Aamsanchar

हरहर महादेव । आजको राशिफल । ४ मंसिर २०८०, सोमवार

Author Image
सोमवार, मंसिर ४, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइने छ, सानो मिहिनेतले मानसम्मान बढ्नुका साथै ठूलाबडाको सद्भाव प्राप्त हुनेछ । प्रयास गरेमा आश मारेको काम अर्थात् नबन्ने काम पनि बनाउन सकिने छ । बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुने दिन हो, दिमागलाई सही फ्रेममा राख्नुहोस्, सबै विवाद र समस्याहरूलाई सकारात्मक ढंगले समाधान गर्न सकिने छ । व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, घरायसी कामको चापसमेत बढ्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
उच्चपदस्थ वा महत्त्वपूर्ण व्यक्तिहरूसित नयाँ सम्बन्ध विकसित हुनाले लाभान्वित बन्न सक्नुहुन्छ । कुनै प्रशासनिक काम अड्किएका छन् भने हल हुनेछन् । जग्गाजमिन, ढुवानी, निर्माण सामाग्री आदि व्यवसाय छ भने राम्रो हुन्छ । आज कारोबारका अतिरिक्त धार्मिक÷पारम्परिक काममा पनि संलग्न हुन सक्नुहुन्छ । थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनु पर्ने हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । आवेग र रिसरागमा नियन्त्रण राखी खासगरी ड्राइभिङका क्रममा घुम्ती र मोडमा सावधानी अपनाउनु होला । आजको दिन आफूले गल्ती नगरे पनि अरुको लापरवाहीको सजाय व्यहोर्नुपर्ने समय छ । यन्त्र वा उपकरणको प्रयोगमा सावधान हुनुपर्छ, विवाद वा लफडामा पनि पछि हट्नुहोला, समस्या परेमा सिनियर कर्मचारीको सहयोग लिनु बेस हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ । उच्चपदस्थ वा महत्त्वपूर्ण व्यक्तिहरूसित नयाँ सम्बन्ध विकसित हुनाले लाभान्वित बन्न सक्नुहुन्छ । कुनै प्रशासनिक काम अड्किएका छन् भने हल हुनेछन् । सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
अवगाल खेप्ने समय हो, रिसराग, द्वेष र अहङ्कार मनमा लुकेर बसेका शत्रुहरू हुन् भन्ने बुझेर तिनलाई दमन गर्नु ठीक हुन्छ । अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर कलह र विवादको योग बनेको छ, त्यसैले कम बोल्नु ठीक हुन्छ । ताकेको काम सम्पन्न हुनेछ, तर सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्नुपर्छ । शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहने समय हो, त्यस्तै रिस र घमण्ड बढ्नाले पनि अप्ठ्यारोमा पर्न सकिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने अझ कस्सिएर प्रयास गर्नुहोला, मिहिनेत अनुसार राम्रो रिजल्ट निकाल्न सकिने छ । शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता मिल्नेछ । आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ, उता घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
सहकर्मी साथी वा सहयोगीसित झैझगडा हुने दिन हो, बल प्रदर्शन गर्नु हुँदैन, नत्र सानोतिनो चोटपटक नै लाग्नसक्ने परिस्थिति छ । हाँके÷ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो । दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
उत्कृष्ट खाना, रोमान्टिक पलहरू र इष्टमित्रको साथ नै आजको विशेषता हो भन्दा फरक पर्दैन, व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथमा अघि बढ्नु जायज हुन्छ । कडा परिश्रमको उत्कृष्ट नतिजा प्राप्त हुनेछ, सहकर्मीहरूले तपाईंको क्षमतामाथि विश्वास गर्न थाल्नेछन्, जुनियर स्टाफ र सहयोगीका भावनालाई बुझ्ने प्रयास गर्नुहोला । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
कठोर शब्द र खरो बोलीका कारण सेवाग्राही असन्तुष्ट र रुष्ट हुनसक्ने समय हो, तर सहकर्मी साथी र हाकिमको साथसहयोग मिल्नेछ । पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेरमात्र सम्पर्क गर्नु ठीक हुन्छ । प्राविधिक विषय वा गणितीय कुरामा ध्यान केन्द्रित हुनेछ । कुनै आकस्मिक निर्णय लिनुपर्ने बाध्यता पनि आइलाग्नेछ, जुन तपाईंको आत्मसम्मान र गरिमा विपरीत हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ । आजको कुनै पल तपाईंका लागि भावुक समय बन्नसक्छ, तर परिवारका सदस्य र जीवनसाथीको साथ मिल्नाले मन प्रसन्न रहनेछ । आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहिनेत नै त्यस्तो साँचो हो, जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ । सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ । एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
कुनै पुरानो समस्यामा घोत्लिनुपर्ने तथा असमझदारी बढ्नाले कार्यक्षेत्र प्रभावित बन्नसक्ने दिन छ । तर पनि सहकर्मी र सिनियर्सको सहयोग पाउने दिन हो । सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् । घरमा सम्पर्क राखी व्यवहारिक जानकारी प्राप्त गर्ने समय हो । परिवारभित्रका सानातिना समस्या सुन्दा दिक्क लाग्ने र एक आपसमा मनोमालिन्य बढ्ने समय देखिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर