चारपाने । झापाको बाह्रदशी गाउँपालिका –६ स्थित श्री गौरीशङ्कर शिवालय गायत्री स्वरुपा आश्रममा पूर्वाञ्चल धार्मिक महामहोत्सव आयोजना हुने भएको छ ।

बालाचर्तुदशीको अवसर पारेर आगामी मंसिर १८ देखि २६ गतेसम्म श्रीमद्भागवत धनधान्याचल राष्ट्र शान्ति महामहोत्सव आयोजना गरिने सोमबार पत्रकार भेटघाटका क्रममा जानकारी दिइएको हो ।

ऐतिहासिक तीर्थस्थल कञ्चनगढ धाम साधुकुटीलाई राष्ट्रस्तरिय धार्मिक पर्यटक क्षेत्रको रुपमा विकास गर्ने, गुरुकुल बचाउने अभियान, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महामहोत्सवको आयोजना गरिएको मूल आयोजक समितिका संयोजक ज्ञानु सुवेदीले जानकारी दिए ।




पुरातात्विक महत्व बोकेर पनि ओझेलमा परेको यो क्षेत्रको विविधता उजागर गराउन यस महापुराणले महत्वपूर्ण भूमिका खेल्ने पुराण व्यवस्थापन समितिका सह संयोजक जीवन पनेरुले बताए । आयोजक समितिका सचिव बेदमणि दाहालले स्वागत गरेको कार्यक्रममा महासचिव पुष्प भट्टराईले गुरुकुलको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन सचिव दिपेन्द्र खरेलले गरेका थिए ।
महोत्सव सम्पन्न गर्न १ हजार १ मूलआयोजक समिति र १ सय ५१ वटा क्षेत्रीय उपसमिति गठन गरिने पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ ।
महोत्सवको प्रचारका लागि १७ गते जिल्ला व्यापी मोटरसाइकल र्याली र उद्घाटनको दिन बिहान विभिन्न जातजातिका सांस्कृतिक पहिचान झल्कने झाँकीसहित १ हजार भन्दा धेरैजनाको सहभागितामा शोभायात्रा आयोजना गर्ने आयोजकको तयारी रहेको छ ।

