काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको हवाई सुरक्षाको विषयलाई लिएर ध्यानाकर्षण गराएको छ। बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डलाई तीन विषयमा ध्यानाकर्षण गराएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङमा प्राधिकरणको निर्णय, ईयूको ‘सेफ्टी लिस्ट’र नेपालको कमजोरी र निगमको नयाँ विमान खरिदका विषयलाई लिएर ध्यानाकर्षणसहित सुझाव दिएको छ।
अर्यालले बुझाएको ध्यानाकर्षण पत्रमा नेपाल एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङलाई आफ्नो आम्दानीको मेरुदण्ड मान्दै आएको उल्लेख छ। विमानस्थल राष्ट्रिय सुरक्षासँग समेत सम्बन्ध राख्ने क्षेत्र भएकाले यस्तो संवेदनशील क्षेत्रको व्यवस्थापन (ग्राउण्ड ह्याण्डलिङ)खुला प्रतिस्पर्धाको बहानामा निजी (स्वदेशी वा विदेशी)कम्पनीलाई दिने क्यानको योजना राष्ट्रिय सुरक्षासँग समेत जोडिएको विषय भएको जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन्।
बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।