

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले युवालाई सीपमूलक र रोजगारमूलक फोटोग्राफी तालिम दिन चलचित्र विकास बोर्डसँग सम्झौता गरेको छ । महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत ४० जना युवालाई तालिम दिने विषयमा सम्झौता भएको हो ।
महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको रोहबरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र बोर्डका अध्यक्ष दिनेशराज दाहालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सो अवसरमा बोल्दै कार्यवाहक प्रमुख डङ्गोलले काठमाडौँलाई चलचित्र निर्माणका लागि ‘खुला स्टुडियो’ का रूपमा विकास गर्न महानगर र बोर्डबिच सहकार्य हुन सक्ने बताउनुभयो ।
“चलचित्र र यससँग सम्बन्धित विभिन्न विधाबाट समाजलाई जीवन्त बनाउन सकिन्छ,” उहाँले भन्नुभयो, “हामी डबली, चोक र ननीहरूमा चलचित्र प्रदर्शन गर्ने, निर्मातालाई प्रोत्साहन गर्न अन्तरसंवाद सञ्चालन गर्ने र समुदाय स्तरमा श्रव्यदृश्य उत्पादनको क्षमता विकास गर्ने योजनामा छौँ ।” उहाँले भित्री सहरका डबली र बाहिरी वडाका पार्कमा चलचित्र प्रदर्शनको कार्यक्रम सञ्चालन गरिनेसमेत जानकारी दिनुभयो ।

बोर्डका अध्यक्ष दाहालले चलचित्रमार्फत सहरलाई जीवन्त बनाउने अभियानमा बोर्ड सदैव साथमा रहेको उल्लेख गर्नुभयो । उहाँले रचनात्मक उद्योगको विकास र प्रवर्द्धनमा सहकार्य अझ विस्तार गरिने बताउनुभयो ।
सम्झौताबमोजिम बोर्डले पाठ्यक्रममा आधारित रहेर ४० जनालाई फोटोग्राफीसम्बन्धी तालिम प्रदान गर्नेछ । यस तालिमको कुल लागतमा महानगरपालिकाको ८० प्रतिशत र बोर्डको २० प्रतिशत लागत सहभागिता रहने छ ।



