Aamsanchar

सूर्योदय सँगै ६५ वटा हिमाल देखिने सुगम क्षेत्र पाटेनागी–लुहाकिल 

Author Image
आइतवार, मंसिर १०, २०८०

उचाइमा पुगेपछि नतमस्तक बनेका इलाम ३ का वडाध्यक्ष हेमन सुनुवार (उभिएर हात उठाएका), सुतेर आनन्द लिदै पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटा, हिम शृङ्खला निहाल्दै फिदिम टुडेका पत्रकार दीपक बोहोरा ।  

बिर्तामोड । पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरको सिमाना बनेर रहेको उच्च पहाडी क्षेत्र पाटेनागी पर्यटकीय गन्तव्यको लागि उत्कृष्ट स्थल भएपनि उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । इलाम तर्फको भागलाई पाटेनागी र पाँचथर तर्फको भूभागलाई लुहाकिलका नामले चिनिन्छ ।

हिमाली क्षेत्रमा देखिने नागी, चट्टान, बोटविरुवा, जनावर, पन्छी तथा जिवहरुलगायत सबै वनस्पतिलाई हेर्दा हिमाली क्षेत्र जस्तै लाग्छ तर पाटेनागी हिमाली क्षेत्र भने होइन ।
समुन्द्री सतह देखि तिन हजार मिटर उचाइ रहेको उच्च पहाडी क्षेत्र पाटेनागी छोटो दूरीमा रहेको अत्यन्तै रमणीय स्थलमा पर्छ ।
पाटेनागीबाट अत्यन्तै राम्रो सँग सूर्योदय अवलोकन गर्न सकिन्छ, सूर्योदय हुँदा छरिएको लाली प्रकाशले उत्तर तर्फ अटल रहेको कञ्चनजंगा, कुम्भकर्ण लगायतका दर्जनौँ हिमाल छिनछिनमा रङ्ग फेर्दै मुस्कुराए झै देखिने दृष्यले जो कोहीलाई मोहित बनाई दिन्छ । 

सूर्यको उदय पछि उज्यालिएको पाटेनागी–लुहाकिलमा उत्तर तर्फ आँखाले निहाल्न नै नसक्ने गरि देखिने गुराँसको जंगलले हरियालीको आनन्द प्रदान गर्छ भने दक्षिण तर्फ वनस्पति रहित नाङ्गो नागीले नतमस्तक बनाउँछ ।
धेरै पर्यटकीय गन्तव्यहरू कुनै एक सिजनको लागि महत्वपूर्ण मानिन्छ भने र पाटेनागीको सौन्दर्यको प्राकृतिक स्वरुप भिन्न भिन्न रहेको छ । असोज देखि मंसिर सम्म सूर्योदय, क्षितिजमा रहेको निलो आकास र कहिले यता कहिले उता उडिरहने सेतो बादल रमित लाग्दो बन्छ भने पुस, माघमा पर्ने हिउँले हिमाल नै पुगेको जस्तो अनुभूति दिलाउँछ । चैत्र वैशाखमा राताम्मे भएर फूलेका लाखौ लालिगुराँस बोटका फूलले मोहित नै बनाउने गरेको छ । नयाँ वर्षको दिन सयौँ स्थानीहरू पाटेनागी पुग्ने गरेका छन् । 

पाटीनागीको बहु विशेषतालाई हेर्दा सयौँ होइन, लाखौं पर्यटक पुग्नु पर्ने हो पाटेनागीमा । तर उचित प्रचार हुन नसक्दा पाटेनागी ओझेलमा परेको स्थानीयहरूको भनाई छ । पाटेनागी–लुहाकिल सुन्दरताको हिसाबले मात्र नभएर जैविक वनस्पति, बन्यजन्तु, चरा र जीवहरूको अनुसन्धान र अवलोकनको लागि इलाम–पाँचथर जिल्लाकै एक उत्कृष्ट स्थल हो । 

पहाडको टुप्पोमा परेको पानी दक्षिण तर्फ बग्ने भाग इलाम नगरपालिका ३ र उत्तर तर्फ बग्ने क्षेत्र फिदिम नगरपालिका –१४ पर्छ । पाटेनागी–लुहाकिल इलाम–पाँचथर जिल्लाको एक सिमा स्थल हो । जसमा फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ३ को केही क्षेत्र पनि पर्छ ।
करिव तिन किलो मिटरको पूर्व–पस्चिम उच्च पहाड भएर फैलिएको पाटेनागी–लुहाकिल भौगोलिक क्षेत्रको पश्चिम तर्फ रमणीय नागी, देउराली, कुइभीर रहेको छ भने पूर्व भागमा लुहाकिल डाँडा रहेको छ ।
पाटेनागी–लुहाकिल पहाड मात्र नभएर हिमाली क्षेत्र झै लाग्दछ । गर्मी मौसममा सन्तुलित तापक्रम रहेपछि जाडो मौसममा त्यहाँको तापक्रम माइनसमा झर्ने गरेको छ । हिमाली क्षेत्रको जस्तो वातावरण भएकाले सो क्षेत्रमा  भेडी गोठ, गाईबस्तुको गोठ र चरिचरन क्षेत्र धेरै रहेको छ । 

