Aamsanchar

एककाइसौँ शताब्दीमा राजतन्त्रको वकालत : दास मानसिकता

Author Image
मङ्गलवार, मंसिर २६, २०८०

राजतन्त्र भन्नासाथ अधिनायकवादी, निरंकुश शासनको झल्को आइहाल्छ । संसारमा जतिपनि राजा महाराजाहरूको उदय भयो हिंसाको बलमा अर्कोलाई जाल–झेल, षड्यन्त्रबाट आक्रमण गरी निस्तेज पारेर, मारेर, काटेर राजगद्दी प्राप्त गरेका हुन् । मध्ययुगीन बर्बर शासकहरुले अर्को राज्य वा जनता र शासकमाथि चरम दमन गरेर आफ्नो हातमा सत्ता हत्याएका हुन् । जनताको अभिमतबाट भोट जितेर केहीपनि वंश परम्पराको उत्तराधिकारी हुने राजा भएका छैनन् । राजतन्त्रमा यस्तो प्रणाली सम्भव हुँदैन । प्रजातन्त्र, लोकतन्त्रमा मात्र जनताले रोजेका, चुनेका प्रतिनिधिले आवधिक शासन सञ्चालन गर्दछन् । एकपटक सत्तामा पुगेपछि पैतृक सम्पत्ति जस्तैगरी सत्ता प्राप्त भइरहने वंश परम्परा भयो भने शासक जतिसुकै निरंकुश, अधिनायकवादी भएपनि फेर्न कठिन हुन्छ । जनताले त्यस्ता तानाशाहीका विरुद्ध कठोर संघर्षहरु गर्नु परेका कयौं र सयौँ उदाहरणहरू छन् हाम्रै देशसहित विश्व राजनैतिक परिवेशमा ।

         बन्द समाजमा हाम्रा पुर्खाहरूले निरंकुश राजशाहीलाई बाध्यताले स्वीकारे । चेतनाको अभाव, चरम गरीबी, विज्ञान प्रविधिको विकास नभएको अन्धकारको युगमा शासकलाई भगवानको अवतारको रुपमा परिभाषित गरेर धर्मप्रतिको मानिसको आस्थालाई दुरुपयोग गर्दै आफ्नो मालिकको अधिनायकत्व टिकाउन दरबारिया षड्यन्त्रकारी गिरोहका दास मतियारहरू सक्रिय रहे । तर अब त्यो जमाना छैन । कोही मानिस कुनै सत्कर्म नगरी जन्मकै आधारमा स्वतः शासनसत्तामा बस्न पाउने, अरुले भने यथेष्ट क्षमता र योग्यता हुँदा पनि त्यही नालायक शासकलाई मान्नुपर्ने असमान र अलोकतान्त्रिक व्यवहारलाई त्यही मानिसले मात्र स्वीकार र वकालत गर्दछ– जोसँग उच्च चेतनास्तर छैन र ऊ दासत्वमै रमन रमाउन चाहन्छ । शासकको बच्चालाई जन्मदै सुयोग्य मान्नुपर्ने अनि अन्यले जति नै ज्ञान र सीप भएपनि तिनैको कारिन्दा बन्नुपर्ने कुरालाई ठीक हो, हामी यस्तै बन्छौँ । यस्तै मान्छौं, यही ठीक हो भन्ने दासहरूको दरिद्र सोचलाई दया गर्नुभन्दा अरु के नै गर्न सकिन्छ र ? जनताको छोराछोरीले त जन अधिकारका लागि लड्ने हो, राजाको अधिकारका लागि त तिनकै हुक्के, चम्चे दासले बोल्ने हो ।  जसलाई आफू सार्वभौम हुन पाएकोमा गर्व छैन र सामन्ती राजतन्त्रको दास बनिरहन पाउँ भन्छ भने तीनको चेतनास्तरमाथी दायाँ गर्नु शिवाय अरु के गर्न सकिन्छ र ?  हुन त सामन्तको बासीभात–जुठोपुरो खाएका दलको मति र गति नै यस्तै हुने हो ।

सार्वभौमसत्ता जनतामा निहित भएको, आफैं साशनसत्तामा पुग्नसक्ने अवस्था भएको मुलुकमा अर्कै शासकले आफूमाथि वंश परम्पराका आधारमा शासन गरोस् भन्ने विचित्रको  सोच र  चाहना लिएकाहरु पनि छन् यस धर्तीमा । राजतन्त्र, कुलिनतन्त्र भनेका सामन्तवादका नाइके हुन् । सामन्तवादले मानवीय मूल्य र मान्यतालाई समानताका आधारमा स्वीकार गर्दैन, गर्नसक्दैन । उनीहरूको भाषा, शैली, उठबस, बोली–ब्यवहार आम मानिसहरूप्रति समान हुँदैन । मानिस र मानिसकै बीचमा उच र नीचको चरम बिभेद हुन्छ । यस्तो असमान र अपमानजनक कुरालाई स्वीकार गर्ने तर निर्वाचनमार्फत आम जनताका छोरा–छोरीले आफैं शासनसत्ताको सर्वोच्च स्थानमा पुग्न पाउने अवस्था र व्यवस्थालाई सदुपयोग गर्न नचाहनेहरुलाई सधैं दासत्व नै सर्वोपरि हो भन्ने लागिरहन्छ र तिनीहरू आफूमाथि  कुनै अमुक शासकले सधैँ शासन गरिरहोस् भन्ने चाहन्छन् । त्यस्ताहरू कि त दरबारिया अभिजात्य वर्गद्वारा पालित–पोषित छन् । या तिनको उच्चस्तरको चेतनाशक्ति विकास भएकै छैन र तिनीहरु दासत्वमै रमाउन चाहन्छन् । यी दासहरूले वंश परम्पराका आधारमा राजशाही माग गर्दा एककाइसौँ शताब्दीको युवाशक्तिले त्यस्तो गलत कुरालाई महत्व दिनुहुँदैन । बिचरा दास मानसिकता भएकाहरू उन्नत चेतनास्तरको मानिस बन्न सकेका रहेनछन् भनेर तिनीहरूप्रति दया गर्दै लोकतन्त्रको महत्व सम्झाउँदै आफैं शासनसत्तामा जानसक्ने र पाउने अवस्था र व्यवस्थाको महत्व बुझाउने तर्फ आधुनिक समाजका युवाहरू अग्रसर हुनु आजको मुलुकको आवश्यकता हो ।

राजतन्त्र र राजसंस्थाबीचको अन्तर र नेपाली राजनीति
अहिले नेपालमा राजतन्त्रको माग गर्ने राजावादीहरु सड्कमा प्रदर्शनमै उत्रिन थालेका छन् । तिनिहरु २०४६ सालको परिवर्तनले ल्याएको प्रजातन्त्र र २०६२–०६३ सालको आन्दोलनपछि प्राप्त लोकतान्त्रिक गणतन्त्रकालमा टाउको लुकाउन नेपाली काँग्रेस र नेपालका बिभिन्न कम्युनिष्ट पार्टीमा घुसेर बसेका थिए । केही पूर्वपञ्चहरु  र परिवर्तनपछि काँग्रेस–कम्युनिष्ट पार्टीमा ओतलाग्न आएका द्वैध चरित्र भएकाहरु लोकतान्त्रिक व्यवस्थाको उदारताको फाइदा लिँदै अहिले सक्रिय राजतन्त्रको वकालत गरिरहेका छन् । आन्दोलन पनि अरे ? के का लागि भन्दा आफ्नो हक–अधिकारका लागि होइन । सामन्तवादको अवशेष चिहानमा मिल्काइएको राजतन्त्रको सिनो ब्युँताउनु प¥यो भनेर । उनीहरूकै परिभाषामा पनि राजाले त माग, आन्दोलन गर्दैनन्, गराउँदैनन् । राजा आज्ञा–आदेश कानून हुने राज परम्परामा हुकुम प्रमाङ्गी पो गर्दछन् त राजाले । जुन कुरा अबको दुनियाँमा त्यो पनि चिहानमा पुगेको, कुहिएको, सडिसकेको राजतन्त्रको भूत ब्युँताएर सक्रिय राजशाहीको परिकल्पना भनेको स्वस्थ दिमागको उपज होइन, हुनसक्दैन ।

अहिले एकखाले राजावादीहरु राजतन्त्रको वकालत गरिरहेका छन् भने अर्को खाले राजावादीहरु राजसंस्थाको पुनर्स्थापना भनिरहेका छन् । राजतन्त्रमा राजाको प्रत्यक्ष शासन नायकत्व हुन्छ भने राजसंस्थाले जनताबाट निर्वाचित प्रतिनिधि मार्फत शासनसत्ता चलाउने र आफू संवैधानिक परिधिभित्र बस्ने हुन्छ । संस्था भनेको बिधि–बिधान, नियम–कानून अनुसार चल्छ भने राजतन्त्र भनेको हुकुम, आदेश, मर्जीबाट चल्छ । त्यहाँ शासकलाई कुनै नियम–कानून लाग्दैन । कुनै अदालत वा न्यायिक निकायमा कुनै उजुर बाजुर गर्न पाइदैन, लाग्दैन । गर्न पाइदैन । अब यि दुईखाले राजावादीहरुले कस्तो राजाशाही मागेका हुन् रु राजतन्त्र त २०४६ सालको आन्दोलनले पञ्चायती ब्यवस्था ढालेसँगै सकियो । ०४६ को राजनैतिक परिवर्तन पश्चात नेपालमा संवैधानिक राजसंस्था स्थापित भयो । आफ्नै दाजु बिरेन्द्रको बंशबिनास हत्याको जनआरोप खेपीरहेका ज्ञानेन्द्र शाहले ब्यापक जनबिरोध हुँदाहुँदै पनि राज्यसहायक हुँदै संवैधानिक राजसंस्थाको स्थानमा बस्न भने पाएकै हुन् । तर, उनमा राजा भएको एकाध वर्षमै आफ्ना स्वर्गीय पिता महेन्द्रको जस्तो सक्रिय राजतन्त्रको हुकुमी शासक हुने भूत सवार भयो र नेपालबाट निरंकुश राजतन्त्र सधैँका लागि गयो ।

स्वाभिमानी महान नेपाली जनताको कठोर संघर्ष र नेपाल आमाका हजारौंं–हजार वीर शहीदहरूको उच्च बलिदानबाट प्राप्त संसारकै उच्चतम् शासन प्रणाली लोकतान्त्रिक गणतन्त्र मुठीभर सामन्तका दलाल, दासहरूले चाहदैन हट्ने त कुरै छाडौं हल्लिदा पनि हल्लदैनन् । अँ यो व्यवस्थालाई सञ्चालन गर्ने स्थानमा बसेका वर्तमानमा लोकतान्त्रिक बिधिबाटै सत्तामा पुगेकाहरूको आचरण र व्यवहार सच्चिएन भने, जनमुखी कार्यक्रमहरू ल्याइएन भने, भ्रष्टाचारको  दल–दलबाट मुलुकलाई निकास दिइएन भने, बिगदेखि वर्तमानसम्म  सत्तामा पुगेकाहरुले गरेको भ्रष्टाचारको छानविन गरी दोषीलाई कारवाही गरिएन भने आगामी निर्वाचनमा त्यस्तालाई जनताले चुनावको मैदानमै दण्डित गर्नेछन् । उनीहरूलाई चुनावबाटै पाखा लगाउने, हटाउने प्रबन्ध पनि यही लोकतन्त्रमा मात्र हुन्छ । कुनै एउटा व्यक्ति वा परिवार वा पार्टीको अधिनायकवादी शासनमा त्यस्तो शासकलाई विधिको माध्यमबाट हटाउन सकिन्न । हटाउनु परे संघर्ष गर्नुपर्छ, शासक दमनमा उत्रन्छ र रक्तपात हुन्छ । अनि कोही खराब भयो भने हटाउन पाउने संवैधानिक, कानूनी प्रावधान र आवधिक निर्वाचनको प्रबन्ध भएको मुलुकमा हटाउनै नमिल्ने अधिनायकवादी शासक किन चाहिएको होला ? एककाइसौँ शताब्दीका केही नेपालीलाई चाहि ?

लोकतन्त्र भनेको  जनताद्वारा जनताका लागि जनताले गर्ने शासन अर्थात सभ्य मानिसले सभ्यहरुबाट चुनिएर सभ्यमाथि नै शासन गर्ने प्रणली हो । कुनै ब्यक्ति, बंश–परिवार, एकदलीय वा शैनिक तानाशाही अधिनायकवादमा असभ्य मान्छेले सभ्य लगायत सबैमाथि शासन गर्दछ । लोकतन्त्रमा खराब मध्येको कम खराब मानिस मात्र शासन सत्तामा पुग्छ भन्ने मानिन्छ । किनकी खराबलाई जनताले चुन्दैनन्, रोज्दैनन्, खोज्दैनन्, छान्दैनन् र मान्दैनन् भन्ने मान्याता राखिन्छ । त्यसैले एकपटक पद–ओहदामा पुगेपछि जतिसुकै खराब र अयोग्य भएपनि उसको दर सन्तानलाई वंश परम्पराका आधारमा जन्मदै शासक मान्नुपर्ने दास परम्परालाई आत्मसम्मान भएको स्वाभिमानी, चेतनशील मानिसले स्वीकार्नै सक्दैन । प्रत्येक नेपाली नागरिक राज्यको उपल्लो निकायमा पुग्नसक्ने खुल्ला अवसरको उपयोग, सदुपयोग गर्नेतर्फ लाग्दछ । न कि कुनै सामन्तको सन्तानको गुलाम हुन चाहन्छ । राजतन्त्रको आडमा जनतामाथि शोषण, दमन र उत्पीडन मच्चाउँदै आएको दरबारिया अभिजात्य बर्गको पृष्ठपोषक पञ्चायत अवशेषले बेला–बेला टाउको उठाउने गरेको छ । यो सब वर्तमान राजनीतिमा सक्रिय बूढा नेताहरूको बेढङ्गी पाराको उपज पनि हो । अब नयाँपुस्ता लाई नेतृत्व हस्तान्तरण गरेर बूढो पुस्ताले अभिभावकीय भूमिका निर्वाह गर्न जति ढिला हुन्छ, त्यति नै जनतामा निराशा बढेर जानेछ । पुरानो पुस्ताले लोकतन्त्रका लागि संघर्ष ग¥यो, जेलनेल, याताना भोग्यो । यसका लागि धन्यवाद दिँदै लोकतन्त्रका लागि लडेका दलका नयाँ पुस्ताले नेतृत्व हस्तान्तरणका लागि अनेक काण्ड हरुमा गन्हाइसकेको पुरानो पुस्ताका नेताहरूमा वैधानिक दवाव सिर्जना गरेर अघि वढ्नु पनि आजको अपरिहार्य आवश्यकता बन्दै गएको छ । नेता खराब भए नयाँ नेता जन्माउने हो । जनताले आफैं नेतृत्व लिने हो, कुनै सामन्तवादको अवशेष, चिहानमा सडेको सिनो बकेर हिड्ने होइन ।

कसलाई राजा बनाउने भन्नेमा राजावादीबीच नै रडाको

साढेचारसय बर्ष पुरानो राजतन्त्रको इतिहास ज्ञानेन्द्रकै कुबुद्धिका कारण समाप्त भएको हुँदा उनीभन्दा असल पात्रको खोजी पनि राजावादीहरूले नै गर्न थालेका छन् । ज्ञानेन्द्रबाट राजतन्त्र जोगाउन नसकिने ठहर पूर्वपञ्चहरूको एक झुण्डले गर्दै आएको छ । उनीहरु पारस पनि राजा हुन लायक नभएको बूढो ज्ञानेन्द्रको पनि छवि जनतामा त्यति राम्रो नभएको हुँदा नाति हृदयन्द्रलाई राजा बनाउने अभियानमा लागेका छन् भने ज्ञानेन्द्रद्वारा पालित–पोषितहरु खोसिएको राजगद्दी ज्ञानेन्द्रलाई नै फिर्ता गराएर उत्तराधिकारीलाई जिम्मा लगाउनु पर्ने मत राखी रहेका छन् । यसका लागि राजावादीहरूले नेपालका कट्टर हिन्दुवादी संघ–संस्थाका मानिसका साथै पुजारी, पण्डित र धर्म गुरुहरूको सहारा खोजीरहेका छन् । उनीहरूलाई भारतीय संस्थापन र त्यहाँको हिन्दु जनमतको समर्थन रहने विश्वास रहिआएको छ ।

अझ राजावादीहरूको अर्को एउटा समूह त महेन्द्रका जेठा छोरा रबिन्द्र वीरबिक्रम शाहका जेठा छोरा बविन्द्र वीरुबिक्रम शाह जीवितै रहेको हुँदा राजाको असली हकदार यी साइला राजा ज्ञानेन्द्र नभएर बबिन्द्र हुन् भनीरहेका छन् । बबिन्द्र भनेका राजा महेन्द्रका जेठी श्रीमती गीता गुरुङ्ग पट्टिका जेठा छोरा रबिन्द्रका पनि छोरा हुन् । रबिन्द्र जेठा, बिरेन्द्र माइला, ज्ञानेन्द्र साइला र धिरेन्द्र कान्छा छोरा हुन् महेन्द्रका । महेन्द्रले रबिन्द्रलाई राजकुमारको उपाधि पनि दिएको र महेन्द्र मर्दाखेरी रबिन्द्र काजकिरियामा समेत बसेको  र रबिन्द्रका सन्तान जेठो हाँगो भएको हुँदा राजा उनैका छोरा बबिन्द्रलाई बनाउनु पर्ने भन्दै हिँडेको छ । शाह वंशीय राज परम्परा अनुसार राजाको जेठो छोरा राजा हुने चलन रही आएको छ । त्यही कारण छोरा  महेन्द्रको जेठो छोरा  त रबिन्द्र नै हुन्, अनि उनकै सन्तान राजा हुनुपर्छ भन्ने यो समूहको योजना छ ।

अर्को एउटा समूह त जगतप्रकाशजङ्ग शाहका जेठा छोरा नवीनप्रकाशजङ्ग शाह नै शाह वंशका असली हकदार हुन् भनेर झन् जोडतोडले प्रचार गरिरहेका छन् । नवीनप्रकाशजङ्ग शाह भनेका रणबहादुर शाह विसं१८३४ –१८५५ का ब्याइते महारानी सुवर्णप्रभाका जेठो छोरा रणउद्दतको जेठो हाँगो हो । रणबहादुर शाहले बाग्मतीमा नुहाउँदै गरेकी तिरहुते बिधुवा बाहुनी कान्तावती झालाई अति नै मन पराएर रानी बनाउने प्रस्ताव गर्दा आफ्नो सन्तानलाई राजा बनाउने भए मात्र बिहे गर्ने भनेको र रणबहादुरले कान्तावतीको त्यो बाचा मानेको हुँदा   तिनै तिरहुते ल्याइते बाहुनी पट्टिका गिर्वाणयुद्ध बिरबिक्रम शाहलाई राजा बनाए । गिर्वाणले – विसं१८५५ – १८७३ शासन गरे । यसमा पनि रणबहादुरकी जेठी महारानी राजराजेश्वरी पट्टि छोरी मात्र भएका कारण माहिली रानी सुवर्णप्रभालाई बिहे गरेका थिए । माहिली रानी पट्टि रणउद्दत र शमशेर शाह दुई छोरा थिए । शमशेर शाहको सन्तानको विषयमा केही भन्न सकिएन । तर रणउद्दत शाहको जेठो हाँगो जगतप्रकाशजङ्गका जेठा छोरा नवीनप्रकाशजङ्ग शाह अहिले पनि जीवितै छन् । उनैलाई राजा बनउनु पर्छ भन्ने राजावादीहरु पनि देखिदैछन् ।

 अपराधको दल–दलमा फँसेको राजतन्त्र फर्किने सम्भावना छैन

नेपालमा राजतन्त्र फर्किने कुरामा केही पूर्व पञ्च र तिनले खोलेका पार्टीका कार्यकर्ता, केही बहुलठ्ठीपूर्ण लहडी मान्छे र नेपालको प्रजातान्त्रिक, लोकतान्त्रिक–आन्दोलनमा कुनै योगदान र भूमिका नभएका मानिसहरू जोडतोडले प्रचार गरिरहेका छन् राजा अहिले आइहाल्छन्, भोली आउँछन् भनेर । राजा ज्ञानेन्द्र आफैं पनि राजा हुन्छु, मलाई राजा बनाऊ भनेर हिँडेका छैनन् । उनीमाथि अधिराजकुमार हुँदा रातो पासपोर्टको दूरुपयोग गरेर मूर्ति चोरी गरेको, नमिता–सुनिता हत्याकाण्ड, लागू औषध कारोबार, पिसकोर, छिन्ताङ, टिम्बुरबोटे काण्ड, पत्रकार पदम ठकुराठीमाथि गोली प्रहार गर्ने जस्ता जघन्य अपराधमा भूमिगत गिरोह परिचालन गरेको र कतिपय घटनामा आफैं पनि संलग्न भएको संगीन आरोप लागेको छ ।

त्यतिमात्र होइन आफ्नै दाजु बिरेन्द्रको वंश बिनास हुने गरी नारायणहिटी नरसंहार गराएर राज्य सहायक हुँदै सबै दोषजति दिपेन्द्रको टाउकोमा थोपरेर राजा समेत हुन सफल भएको अधिकांश जसो नेपाली जनताको बुझाई रहेको छ । दरबार हत्याकाण्ड कस्ले गरायो र दोषी को हुन् भन्ने बिषय अझैपनि रहस्यकै गर्भमा छ । आठवर्षे राजगद्दीमा बस्दा पनि ज्ञानेन्द्रले नारायणहिटी हत्याकाण्डको छानबिन गरी दोषी पत्ता लगाउने काम नगरेका कारण शङ्काको सुई उनैतिर सोझिएको आम सर्वसाधारणको सहज अनुमान छ । व्यापारी पृष्ठभूमि भएको, राजकाज भन्दा नाफा र कमाइमा रमाउने उनको पुरानै सोच र शैलीका कारण पनि उनी राजा बन्न लायक त छैनन् नै । थिएनन् पनि तर नियतीले उनलाई तीन बर्षको उमेरमा  २००७ सालमा पहिलो पटक र ५४ वर्षको उमेरमा दोस्रो पटक २०५८ सालमा राजा भएका थिए । ज्ञानेन्द्र संवैधानिक र अधिनायकवादी सक्रिय राजतन्त्र चलाएर जनतामाथि घोर दमन गरेको सास्ती भोग्ने स्वतन्त्रताप्रेमी नेपाली जनताले भुलिसकेका छैनन् ।

     अब रह्यो ज्ञानेन्द्र पछि उनका छोरा पारस शाहको । पारसले त म राजा बन्नका लागि जन्मेकै होइन भनेर सार्वजनिक रूपमै भनिसकेका छन् । उनी आफैं राजावादी होइन, नेपालवादी बन । योवादी, उवादीले विभाजन ल्याउँछ, सबै नेपालवादी बनौं देश बन्छ, म राजासाजा बन्ने होइन, मलाई यही लोकतन्त्रको स्वतन्त्रतामा इन्जोय गर्नदेऊ भनिरहेका छन् । पारसको छवि, उनले विगतमा गरेका प्रविण गुरुङ्गको हत्या, लागू औषधको प्रयोग, गुण्डागर्दी, लडाई झगडाको के कुरा गर्नु र ? यस्तालाई राजा बनाउने सपना देखिरहेका छन् कठै राजावादीहरु । द्रब्य शाहको पालादेखि ज्ञानेन्द्रसम्म आइपुग्दा  चारसय ६५ वर्ष लामो नेपालको राजतन्त्रले देशलाई अन्धकारको युगमा जनतालाई दास बनाएर राख्यो । यिनको पुर्खाको शासनकालमा मानिसहरूलाई जनावर जसरी हाट बजारका बिक्री गरिन्थ्यो । अरु देशमा विश्वविद्यालयहरू चारसय वर्ष पहिलादेखि नै खुलेका थिए, त। नेपालमा जनताका छोरा छोरीले पढ्न पाउँदैन थिए  । त्यो बिभेद, यिनैका पुर्खाले गरेका हैनन् र ?

सँधै जाल–झेल, षड्यन्त्र, दमन, शोषण, अन्याय, अत्याचारको भरमा शासनसत्ता टिकाउँदै आएको, द्रव्य शाहले राज्य हत्याएको बेलादेखि नै छिमेकी राजा रजौटाहरुमाथि चरम दमन, कोतपर्व, भण्डारखाल पर्व, अलौ पर्व, नारायणहिटी पर्व जस्ता अनेकन आततायी घटना, परिघटना र रगतको आहालमा डुबेको नेपालको सामन्ती राजतन्त्रको पुनरागमनको वकालत दलाल र दास बाहेक कुनैपनि लोकतन्त्रवादी सभ्य नागरिकले  गर्न सक्दनन, चाहदैन । जनताको छोरा–छोरी आफै राज्यको सर्वोच्च निकायमा जनताबाट अनुमोदित भएर पुग्नसक्ने संवैधानिक प्रावधान हुँदाहुँदै आफूमाथि शासन गर्न अरु नै सामन्तको सन्तान चाहिन्छ भनेर उसको दासत्व स्वीकार गर्नेहरुकाप्रति तीनको सोच, चिन्तन र चेतनास्तरप्रति दया गर्नु शिवाय अरु कै नै गर्न सकिन्छ र ?

राजतन्त्रलाई जस्ले हटायो, फिर्ता ल्याउन परे त्यसले मात्र ल्यउनसक्छ । त्यो भनेको नेपालको संसद् हो । संसद्ले चाह्यो भने केही परिवर्तहरु हुन सक्लान् । तर, त्यसका लागि राजावदीहरुले चुनावमा दुईतिहाइ ल्याउनु अनि वैधानिक बाटोबाटै जे गर्नु छ, त्यही गरे भैगो नि । किन यो सडकमा भद्दा नाटक मञ्चन गर्नु, गराउनु  ? गणतन्त्रभन्दा उन्नत शासन प्रणाली दुनियाँमा कहीँकतै छैन । जनता सार्वभौम हुने शासकहरुले प्रत्येक पाँच–पाँचबर्ष जनताबाट अनुमोदन भएर मात्र साशनसत्तामा बस्न पाउने व्यवस्थामा मात्र शासक जनतकाप्रति उत्तरदायी हुन्छ । स्वेच्छाचारी भयो, जनविरोधी काम ग¥यो भने अर्को चुनावमा जनताले पराजित गरेर दण्डित गर्नसक्छन् । तर राजा महाराज स्वेच्छाचारी, अत्याचारी, प्रजातन्त्र बिरोधी, अधिनायकवादी भएका अनेक उदाहरण हाम्रो मुलुकमा अनेकौं छन् । यस्तो अवस्थामा त्यस्तो शासकलाई हटाउन सक्ने कस्तो विधिको परिकल्पना गरेका छन् ? राजाका दासहरूले ?

तसर्थ आजको विज्ञान र प्रविधिको आधुनिक युगमा पुरातन राजतन्त्रको सोच नै उपयुक्त छैन, होइन यो बिकसित मस्तिष्कको उपज नै होइन । र नेपालमा चिहानमा पुगेको राजतन्त्रको बहाली कदापी संम्भव छैन, त्यसमाथि राजावादीहरूको सडकको  आन्दोलनबाट त त्यो झन् असम्भव छ । जनताले त आफ्ना लागि आफैं संर्घष गरेर अधिकार खोसेर लिएका हुन् । पूर्व राजाले आफू नार्गार्जुन र शीतल निवासमा बसेर अरुले नै लडाइ लडेर मलाई गद्दीमा राखिदिन्छन् भनेर असम्भव कुरामा मख्ख नपरेकै राम्रो ।  न त ज्ञानेन्द्रमा राजगद्दीमा बस्न पाउँ भनेर आन्दोलन गर्ने नैतिक हैसियत छ । उनले त्यो राजगद्दी पनि स्वभाविक रुपमा प्राप्त गरेका होइनन्, अपुतालीमा पाएका हुन । अपुतालीमा ९सित्तैमा० पाएको कुराको कुनै माया हुँदैन । त्यसैले नेपालमा राजतन्त्र फर्किदैन । यसको कुनै सम्भावना नै छैन । अँ बरु ज्ञानेन्द्रले पार्टी खोलेर लोकतान्त्रिक अभ्यास गर्दै  जनताबाट अनुमोदित भएभने चाहि शासन सत्ताको सर्वोच्च स्थानमा पुग्नसक्ने सभावनालाई भने लोकतन्त्रमा नकार्न सकिन्न ।

साढे तीन दशक झापामा सक्रिय पत्रकारिता गरेका हुमागाईँ नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य र झापा अध्यक्ष हुन् । उनी हाल नेपाली काँग्रेस झापाको सचिव छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर