Aamsanchar

फूलपातीको दिन सुरुंगामा वृहत सन्थाल सांस्कृतिक नृत्य प्रतियोगिता हुने 

Author Image
बिहिवार, कार्तिक २, २०८०

कनकाई ।  बडा दशैँको अवसरमा झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेल मैदानमा शनिबार फूलपातीका दिन बृहत् सन्थाल सांस्कृतिक मेला लाग्ने भएको छ ।आज (बिहिबा) सुरुङ्गामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मेला आयोजना गर्ने जानकारी दिइएको हो ।

कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा मेला लगाइने  प्रतिष्ठानका सह सचिव तथा मेला सञ्चालन समितिका संयोजक भुवन खतिवडाले बताए ।

विगत ९ वर्ष अघि २०७१ सालमा कनकाई नगरपालिका ३ योगमाया सालिक क्षेत्रका स्थानीयले सुरुगरेको सन्थाल मेलालाई निरन्तरता दिदै गत वर्षबाट खेलकुद प्रतिष्ठानले मेला आयोजना गर्न थालेको प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिए ।

प्रतिष्ठानले आफ्नो अतिरिक्त कृयाकलाप अन्तरगत लोप हुँदै गहिरहेको सन्थाल समुदायको संस्कृति संरक्षण र उनीहरूको कला मौलिकतालाई जगेर्ना गर्नु पर्छ भन्ने उद्देश्यले बडा दसैँको फूलपातीका दिन मेला लगाउने तयारी गरिएको आयोजकले जनाइएको छ ।

मेलामा झापा, मोरङ, सुनसरी लगायत अन्य छेत्रमा बसोबास गर्दै आइरहेका सन्थाल समुदायलाई समेट्दै प्रतियोगितात्मक बृहत् कनकाई सन्थाल मेलाको आयोजना गरेको र आगामी वर्षमा पनि मेलालाई निरन्तरता दिने अध्यक्ष थपलियाले जानकारी दिएका छन् ।

मेलाको संरक्षकत्व कनकाई नगरपालिका रहेको छ  ।

पत्रकार भेटघाटका प्रमुख अतिथि, कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले भने ‘हरेक जातजातिको आआफ्नै संस्कृति परम्परा रहेको छ, त्यसको जगेर्ना गर्ने दायित्व स्थानीय सरकारको रहेकाले सन्थाल लगायत सबै जातजातिको मौलिक सांस्कृतिक कार्यक्रमहरू कनकाई क्षेत्रमा आयोजना हुने भए नगरले सहयोग गर्ने छ ।’

कुनैपनि जातजातिको भाषा लोप नहोस् भनेर नगरले पाठ्यक्रममै हाल नगर भित्र रहेका १५ जातजातिको आआफ्नै भाषाको कम्तिमा पनि २५÷२५ शब्दावली तयार गरेर यस वर्ष देखि साना कक्षा हरूमा पठनपाठन गराउन थालिएको नगर प्रमुख पोखरेलले बताए ।

प्रतिस्पर्धात्मक सन्थाल मेलामा २० वटा भन्दा बढी समुहको सहभागी रहने बताईएको छ । अनुमानित खर्च ३ लाख ७५ हजारमा सम्पन्न गर्ने गरि आयोजना गरिएको सन्थाल नृत्य प्रतियोगितामा प्रतिस्पर्धा गर्ने समूह मध्ये प्रथम हुने समुहलाई नगद ३२ हजार, दोस्रोलाई  २७ हजार, तेस्रो हुने समूहलाई नगद २३ हजार, चौथो हुनेलाई नगद २० हजार र पाचौँले नगद १८ हजार पुरस्कार प्राप्त गर्ने छन् भने प्रतियोगितामा सहभागी जनाउने अन्य सबै समुहलाई उचित सान्त्वना पुरस्कार प्रदान गर्ने  आयोजकको योजना रहेको छ ।

प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन सांसद एलपि साँवा लिम्बू, तेस्रो पुरस्कारको प्रायोजन झापा गाउँपालिका पाचौँ पुरस्कारको प्रायोजन स्वतन्त्र नागरिक समुहबाट भएको छ भने कनकाई नगरपालिकाबाट २ लाख सहयोग प्राप्त हुने बताइएको छ । नपुग थप रकम विभिन्न संघसंस्था , चन्दादाता र आयोजक बाटै जुटाई प्रतियोगिता सम्पन्न गरिने पनि अध्यक्ष थपलियाले बताए ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतिकुमार उप्रेती, निवर्तमान अध्यक्ष दीननाथ खतिवडा, सल्लाहकार लिला चिमरिया, सन्थाल समुदायबाट सुनिल मुर्मु आयोजक पदाधिकारीहरू अम्बिका खरेल, चित्रा श्रेष्ठ लगायतको उपस्थिति रहेको पत्रकार भेटघाटमा सहजिकरण संस्थाकी सचिव मान्ता खरेलले गरेकी थिइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)