विराटनगर – कोसी प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ निर्णय गरेको छ । बिहीबार बसेको बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास सिटीबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको छ ।
यस्तै, उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिक गर्ने, कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चित कोषमा दाखिला गर्ने व्यवस्थाको लागि नेपाल सरकार, अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएअनुसार प्रदेश सामयिक कर असुलसम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने, सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई तोक्ने र २०८० असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोसी प्रदेशमा उराव तथा झाँगड समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।