Aamsanchar

मकै बालिभन्दा राम्रो आम्दानी हुन थालेपछि फिक्कलमा व्यावसायिक किवी खेती

Author Image
शनिवार, असोज २७, २०८०

सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिकाका किसानहरुले व्यावसायिक रुपमा किवी खेती गर्न थालेका छन्। मकै बालिभन्दा राम्रो आम्दानी हुन थालेपछि फिक्कल गाउँपालिकामा व्यावसायिक रुपमा किवी खेती गर्न थालिएको हो।

२०६९ सालमा नेकपा एमालेका जिल्ला अध्यक्ष रामकुमार कार्कीले महादेव डाँडामा पहिलो पटक झण्डै ३ विगाह जमिनमा १५ सयभन्दा बढी किवीको विरुवाहरु रोपेर सफल परीक्षण गरेपछि अहिले त्यस क्षेत्रका दर्जनौं किसानले व्यावसायिक रुपमा किवी खेती गर्न थालेका हुन्। एक पटक रोपेपछि वर्षौसम्म आम्दानी लिन सकिने भएपछि यसमा किसानको आकर्षण बढेको गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारको भनाई छ।

‘गाउँपालिकाको ६ वटा वडामध्ये सबैमा किवी खेति गरिएपनि वडा नम्बर १ का किसानहरुले भने व्यावसायिकरुपमा किवी खेती गर्दै आएका छन,’ सुनुवारले थपिन्।

फिक्कल १ को नागदह, माचखर्क, भेडीखोर लगायतका क्षेत्रका ५० बढी किसानले किवी खेती गर्दै आएको छ। त्यहाँका किसानले वार्षिक रुपमा चार हजार कुइन्टलसम्म किवी उत्पादन गर्ने गरेका छन। माचखर्कका किवी व्यवसायी गणेश बुढाथोकीका अनुसार किवीबाट स्थानीय किसानले ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी लिने गरेका छन्।

किवी खेती गर्ने किसानलाई वडा कार्यालय र गाउँपालिकाबाट पोल, तार लगायतका सामाग्रीहरु अनुदानमा वितरण गरिँदै आएको छ। फिक्कलमा किबीबाहेक स्याउ, ग्राउन एप्पल, बोझो लगायतको व्यवसायिक उत्पादन समेत गर्ने गरिएको छ।

फिक्कलको महादेवडाडाँ र तोश्रामखोला तथा गोलन्जोरको रतनचुरा लगायत क्षेत्रका किसानले पनि व्यवसायीक रुपमै खेति सुरु गरिरहेको बुढाथोकीको भनाई छ। किवीलाई बहुउपयोगी फल मानिन्छ। किवीका विभिन्न ७६ प्रजाति छन्। एक हजार २ सयदेखिमाथिको उचाइमा यसको राम्रो खेति हुने गर्दछ। यसको फलको बजार मूल्य प्रतिकिलो ५ सयदेखि १२ सय रुपैयाँसम्म पर्छ। विभिन्न १२ प्रकारका फलको स्वाद एकै फलमा पाइने किवीको बिरुवा पुस महिनामा रोपिन्छ। यसको फल कात्तिकदेखि मंसिर महिनासम्म पाक्छ। रोपेको ३ वर्षबाट उत्पादन दिन सुरु गर्ने सो बिरुवाले लगातार ५० वर्षम्म राम्रो उत्पादन दिने बताइएको छ।

चीनबाट पहिलो उत्पादन सुरु भएको किवीको अहिले विश्वका विभिन्न देशमा व्यवसायीक रुपमा खेति गर्न लागिएको छ। विभिन्न खालका भिटामिन पाइने किवी फलमा सुन्तलामा भन्दा बढी भिटामीन ‘सी’र केरामा भन्दापनि बढी भिटामीन ‘ई’ पाइन्छ।

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर
इलाममा चियाको पहिलो टिपाइ सुरु
बिहिवार, फागुन २८, २०८२
झापामा चैते धान लगाउन सुरु
आइतवार, फागुन २४, २०८२