विराटनगर – विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
युवतीले दिएको उजुरीका आधारमा प्रहरीले आइतबार विहान धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय बालक पक्राउ परेका छन् ।तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ बर्षका बालक पनि सहचालक नै हुन् ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–३ मा आइतबार विहान ट्रक पार्किङ गरेर राखेको स्थानमा महिलाको सामूहिक बलात्कार भएको हो ।महिलाले प्रतिकार गरेपछि भेला भएका स्थानीयले प्रहरीलाई खबर गरेपछि लगत्तै प्रहरी पुगेको थियो । प्रहरीले घटनास्थलबाट महिलाको उद्धार गर्दै तीन जनालाई पक्राउ गरेको हो ।प्रहरी स्रोतका अनुसार घटनामा संलग्नहरु शनिबार राति ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित होटलमा पुगेका थिए । खाना खाएपछि ट्रक राखेको ठाउँमा फर्कने क्रममा आरोपितहरु युवती चढेको सफारीमा नै चढेका थिए ।घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोडको प्रयास गरेका थिए । पक्राउ परेकाहरुलाई करणीसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न सोमबार अदालतबाट अनुमति लिइने प्रहरीको भनाइ छ ।