कुइभिर ।

पाटेनागीमा हरेक वैशाख १ गते मेला लाग्ने गरेको छ । सो वखत फूलेको लागि गुराँसले पनि धेरैलाई त्यहाँ पुग्न उत्साहित बनाउने गरेको छ ।
पाटेनागी पर्यटकको नयाँ गन्तव्य बनाउन स्थानीय सरकारले र प्रदेश, संघीय सरकारको लगानीमा बाटो निर्माण गरिएको छ ।

लुहाकिलबाट देखिने सूर्योदयको दृष्य ।

नागी हुँदै लुहाकिल सम्म पुग्नको लागि ढुङ्गाको सिडि बनाइएको छ । भौगोलिक अवस्था जटिल भएकै कारणले पर्यटकहरू पुग्न नसक्ने गरेको अवस्थालाई बुझेर इलाम नगरपालिका र फिदिम नगरपालिकाले आआफ्नो क्षेत्रबाट सहजै रुपमा डाँडै डाँडा आवत जावत गर्नको लागि बाटो र सिडि निर्माण गरेर पर्यटकलाई सहजता प्रदान गरिएको इलाम ३ का वडाध्यक्ष हेमबहादुर सुनुवार (हेमन) ले जानकारी दिए । वडाध्यक्ष सुनुवारको भनाइ अनुसार ‘बाटो र सिडि निर्माण भएपछि पर्यटकहरूको आगमन बाक्लिन थालेको छ । यतिबेला मौसम सफा भएकाले पर्यटकहरूको चहलपहल पाटेनागीमा बढ्न थालेको छ । वनभोज खान जानेहरू पनि सो स्थानमा पुग्न थालेका छन् ।’ 

बागखोरबाट जाने बाटो ।

कहाँबाट पुग्न सकिन्छ पाटेनागी–लुहाकिल ?
पाटेनागी–लुहाकिल कुनै दुर्घम क्षेत्र भने होइन । झापाको बिर्तामोडबाट मोटरसाइकल वा सानो गाडी मार्फत करिव ४ घण्टाको यात्रा गर्दा पाटेनागी पुग्न सकिन्छ । त्यसका लागि मेची राजमार्ग अन्तरगत बागखोर भन्ने ठाउँ देखि सय मिटर अगाडि बढेपछि दायाँ तर्फ एउटा कच्ची बाटो भेटिन्छ, सोही बाटो भएर पूर्व उत्तर दिशा हुँदै ७ किलो मिटरको दूरी पारगर्दा पाटेनागी पुग्न सकिन्छ । त्यसैगरी मेची राजमार्गमै पर्ने रमणीय स्थल पौवाभञ्ज्याङ देखि पूर्वको बाटो हुँदै जाने हो भने करिव ५ किलो मिटर दूरीमा पर्दछ लुहाकिलबागखोर हुँदै आउने बाटो अलि बढी कच्चा छ भने पौवाभञ्ज्याङको बाटो कच्ची नै भएपनि सजिलो रहेको छ । 

पाटेनागी देउराली ।

पाटेनागी–लुहाकिल पुग्ने पर्यटकलाई पुगे पछि फर्किऊँ भने लाग्दै लाग्दैन । त्यहाँको रमणीय दृष्यले नतमस्तक नै बनाउँछ । अझ क्लिन वातावरणले सम्पूर्ण तनाव विर्सजन गराई दिन्छ । सो क्षेत्रमा केही दिन बिताउन चाहने पर्यटकहरूका लागि इलाम–३ को चैते भन्ने गाउँमा होमस्टेहरू रहेको छ भने पाँचथर तर्फ पोखरा जस्तै लाग्ने सुके पोखरीमा एक दर्जनजति नयाँ होमस्टेहरू सञ्चालनमा रहेको छ ।
उक्त क्षेत्रबाट कञ्चनजंगा देखि सगरमाथा सम्मका ६५ वटा हिमालहरू देख्न सकिने स्थानीय सामाजिक अगुवा सुरेश राईले जानकारी दिए ।
चैतेमा सुनुवार जातिहरूको बाहुलियता रहेको छ भने सुकेपोखरी क्षेत्रमा राई जातीहरूको बाहुल्यता रहेको छ । जातीय संस्कार, रीतिरिवाज, सामाजिक परम्पराको अध्ययन र जानकारी लिन चाहनेहरूको लागि यि स्थानहरू महत्वपूर्ण मानिन्छ । चैतेमा १ सय ५० घर सुनुवार (मुखिया) जातीहरू रहेका छन । सुकेपोखरीमा २ सय २४ घर राई र १ घर लिम्बू जाती परिवारहरूको बसोबास रहेको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
2
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर