रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ जस्ले जनावरहरुको शरीरमा प्रवेश गरेपछि रेबिज गराँउदछ ।
हामीमध्ये धेरैलाई रेबिजको बारेमा थाहा छ होला र रेविज मानव सभ्यतासंगै धेरै अगाडिदेखि देखिएको रोग हो । उत्तर पूर्वि अफ्रिकन क्षेत्रमा रहेको इजिप्ट सभ्यतामा आजभन्दा करिव ४३०० वर्ष अगाडिको इतिहासमा रेविज रोगका बारेमा उल्लेख गरेको पाइन्छ । अर्कोतर्फ दार्शनिक एरिस्टोटलले आजभन्दा २३०० वर्षअगाडि लेखेको नोटमा पनि रेविज लागेको कुकरले मान्छेलाई टोकेमा या उक्त कुकुरले अन्य जनावरलाई टोकेमा अनि ति जनावरसंगको सम्पर्कमा मान्छे आएमा रेविज लाग्ने तथ्य उल्लेखित छ । रेविज लागेको अर्थात् रेविड जनावरहरुको र्यालवाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्सा विज्ञानलाई राम्रो चुनौती दिएको हो । अहिले आएर आधुनिक चिकित्सा पद्धती अनि भ्याक्सिन अर्थात् प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेछी पनि औषधीको मात्रा पुरागरेर, सुर्इ लगाएर रेविजलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारेमा भने रेविज प्राणघातक बन्न सक्छ ।
कृषी अनि जनावर पालन मानव सभ्यताका नितान्त नियमित क्रमहरू हुन र जनावरसगको संसर्ग अनि जनावरको वाक्लो उपस्थिती भएका वस्ति, समूदाय र संस्कारमा २० सौं शताब्दि अगावै रेविजको संक्रमण एकदमै धेरै देखिएको थियो । २०औँ शताब्दीको शुरुवातसंगै विकसित देशहरु र रेविजले धेरै प्रभावित मध्य यूरोपमा रेविजको संक्रमण नाटकीय रुपमा कम हुँदै गयो । जसको मूल कारण जनचेतना र रेविज विरुद्धको खोप नै हो । अब विकसित देशहरुमा रेविजको संक्रमण नगण्य छ तथापि हाम्रो जस्तो विकासोन्मुख देशमा रेविजको संक्रमण छिटपुट रुपमा भएपनि देखिंदै, सुनिदै आएको छ । नेपालका मुख्य मुख्य शहरहरु लगायत शक्तिकेन्द्र राजधानी मा समेत छाडा कुकुरहरु हरेक चोक र चौराहमा पाइन्छन । यी कुकरहरुको अब्यवस्थित उपस्थितीले मान्छेलाई टोकेर घाइते बनाउने त्रास र त्यो संगै रेविज संक्रमणको संभावना पनि उत्तिकै बढाएको छ ।