Aamsanchar

कनकाई–विर्ता–अर्जुन नविकरणीय उर्जामा फोहोर सेग्रीगेसन गर्न सुरु

Author Image
शनिवार, पौष १४, २०८०

कनकाई । झापाको कनकाई– विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर सेग्रीगेसन कार्य सुरु गरेको छ ।

बायोग्यास उत्पादनका लागि सुरु गरिएको यस कम्पनीले कुहिने र नकुहिने फोहोर सेग्रीगेसन कार्य आजदेखि सुरु गरेको हो । सेग्रीगेसन परिक्षणकारुपमा सुरु गरिएको कम्पनीले जनाएको छ ।

कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल, बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली र कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्माले संयुक्तरुपमा सेग्रीगेसन मेसिनको बटम थिचेर परिक्षण कार्यको उद्घाटन गर्नु भएको थियो ।

यस मेसिनमा सेग्रीगेसन गरिसकेपछि कुहिने फोहोर ग्यास उत्पादन गर्ने डाइजेस्टरमा लगाइन्छ । नकुहिने प्लाष्टिकजन्य फोहोरको लागि भने पेवर्स, ब्लग बनाउने मेसिन खरिद प्रक्रियामा रहेको छ। अबको एक महिना देखि डेढ महिना भित्रमा त्यो मेसिन पनि जडान हुने भएकाले तीनैवटा पालिकाको फोहोर व्यवस्थापन हुने कम्पनीका मेकानिकल कन्सल्टेन्ट इन्जिनियर मोहम्मद नसिम अलिले जानकारी दिनु भयो ।

बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईँले यो प्लान्ट पूर्णरुपमा सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनमा सहज हुने बताउनुभयो । फोहोर स्रोतमै वर्गीकरण गर्नु पर्ने भएकोले घर, पसल, होटलमै कुहिने र नकुहिने फोहोर छुट्याउन नगरवासीलाई आग्रह गर्नुभयो । हाल बिर्तामोडको कृषिथोक बजारबाट निस्किएको फाहोर मात्रै प्लान्टमा गइरहेको र अब बाँकी फोहोर पनि चाँडै पठाइने नगर प्रमुख प्रसाईँले जानकारी दिनु भयो ।

यस्तै कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोख्रेलले क्रमागतरुपमा ढिलै भएपनि लक्ष्य प्राप्तिको दिशामा पुगको बताउनु भयो । उहाँले पनि तीन वटै पालिकाबाट सेग्रीगेसन गरिएको फोहोर ल्याउनु पर्नेमा जोड दिँदै स्रोतमै वर्गीकरण गर्न सबैलाई आग्रह गर्नु भयो ।

सेग्रीगेसन मेसिनको औपचारिक उद्घाटन आगामी सोमबार गरिने कम्पनीका अध्यक्ष मदन गोपाल सुब्बाले जानकारी दिनु भयो । सेग्रीगेसन परिक्षण कार्य उद्घाटनमा कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन रिमाल, कम्पनीका बोर्ड सदस्य मिनाल तिम्सिनाको पनि उपस्थिति रहेको थियो ।

कनकाई, बिर्तामोड, अर्जुनधारा नगरपालिका, दातृनिकाय र स्थानीय नागरिक समेतको परियोजनामा २२ करोड रुपैयाँ लगानीमा फोहोर मैलाको दिगो व्यवस्थापनका लागि ग्यास प्लान्ट निर्माण गरिएको हो । प्लान्ट कनकाई नगरपालिका २ मा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर