपूर्वक इन्द्र ध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। यसरी तयार भएको लिङ्गोलाई स्थानीय नेपाल भाषामा ुयोंसीु समेत भनिन्छ । उक्त लिङ्गोलाई वसन्तपुर दरबार स्क्वायरस्थित हनुमान ढोकामा अवस्थित विशाल काल भैरवको मूर्ति अगाडि तान्त्रिक विधिअनुसार विशेष पूजाआजाको प्रक्रिया पश्चात् लिङ्गो ठड्याइएपछि ‘इन्द्र ध्वजोत्थान’  सम्पन्न हुन्छ र प्रारम्भ हुन्छ विधिवत् रूपमा इन्द्रजात्राको चहलपहल ।

यसरी तयार पारिने विशेष लिङ्गोमा विभिन्न चिह्न अङ्कित ध्वजा पताकाहरू सजाएर राखिएको हुन्छ। लिङ्गोको फेदमा सुनको जलप पोतिएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा अर्चना गर्ने गरिन्छ ।

लिङ्गो ठड्याउने परम्परा पनि एकदमै विशेष सांस्कृतिक प्रक्रिया अनुसार सम्पन्न गर्ने गरिन्छ । यस क्रममा नेपाली सेनाको ब्यान्डको टुकडी, गुर्जुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाएर यस महत्त्वपूर्ण प्रक्रियामा संलग्न हुन्छन्। इन्द्रजात्रामा इन्द्र ध्वजा उत्थान गर्ने परम्परा तत्कालीन राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ। यस अवसरमा वर्षमा एक पटक हनुमान ढोका दरबार क्षेत्रस्थित श्वेत भैरवको मन्दिर सर्वसाधारण कालागि दर्शन, पूजाहेतू खुला गर्ने गरिएको छ ।

सहकालका देवता इन्द्र
काठमाडौँ, भक्तपुर, ललितपुर, धुलिखेल र दोलखा समेतमा वर्षा र सहकालका देवता इन्द्रको पूजाआजा गर्ने गरिएको छ । काठमाडौँमा दसौँ शताब्दीका लिच्छविकालिन् राजा गुणकामदेवले इन्द्रजात्राको चलन चलाएको मानिन्छ भने कुमारी जात्रा भने अठारौँ शताब्दीको मध्यमा सुरुवात भएको मान्यता रहिआएको छ । यस दिन काठमाडौँका बुद्ध मार्गी नेवार समुदाय र हिन्दु मान्यताका नेवार समुदायहरूको अभूतपूर्व सहिष्णु सम्बन्धको मेल काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा देख्न सकिन्छ ।

सनातन र पुरातात्त्विक महत्त्वमा समेत इन्द्रजात्राको व्याख्या गरेको पाइन्छ । यस जात्राको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, कालिका पुराण, देवी पुराण, विष्णु धर्मोत्तर पुराण, हरिवंश पुराण, बृहत् संहिता र भविष्य पुराणमा समेत विस्तृत वर्णन गरेको पाइन्छ ।

इन्द्रजात्राको पौराणिक कथन
पुराणमा उल्लेख भएअनुसार प्राचीन कालमा देवता र असुरहरू ठुलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजाआजा गरी इन्द्रलाई हस्तान्तरण गरे । यसरी विभिन्न देवगणले हस्तान्तरण गरेको ध्वजा इन्द्रले समातेकाले त्यस ध्वजालाई ‘इन्द्र ध्वजा’ भनियो । देवासुर सङ्ग्राममा देवताहरूको विजय भएपछि इन्द्र ध्वज पूजा र समारोहले निरन्तरता पायो ।

स्वर्ग र पृथ्वीमा समेत यस विजयको कामनाले राजाहरूले इन्द्र ध्वज स्थापना गर्न थाले । साथै पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्र ध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला जाग्यो र आफ्नो राज्यमा सुख, समृद्धि कोलागि इन्द्र ध्वजा स्थापना गर्ने परम्परा चल्न थालेको हो ।

साथै लिङ्गो ठड्याइएको तीन दिनपछि वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा जीवित देवीका रूपमा रहेकी कुमारी, गणेश र आकाश भैरव ९सवभकु०को समेत रथयात्रा गर्ने परम्परा रहिआएको छ । आठ दिनसम्म राजधानीको हल चोक (भक्कुनाचहलचोक) को आकाश भैरव, भक्तपुरको महाकाली नाच, मजिपातको मजिपमत लाखे नाच, दस अवतार तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रूपमा (किलागलको पुलुकिसी)  पुलुकिसी नाच नचाउने परम्परा रहिआएको छ । साथै यस विशेष आठ दिने अवधिमा कुमारी घर अगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुको दशावतार समेत देखाइने गरिएको छ ।

दहचोकस्थित इन्द्र दहमा रातभर जाग्राम
काठमाडौँबाट करिब ७.२ किलोमिटर पश्चिम पर्ने दहचोकस्थित इन्द्र दहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्ने चलन पनि रहिआएको छ । मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शिर भनिने आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिङारेर पूजा गरिन्छ। साथै धिमे बाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ ।

लिङ्गो गाडेको तेस्रो दिन अर्थात् यंलाथ्व चतुर्दशीका दिन ‘क्वहने याः’ भनेर नेवार समुदायले मान्दै आएको जीवित देवी कुमारी, भैरव र गणेशलाई रथमा राखी काठमाडौँको पुरानो कान्तिपुर नगरीको तल्लो आधा भाग परिक्रमा गराइन्छ। यसै दिन बेलुकी गणेश, भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरु टोलबाट बर्सभरिमा मृत्यु भएका व्यक्तिका परिवारजनले सतविज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन्।

