Aamsanchar

कर्णाली (साकोस)को निर्णय प्रमाणिकरण सभा सम्पन्न, कर्मचारी र संस्थापकहरू सम्मानित

Author Image
बुधवार, पौष ४, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २४ औं स्थापना दिवस तथा २३ वार्षिक साधारणसभाको निर्णय प्रमाणिकरण सभा सम्पन्न भएको छ ।
आज (बुधबार) बिर्तामोड स्थित एक पार्टी प्यालेसमा निर्णय प्रमाणिकरण सभा भएको हो ।

संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा आयोजित सभाको प्रमुख अतिथि कोशी प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।

साधारणसभाको खुला सत्रमा संस्थाको तर्फबाट संस्था सँग जोडिएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ ।

विगत २० वर्ष देखि केन्द्रिय कार्यालयमा कार्यालय सहयोगी कर्मचारी रहँदै आएकी नन्दादेवी बस्नेत, अनिवार्य अवकाश प्राप्त गरेका कर्मचारी हरिप्रसाद ढकाल, मर्यादित कार्य सम्पादन गर्ने कर्मचारी हरिमाया दाहाल, गरामनी सेवा केन्द्रमा उत्कृष्ट ढंगले कार्यसम्पादन गरे वापत पुष्पलता ढुङ्गाना, उत्कृष्ट मूल्याङ्कनमा पर्न सफल ताराबहादुर राईलाई सम्मान गरिएको छ ।

त्यसैगरी सदस्यता स्थायित्वमा मञ्जु खत्री, उत्कृष्ट तागेता कर्ता इन्दिरा ढुंगाना, बढी लगानी भएको ऋण तागेता गर्न सफल उमेश गणेश, समूह तर्फ उत्कृष्ट फिल्ड व्यवस्थापन कर्ता गीता निरौला, अनिवार्य अवकाश प्राप्त उद्धव कार्की र बढी लगानी गराउन सफल चैतन्य अधिकारीलाई सम्मान गरिएको हो ।  सोही अवसरमा संस्थापक शेयर सदस्यहरू भुपेन्द्र भट्टराई र जयप्रसाद गौतमलाई पनि सम्मान गरिएको थियो ।
२०५७ सालमा स्थापना भएको कर्णाली साकोसको हाल झापा, मोरङ र इलाम जिल्लामा कार्य क्षेत्र रहेको छ । जिल्लाका विभिन्न स्थानमा गरेर कर्णालीको ४१ वटा सेवा केन्द्र रहेको छ । ५० हजार ७८१ जना शेयर सदस्य रहेको कर्णालीमा ३ सय ७७ जना कर्मचारीहरू कार्यरत रहेका छन् ।

झापा जिल्लामा एक प्रगतिशील सहकारीको रुपमा स्थापित कर्णालीले आर्थिक वर्ष २०७९/०८० मा उल्लेखनीय प्रगति गरेको छ ।  संस्थाको वित्तीय प्रगतिमा शेयर पुँजी ४८ करोड ८० लाख २१ हजार ७०० रुपैयाँ, बचत मौजाद २ अर्ब १८ करोड ५८ लाख ५ हजार ४७९ रुपैयाँ, जगेडा कोष १३ करोड ३८ लाख १ हजार ६७१ रुपैयाँ, अन्य कोष ११ करोड ४३ लाख ९६ हजार ६ रुपैयाँ, कर्जा जोखिम कोष ६ करोड १० लाख ५७ हजार १८५ रुपैयाँ, कर्जा सुरक्षण कोष ६ करोड ६१ लाख १० हजार ६३१ रुपैयाँ, सदस्य उपचार कोष ४ करोड २० लाख ४१ हजार ३८३ रुपैयाँ, बैकबाट लिएको कर्जा १ अर्ब १५ करोड ३० लाख ६३ हजार ५६५ रुपैयाँ, लगानीमा रहेको रकम ३ अर्ब ७१ करोड ५२ लाख ९६ हजार ६ रुपैयाँ, स्थिर सम्पति १५ करोड ३१ लाख ९३ हजार ३०५ रुपैयाँ, तरलता बैंक जम्मा ४७ करोड ४२ लाख ६१ हजार ७१३ रुपैयाँ, जम्मा वासलात ४ अर्ब ३६ करोड २१ लाख ७ हजार २०४ रुपैयाँ, शुद्ध वासलात ४ अर्ब ३० करोड १० लाख ५० हजार १९ रुपैयाँ पुर्याएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले सदस्यहरूका लागि विभिन्न बचत योजनाहरू सञ्चालन गर्दै आएको छ । साधारण, मासिक, सुपर क्रमिक, बाल तथा शैक्षिक, आवधिक, समूह, व्यक्तिगत, उपकार, पेन्सन, केन्द्र कोष, कर्णाली सुपर पेन्सन, कर्णाली सुपर कलेवल, बिमा, उपदान, दैनिक लघु, नारी पर्व र ज्येष्ठ नागरिक बचत सञ्चालन गर्दै आएको छ । त्यसैगरी ऋण लगानी योजना अन्तरगत व्यवसायिक, उद्यमशील, शैक्षिक, कर्मचारी, वैदेशिक रोजगारी, हायर पर्चेज, आवास, सदस्य उपचार, विपत राहत व्यवस्थापन, सामाजिक, जीवन बिमा, वैकल्पिक उर्जा, साधारण, विशेष साधारण, मौसमी, प्रोत्साहन र बचत कर्जा लगानी गर्दै आएको छ ।
निर्णय प्रमाणिकरण सभाका प्रमुख अतिथि कोशी प्रदेशका सांसद एकराज कार्कीले सहकारीबाट लिएको कर्जा तिर्न पर्दैन भनी हुङ्कार गर्नु गलत भएको बताए । सहकारीले उत्पादनका क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको औंल्याउँँदै उनले बैंकमा पैसा राख्ने र सहकारीबाट ऋण माग्ने कार्यले सहकारी उँभो नलाग्ने पनि प्रष्ट पारेका थिए ।

नेपालमा आर्थिक मन्दी हुनाको प्रमुख कारण विकास निर्माणका कार्यहरू हुन नसक्नु भएको औंल्याउँदै प्रदेशसभा सदस्य कार्कीले आर्थिक मन्दीले सबै क्षेत्रमा समस्या भइरहेको सुनाए ।
सो साधारणसभाका अर्का अतिथि वक्ता झापा जिल्ला सहकारी संघ लिमिटेडका सञ्चालक समिति सदस्य केशव बस्नेतले हजारौँको सङ्ख्यामा रहेका प्रारम्भिक सहकारी संस्थाको नियमनका लागि डिभिजन सहकारी कार्यालयहरू पुनः ब्युँताउनुपर्ने सुझाव दिए ।

संस्थाका सचिव भूपाल बस्नेतले सञ्चालन गरेको सो निर्णय प्रमाणिकरण सभामा आमन्त्रित अतिथिहरू एवम् सहभागीहरूलाई संस्थाका कोषाध्यक्ष एकराज विष्टले शाब्दिक स्वागत गर्दै कर्णाली साकोसको गत आर्थिक वर्षको वित्तीय विवरण पनि प्रस्तुत गरेका थिए ।

यसैबीच कर्णाली साकोसको आगामी चार वर्षे कार्यकालका लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन प्रक्रिया जारी रहेको छ । निर्णय प्रमाणिकरण सभा तथा २४ औं वार्षिकोत्सवको दिन अघि नै सर्वसम्मत नेतृत्व चयन गर्ने गरी निर्वाचन कार्यक्रम बनाइए पनि आकाङ्क्षीहरू बीच सहमति नहुँदा सिङ्गै नेतृत्व चयन हुन नसकेको निर्वाचन अधिकृत, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले बताएका छन् ।

निर्वाचन समितिले प्रकाशन गरेको सूचना अनुसार सञ्चालक समितिको अध्यक्षमा टसबहादुर प्रधान, सचिवमा भुपाल बस्नेत र कोषाध्यक्षमा एकराज विष्ट सर्वसम्मत चयन भइसकेका छन् ।
यसैगरी लेखा सुपरीवेक्षण समितिका संयोजक मनकुमार वेघा र महिला सदस्य निलम प्रधान निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले प्रकाशन गरेको सूचनामा जनाइएको छ ।

संस्थाको उपाध्यक्षमा गुञ्जन थापा, गणेश पराजुली र रामकुमार गौतमले मनोनयन दर्ता गरेका छन् भने केही सञ्चालक समितिका सदस्यहरू पनि सर्वसम्मत र केहीमा छलफल जारी रहेको जनाइएको छ ।

बाँकी पदाधिकारी र सदस्यहरू सर्वसम्मत हुन नसके आगामी पुष १३ गते मतदानमार्फत चयन गरिने निर्वाचन अधिकृत दाहालको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ
आइतवार, असोज २०, २०८१
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
शुक्रवार, असोज १८, २०८१