Aamsanchar

‘झापा लिग’ को मुख्य प्रयोजक भद्रपुरको ओम साई पाथिभरा हस्पिटल हुने

Author Image
शुक्रवार, मंसिर १, २०८०

भद्रपुर। अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल (झापा लिग) को मुख्य प्रयोजक भद्रपुरको ओम साई पाथिभरा हस्पिटल हुने भएको छ ।

यही मंसिर ७ गतेदेखि सुरु हुने प्रतियोगिताले टाइटल स्पोन्सर पाएको हो । दुई हप्ताभन्दा लामो समयसम्म चल्ने प्रतियोगिताको नाम ‘ओम साई पाथिभरा हस्पिटल प्रथम झापा लिग’ हुने भएको छ ।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रथम झापा लिगसँग जोडिन पाउँदा आफूलाई गौरव लागेको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए ।
भद्रपुरको पुरानो शाखलाई फर्काउन फुटबलले भूमिका खेल्ने आफूले विश्वास लिएको पोखरेलको भनाइ छ । त्यसका लागि प्रतियोगितालाई सहयोग गरेको उनले बताए ।

अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले यही मंसिर ७ गतेदेखि झापा लिग गर्न लागेको छ ।

भद्रपुरको मेची रंगशालामा हुने झापा लिग १७ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

झापाका १५ वटा पालिका र आयोजकको एक टिम गरी प्रतियोगितामा १६ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । १६ वटा टिमलाई चारवटा समूहमा विभाजन गरी खेलाइने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ । प्रतियोगिताका लागि रंगशाला सम्याउने, झार काट्ने तथा घाँस हुर्काउने काम सकिएको छ ।

Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर