Aamsanchar

लक्ष्मीपुर विहिबारेको नवदुर्गा मन्दिरमा १८ औं महापुराण आयोजना हुने 

Author Image
आइतवार, पौष ८, २०८०

चारपाने । झापाको अर्जुनधारा नगरपालिका –५, लक्ष्मीपुर स्थित बिहिबारे बजारमा रहेको श्री नवदुर्गा पाञ्चायतन मन्दिरमा श्रीमद्स्कन्ध महापुराण आयोजना हुने भएको छ ।

यही पुष १० गते देखि १८ गते सम्म आयोजना हुने महापुराणको सम्पूर्ण तयारी पुरा भएको आज मन्दिर परिसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताइएको हो ।

मन्दिर समितिले यस पटक आयोजना गर्ने पुराण १८ औं पुराण हो । २०६२ साल देखि हरेक वर्ष पुराण आयोजना गर्दै आएको मन्दिर समितिले यस पटकको पुराणलाई विगतको भन्दा भव्य र पृथक ढंगले आयोजना गर्ने योजना बनाएको मन्दिर समितिका अध्यक्ष तथा पुराण आयोजक समितिका संयोजक छविलाल लम्सालले जानकारी दिए ।

१८ पुराण सम्पन्न गर्दा पुराणको अध्याय पुरा हुने भएकाले उत्साहजनक रुपमा समितिले पुराण आयोजनाको तयारी गरेको छ । १७ औं पुराण सम्म आइपुग्दा धेरै दाताहरू दिवंगत भइसकेका छन् । उहाँहरूको सम्झना र सम्पूर्ण पितृहरूको मोक्ष प्राप्तिको कामना गर्न सवा करोड वात्ती द्वारा लक्ष्यवर्ती गरिने योजना रहेको पुरण समितिकी रमा रिमालले जानकारी दिइन ।

महापुराण  आयोजना गर्न मन्दिर समितिका पदाधिकारी सदस्य र  ७ सय जना आजीवन सदस्यहरूको  पुराण मूल समिति गठन गरिएको छ । त्यसैगरी मूल समितिले कार्य सम्पादन गर्न सहजताको लागि विभिन्न १२ वटा उपसमितिहरू बनाएको छ ।

उपसमिति संयोजकहरु मा शोभायात्रा व्यवस्थापन विमला ढुङ्गेल, लक्ष्यवर्ती आरती व्यवस्थापन बिन्दा रेग्मी, मण्डप निर्माण व्यवस्थापन देवीचरण गिरी, पण्डित, भजन टोली व्यवस्थापनमा पवित्रा दाहाल, आर्थिक समन्वय समिति संयोजक एलबहादुर गिरी, धाञ्यचल तथा गेट व्यवस्थापन भिमप्रसाद सापकोटा, स्वयम् सेवन परिचालन कर्णबहादुर ढकाल, प्रसाद व्यवस्थापन शिवकुमार श्रेष्ठ, त्यसैगरी प्रचार प्रसार संयोजक खिलराज कार्की, उपसंयोजक तेजकुमार गिरी, सामाग्री खरिद संयोजक अविनारायण गिरी, माला स्वागत तथा सम्मान सामाग्री व्यवस्थापन संयोजक अम्बिका कार्की र कोष व्यवस्थापन उपसमिति संयोजकमा जमुना खड्का र सहसंयोजकमा अर्जुन रेग्मीलाई मूल समितिले जिम्मेवारी प्रदान गरेको मन्दिर समिति तथा पुराण आयोजक समितिका सचिव खिलराज कार्कीले जानकारी दिए ।

धार्मिक विधि अनुसार १८ औ पुराण विशेष र धेरै पाठ गर्नु पर्ने भएकाले समितिले पाँचजना पण्डितहरूद्वारा पुराण वाचन गराउने भएको छ । जसका लागि पुराणमा मुख्य वाचक पण्डित छन्दुराम भण्डारी, पण्डित पुरुषोत्तम गजुरेल, पण्डित लक्ष्मीप्रसाद पोखरेल, पण्डित भक्तिप्रसाद घिमिरे र भरत अधिकारी पुराण उपवाचकमा रहने मन्दिर समितिका उपाध्यक्ष एलबहादुर गिरीले जानकारी दिए ।

स्थानीय स्वर्गीय दलबहादुर थापाले बजार लगाउनको लागि भानु माध्यमिक विद्यालयलाई दान दिएको १५ कठ्ठा जग्गा मध्ये भानु माध्यमिक विद्यालयले मन्दिरका लागि १ कठ्ठा जग्गा उपलब्ध गराएको थियो ।

जग्गा भने मन्दिरको नाममा छैन । सोही ठाउँमा निर्मित मन्दिरमा १७ पटक आयोजना भएको पुराण र विभिन्न धार्मिक कार्यक्रममा दाताहरूले दान दिएको रकमबाट २१ लाख ७५ हजारको लागतमा मन्दिर पुन निर्माण गरिएको छ । त्यसैगरी मन्दिर परिसरमा ८५ लाख बराबरको लागतमा सामुदायिक भवन निर्माण भएको छ । हाल भवनको माथिल्लो तलामा निर्माण गरिएको एउटा हलमा दशगात्र कर्म गर्न सार्वजनिक रुपमा खुला गरिएको छ ।

लक्ष्मीपुर चौक देखि ४ सय मिटर उत्तरमा रहेको मन्दिरमा नियमित पूजा आराधना हुँदै आएको छ ।  सामुदायिक भवनको भित्तैभर दाताहरूको नाम शिलालेखमा लेखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर