Aamsanchar

अर्जुनधारामा चार पालिकाको साझेदारीमा एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना हुने निश्चित

Author Image
बुधवार, मंसिर २७, २०८०

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा  एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना हुने भएको छ । झापाका चारवटा पालिकाको अग्रसरतामा एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना हुने भएको हो ।

एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना गर्नको लागि झापाको अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिका बीच साझेदारी योजना अघि बढेको हो ।
यस कार्यमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र अन्तर्गत कोशी प्रदेश सरकार योजना सम्पन्न गर्न प्रमुख साझेदार बनेको छ ।

स्थानीय सरकारहरू बिच र प्रदेश सरकारसँग समेत पट्क पट्क छलफल भएपछि एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना हुने निश्चित भएको छ ।

एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना को लागि जुन २, २०२१ का दिन प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, चार वटा स्थानीय सरकार बिच  समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
चारवटा सम्म दमकल राख्ने, एउटा शववाहन र चारवटा सम्म साना वाहन राख्ने सँगै वाहन मर्मत गर्ने कार्यशाला १, पानी जम्मा गर्ने रिजर्भियर १, विपद् सामाग्री भण्डारण गर्ने गोदाम १, प्रहरी तथा कामदार र कर्मचारीहरू बस्ने घर २, हेली प्याड् १ लगायतका पूर्वाधार निर्माण हुने छ ।

अर्जुनधारा नगरपालिका वडा न १ मदनपुरमा केन्द्रको कार्यालय रहने निश्चित भएको छ ।

साझेदारी पत्रमा उल्लेख भए अनुसार प्रदेश सरकार तर्फबाट  एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना र सञ्चालनको समग्र नेतृत्व र पहल,  केन्द्र स्थापना र सञ्चालनका लागि एकीकृत विपद् व्यवस्थापन कोष स्थापना गर्न कार्यविधि निर्माण, मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र अन्र्तगत दमकल, शव वाहन, प्रहरी भ्यान, एम्बुलेन्स आदि प्रदान, सम्बन्धित प्रहरी युनिट सँग एकीकृत विपद व्यवस्थापन केन्द्रमा नै क्याम्प स्थापना गर्न आवश्यक समन्वय एवं परिचालन गरिने जनशक्तिलाई आवश्यक तालिम प्रदान गर्न सहजीकरण गर्ने,  संघीय तथा प्रादेशिक निकायहरू सँग समन्वय र सहजीकरण गर्ने काम प्रदेश सरकारले गर्ने छ ।

केन्द्र स्थापना गर्न स्थानीय सरकारहरूको जिम्मेवारीमा चारवटै स्थानीय सरकारहरू सहमत रहेको स्थानमा आवश्यक जमिन उपलब्ध गराउने,  प्रदेश सरकारको नीति, मापदण्ड तथा कार्यविधि अनुरूप आवश्यक स्थानीय नीति तथा कार्यविधि निर्माण गर्ने, एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना र सञ्चालन गर्न निर्माण गरिने कोषमा निर्माण लागत तथा सञ्चालन खर्च योगदान गर्ने, केन्द्र स्थापना गर्न प्रदेश सरकारको सहयोग कार्यक्रमको सहयोगमा ठेक्का सम्झौता, निर्माण सुपरीवेक्षण, अनुगमन, प्राविधिक जाँचपास र फरफारक गर्ने, र स्वामित्व ग्रहण गर्ने रहेको छ । त्यसैगरी एकीकृत विपद व्यवस्थापन केन्द्र स्थापना तथा सञ्चालन कार्यविधि अनुरूप केन्द्रको सञ्चालन, रेखदेख चारवटा पालिकाले गर्ने छन् । उपयोग भने प्रदेशका सबै जिल्लाहरूले गर्न सक्ने छन् ।

एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना गर्नको लागि स्थानीय सरकारका प्रतिनिधि र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त बैठक बाट विस्तृत परियोजना प्रतिवेदन स्वीकृत २०७९ चैत्र २६ गते भइसकेको छ ।  प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय सँग २०८० जेठ २३ गते लगानी सम्झौता भइसकेको छ । लगानी सम्झौता अनुरूप कोशी प्रदेश सरकारको सहयोग कार्यक्रम वाट स्वीकृत लागतको २० प्रतिशतले हुने रकम १ करोड ६७ लाख ३६ हजार रुपैयाँ एकीकृत विपद् व्यवस्थापन केन्द्रको  खातामा जम्मा भई सकेको छ । उक्त रकम २०८० श्रावण २६ गते जम्मा भएको हो ।

कार्यालय तथा भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश, चारवटा स्थानीय तहको गरेर हुनआउने जम्मा अनुमानित रकम ५ करोड रहेको र  ठेक्का पनि लगाइएको नगरका इन्जिनियर नीता नेपालले जानकारी दिइन् । सो रकमले भवन लगायतको संरचना निर्माण हुने छ । उक्त आयोजना २ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

सबै पालिकाहरूले आफ्नो वार्षिक कार्यक्रम मार्फत बजेट विनियोजन गर्न थालिएको छ । संरचना निर्माणको लागि सूचना प्रकाशित गरी बोलपत्र आह्वान गरी पर्न आएका बोलपत्रहरु मध्येबाट श्री कालिका इन्जिनियरिङ जे भी लाई निर्माण कार्य गर्नको लागि ठेक्का सम्झौता गरिएको अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देनले बताए ।

आयोजनाको लागि स्वीकृत डिपिआर संरचना निर्माण, समुदाय समेतको संलग्नतामा विपद् व्यवस्थापन कार्य सहभागिता, पारदर्शीलाई चुस्त दुरुस्त बनाई केन्द्रलाई नमुना सिकाइ केन्द्रको रुपमा विकसित गरि सिकाइ तथा अनुभव संस्थागत गर्ने योजना रहेको साझेदारी नगरपालिका कनकाईका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।

योजनाको लागि स्विस सरकार तर्फबाट आर्थिक सहयोग हुने आज अर्जुनधारा नगरपालिकामा आयोजित एक कार्यक्रमका नेपालका लागि स्विजरल्याण्डका राजदूत  डाक्टर डानिचल म्यूलीले जानकारी गराएकी छन् । परियोजनाको लागि  स्विस सरकारको २० प्रतिशत लगानी रहने बताइएको छ ।

परियोजनामा प्रदेश सरकारको ५० प्रतिशत, तीनवटा नगरपालिकाको २४ प्रतिशत, बुद्धशान्ति गाउँपालिकाको ६ प्रतिशत र लगानी रहने बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष  मनोज प्रसाईँले जानकारी दिए ।

कार्यक्रममा अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुली, बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रदेश सरकारका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 368

प्रतिक्रिया (०)

सम्बन्धित खबर