कनकाई अपाङ्गता समावेशी संस्थाको आयोजना प्रदेश सरकारको आर्थिक सहयोग तथा कनकाई नगरको समन्वयमा कार्यक्रम आयोजना गरि नगरमा रहेका सबै वडाका अपाङ्गता भएका दुई दर्जन बढी व्यक्तिलाई जाडो बाट बच्न न्यानो फाइबरको सिरक डसना , डाइबर लगायतका सामाग्री वितरण गरिएको नगर महिला तथा बालकालिका शाखा कनकाईकी प्रमुख टीका खतिवडाले जानकारी दिनुभयो ।
अपाङ्गता समावेशी संस्थाका कनकाईका अध्यक्ष पुष्पलाल घिमिरेको सभापतित्व मा भएको कार्यक्रममा नगर उप प्रमुख आशा शर्मा शिवाकोटी को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमका अवसरमा प्रमुख अतिथि शिवाकोटीले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ। उहाँले नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनलगायत को प्रभावकारी कार्यान्वयनबाट मात्रै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर र जीवनयापनमा सुधार हुनसक्ने उल्लेख गर्नु भएको हो।
हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकासमा उनीहरूको समावेशिताका लागि दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि विश्वभर यो दिवस मनाउन थालिएको हो । तर, दिवस मनाइरहे पनि आफूहरूले जीवनयापन उस्तै कठिन भएको अपाङ्गता भएकाहरूले गुनासो गरेका छन् । यस्तै, अपाङ्गतामैत्री संरचना नबन्दा थप कठिनाइ भइरहेको उनीहरूको भनाइ छ ।
दिवसका अवसरमा सरकारले आज अपाङ्गता भएकाहरूलाई सार्वजनिक बिदा दिएको छ ।