झापा । झापा र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र गाँजा सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको दमक नगरपालिका–७ पशुहाट मा १ ह ९७४५ नम्बरको अटोलाई चेकजाँच गर्दा अटो चालक दमक नगरपालिका –१ बस्ने ३५ वर्षीय प्रकाश श्रेष्ठ, अटोमा सवार २३ वर्षीय अर्जुन लिम्बू र निजकै श्रीमती २७ वर्षीया मनीषा लिम्बूलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार अटोको डिक्कीमा चेकजाँच गर्दा ५१ ग्राम ब्राउनसुगर फेला परेको थियो । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

यसैगरी उदयपुरको उदयपुरगढी गाउँपालिका–७ हाडेबासमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा रौतामाई गाउँपालिका–४ मालबासेका ५५ वर्षीय मोटे रोका र २३ वर्षीय नेत्र परियारको साथबाट १६ केजी ३३० ग्राम लागूऔषध गाँजा बरामद भएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र गाँजा सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