इन्द्रजात्राको विभिन्न प्रक्रियागत सांस्कृतिक विधिहरू अन्तर्गत बहुमतस् निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाइ त्यसमा दियो बत्ती बालेर नगर परिक्रमा गरिने गरिएको छ । यसरी आयोजन गरिने दियो बत्ती सहितको विशेष जात्रा काठमाण्डौका मानन्धर समुदायले गर्ने गर्दछन् । यंलाथ्व पूर्णि अर्थात् इन्द्रजात्राको चौथो दिन (थहने याः) भनेर शाक्य जातकी एक बालिकालाई कुमारीको रूप र दुई बालकलाई गणेश र भैरवको स्वरूपमा बेग्लाबेग्लै रथमा राखी बाजागाजाका साथ जात्रा निकाल्दै बुधवार तल्लो टोल (दक्षिण) र बिहीबार माथिल्लो टोल ९उत्तर०मा परिक्रमा गराइने गराइन्छ ।

सोही दिन साँझ बौद्ध धर्मावलम्बीले वर्षभरिमा दिवङ्गत भएका आफन्तहरू सुखावती भुवनमा वासको कामना गर्दै धरणी स्तोत्र पाठ गर्ने गर्छन्। उनीहरूले बाटोभरि दियो दान गर्दै काठमाडौँ नगर बस्ती बाहिरका बाटोहरू हुँदै नगर परिक्रमा गर्ने गर्छन् । तत्पश्चात् भोलिपल्ट वामन द्वादशीमा तिलगंगामा रहेको विष्णु विक्रान्त मूर्तिमा भक्तजनहरूले पूजा अर्चना गर्दै दियो दान गर्ने परम्परा छ। उक्त मूर्ति नेपाल संवत् ३८९ मा राजा मानदेवले आमा राजमाता राज्यवतीको पुण्य बढोस् भन्ने कामनाका साथ स्थापना गरेका थिए। यसै दिनदेखि घरघरमा काठले बनेको दलूचा ९झ्यालमा झुन्ड्याउने एक प्रकारको दियो० झुन्ड्याइ इन्द्रको नाममा बत्ती बाल्ने चलन रहिआएको छ ।

समय्‌बजि
यस विशेष दिन नेवार समुदायका मानिसहरूले ‘समय्‌बजि’  (चिउरा, राँगाको मासुबाट बनेको छोइला, कालो भटमास, माछा, हाँसको अण्डा, बारा, आलु, साग मिश्रित विशेष खाजा) खाइन्छ । यंलागा चौथी अर्थात् इन्द्र जात्राको अन्तिम दिन (नानिचा याः) भनेर गणेश भैरव र कुमारीको तीन वटै रथलाई किलागल परिक्रमा गराई बेलुकीको साइतमा लिङ्गो ढालेर जात्राको समापन गरिने गरिएको छ ।

यसरी विभिन्न चरण र सांस्कृतिक झाँकीसहितको आठ दिनसम्म नेवास् समुदायले इन्द्रजात्रा हर्ष र उत्साहकासाथ मनाउने गरेका छन् ।

नेपाली मौलिक सांस्कृतिक विविधता सहितका विभिन्न महत्त्वपूर्ण पलहरू झैँ यस विशेष महत्त्व बोकेको इन्द्रजात्राका प्रारम्भ गर्नुअघि राष्ट्रप्रमुखको उपस्थिति हुने परम्परा जयप्रकाश मल्लको पाला देखि चलिआएको छ र कान्तिपुर (काठमाडौँ) का अन्तिम मल्ल राजा जयप्रकाश मल्लले जीवित देवी कुमारीको रथ जात्रा चलाई आफू स्वयम रथमा बसी नगर परिक्रमा गर्ने गर्दथे भन्ने लोक कथन छ। हनुमान ढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुख उपस्थित भई गणेश, भैरव र कुमारीको पूजा गरी जात्रा हेर्नुपर्ने प्रचलन अहिले पनि यथावतै रहेको छ ।

नेपालका राष्ट्रप्रमुख, महामहिम राष्ट्रपतिले पनि कुमारी जात्रा अवलोकन गर्ने चलन छ । नेवारीमा काठमाडौँ अर्थात् ‘येँ’, ललितपुर अर्थात्  ‘यल’ अनि भक्तपुर अर्थात् ‘ख्वप’  लगायत कीर्तिपुर, दोलखा, बनेपामा इन्द्रजात्राको रौनकको विशेषता भिन्नाभिन्नै रहेको छ । पुस्तौँदेखि चलिआएको यस्तो जात्रा र पर्वहरूले हाम्रो प्राचीन सभ्यता अनि संस्कारको अद्भुत सङ्गमको इतिहास बोकेको छ।

कृषि सुहाउँदो यो मौसममा उपलब्ध विशेष कुहिरोलाई इन्द्रको उपहारका रूपमा काठमाडौंवासीले लिएको कुरा पनि इन्द्रजात्राले व्याख्या गर्दछ । शताब्दीयौं पुरानो यी जात्राहरू निरन्तर रुपमा चलिआएका छन् । वसन्तपुर दरबार स्क्वायर अनि मठ मन्दिर अगाडि प्रदर्शन हुँदै आएका यी जात्राहरू मनाउन कालागि काठ्माण्डौको जोसमा ऊर्जा उत्तिकै छ ।  फोटो श्रोत : गुगल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर