Aamsanchar

संसद भवन दुई महिनाभित्र बनाइसक्न सभामुखकाे निर्देशन

Author Image
मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौँ – सभामुख देवराज घिमिरेले निर्माणाधीन संघीय संसदको भवन २ महिनाभित्र बनाइसक्न निर्देशन दिएका छन्।

मंगलवार शहरी विकास मन्त्रालयले संसद भवनभित्र प्रयोग गरिने प्रविधिका सम्बन्धमा जानकारी दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीय संसदका मुख्य २ वटा भवन २ महिनाभित्रै सक्न निर्देशन दिएका हुन्।

आफ्नो चासो संसदको आगामी अधिवेशन नयाँ संसद भवनबाट चलाउने रहेको उल्लेख गर्दै उनले प्रतिनिधिसभा र राष्ट्रियसभाका मुख्य बैठक कक्षमा आवश्यक प्रविधि २ महिनाभित्र जडान गरिसक्न आग्रह गरेका हुन्।

उनले सबै भवन निर्माण नसकिए पनि बैठक बस्ने २ वटा बैठक कक्षको भने प्राविधिक रुपमा सबै काम सक्न अनुरोध गरे। उनले संसद भवनमा जडान गरिने प्रविधिका बारेमा प्राविधिकहरुले जडान गर्दादेखि नै ज्ञान लिनुपर्ने बताए। उनले भविष्यमा आइपर्न सक्ने प्राविधिक समस्याहरुको बारेमा प्राविधिकले अहिलेदेखि नै ज्ञान हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

उनले भने‚ ‘प्राविधिक पक्षमा के–के प्रविधि आएका छन्, के प्रविधि हाम्रो लागि प्रयोग हुन्छ, हामीसँग भएको प्रविधि र तपाईंहरुसँग भएको प्रविधिको विषयमा छलफल गर्ने र हाम्रा आवश्यकता त्यो ई(डिभाइसमा कसरी राख्न सकिन्छ जस्ता कुराहरुमा घनिभूत ढंगले छलफल गरेर निष्कर्षमा पुर्‍याउने व्यवस्था गर्नैपर्छ। सामग्री खरिद, व्यवस्थापन तथा सञ्चालनदेखि लिएर हरेक कुरामा आउने अप्ठ्याराहरुको बारेमा, सिटहरु प्लानिङ गर्ने कुरामा समेत अहिले देखि नै हाम्रो टिमले हेर्ने प्रबन्ध गर्नैपर्छ। हामीले कम्तिमा पनि सबै भवन नसके पनि मुख्य भवनहरु सकेर राष्ट्रियसभा र प्रतिनिधिसभाका मेन हलहरुमा यी इक्विपमेन्ट, डिभाइसहरु फिट गरेर काम गर्ने भनेको २ महिनाभित्र गर्न सकिन्छ कि सकिँदैन भौतिक हिसाबबाटरु हामी २ महिनापछि हिउँदे सत्र त्यहाँ चलाउन चाहन्छौँ।’

शहरी विकासमन्त्री सीता गुरूङले संघीय संसद भवनमा नयाँ प्रविधिको जडान गरिने बताइन्। उनले भोलिको विश्वसँग तुलना गरेर नयाँ प्रविधिहरुलाई प्राथमिकता दिएर जडान गरिने बताइन्। उनले बजेटको सीमिततालाई ख्याल गर्दै सकेसम्म राम्रा प्रविधिहरुको प्रयोग गरिने बताइन्।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना प्रमुख मचाकाजी महर्जनले संघीय संसद भवन निर्माणमा ७५ प्रतिशत प्रगति हासिल गरिसकेको बताए।

उनले १२ वटा भवनहरुमध्ये ७ वटा भवनहरुको छानासम्मको काम भइसकेको जानकारी दिए। बाँकी ४ वटा भवनमा ट्रस निर्माणलगायत छानाको काम अगाडि बढिराखेको उनले बताए। पर्खाल निर्माणको ९५ प्रतिशत काम सकिएको उनको भनाई छ। उनले अब भवनभित्रको इन्टेरियरको काम शुरु हुने बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर