Aamsanchar

नेपाल पत्रकार महासंघ झापामा ५०५५५ रुपैयाँ राशीको पुरस्कार स्थापना

Author Image
आइतवार, मंसिर १७, २०८०

काठमाडौं । भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार पाँच सय ५५ रुपैयाँ राशीसहित पुरस्कृत गर्न पुरस्कार स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखामा उक्त पुरस्कार स्थापना गरिएको हो ।

अक्षयकोषसहित पुरस्कार स्थापना बारे हेम–सरिता फाउण्डेशन टेक्सास, अमेरिका र नेपाल पत्रकार महासंघ झापा शाखाबीच आइतबार काठमाडौंमा दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा भएको सम्झौता अनुसार पाँच लाख रुपैयाँको अक्षयकोष राखिने छ ।

सम्झौतामा हेम–सरिता फाउण्डेसनको तर्फबाट अध्यक्ष हेम पाठक र नेपाल पत्रकार महासंघको तर्फबाट अध्यक्ष एकराज गिरीले हस्ताक्षर गरेका छन् । सम्झौताको रोहबरमा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले हस्ताक्षर गरेका छन् ।

हेम–सरिता फाउण्डेसनका संस्थापकका पिता टंकप्रसाद पाठक र माता रमादेवी पाठकको नामबाट हरेक वर्ष टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो ।
अक्षयकोषको व्याजबाट भ्रष्टाचारविरुद्ध तथा सुशासन प्रवर्द्धनका लागि कलम चलाउने, पत्रकारितामार्फत सुशासनका लागि महत्वपूर्ण योगदान गर्ने पत्रकारलाई पुरस्कृत गरिने छ । पुरस्कार वितरण यसै वर्षबाट वितरण गर्ने र यस वर्षको पुरस्कारको राशि आइतबार नै फाउण्डेसनले पत्रकार महासंघ झापालाई हस्तान्तरण गरेको छ । महासंघ झापाले यस वर्षको पुरस्कार छनोटको प्रक्रिया अघि बढाइसकेको छ ।
आगामी वर्षबाट भने महासंघको आयोजनामा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन डिसेम्बर ९ तारिखमा उक्त पुरस्कार प्रदान गरिने महासंघ झापाका सहसचिव राजु पाठकले बताए ।
महासंघले अक्षयकोष सञ्चालन र पुरस्कार व्यवस्थापनको कामलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी बनाउन छुट्टै कार्यविधि तयार गरी लागू गर्ने तथा सबै काम कार्यविधि अनुसार गरिने जनाइएको छ ।
बिर्तामोड ४ स्थायी घर भई हाल अमेरिकाको टेक्सासमा रहेर व्यापार व्यवसायका साथै सामाजिक कार्यमा संलग्न हेम पाठक र सरिता पाठकले स्थापना गरेको हेम–सरिता फाउण्डेसनले सामाजिक सँगै विभिन्न रचनात्मक कार्य गर्दै आएको छ ।
उक्त सम्झौता कार्यक्रम महासंघका अध्यक्ष एकराज गिरीको अध्यक्षता, केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा फाउण्डेसनका अध्यक्ष पाठक, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारा बराललगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सामाजिक व्यक्तित्व दीपक भेटुवाल,संञ्चाकर्मीहरुको आतिथ्य रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर