Aamsanchar

जय श्री हरि । आजको राशिफल । १९ पुष २०८०, बिहिवार ।

Author Image
बिहिवार, पौष १९, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ । एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, त्यसैले परिश्रम र आरामको सन्तुलनमा ध्यान दिई पठनपाठनमा जुट्नुपर्छ, बहस वा तर्कवितर्कमा विजयी भइने छ । ताकेको काम सम्पन्न हुनेछ, तर सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्नुपर्छ । शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहने समय हो, त्यस्तै रिस र घमण्ड बढ्नाले पनि अप्ठ्यारोमा पर्न सकिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
कल्पना र भावनामा रुमल्लिन सकिन्छ, तर आज कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । ज्ञान र क्षमता बढाउन उपयोगी दिन छ, उता घरमा समेत सम्पर्क राखी भाइबहिनी वा छोरा/छोरीको चासो राख्नु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय हो, महत्त्वपूर्ण निर्णय लिनुअघि अनुभवी वा जानकार व्यक्तिको सल्लाह लिएर अघि बढ्नु होला । बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहनेछ । पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय छ । अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुपर्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
उत्कृष्ट खाना, रोमान्टिक पलहरू र इष्टमित्रको साथ नै आजको विशेषता हो भन्दा फरक पर्दैन, व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथमा अघि बढ्नु जायज हुन्छ । कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ, त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, कुरा काट्नेहरूले तपाईंको छिद्र खोतल्ने प्रयास गर्नेछन् । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नुहुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ । प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
कुविचार, भ्रम, चिन्ता र शङ्का मँडारिने समय छ, त्यसैले लक्ष्यप्रति सचेत हुनुपर्छ, सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो होइन । जिम्मेबारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ, त्यसैले रामरौस र रोमान्टिक जीवनमा बाधा पुग्नेछ, सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला । मौजमस्ती, आनन्द र रामरमाइलोमा केन्द्रित भइदिंदा आर्थिक सङ्कट बढ्नसक्ने समय छ, दानपुण्यका क्षेत्रमा समेत केही रकम खर्च गर्नुपर्ने हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ । आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो । बौद्धिक सामर्थ्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन्, मित्रताका वा साझेदारीका लागि अनुकूल समय छ । तर आफूभित्रका आवेगलाई नियन्त्रण गर्दै अनुशासनको दायरालाई पालना गर्नु महत्त्वपूर्ण मानिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ । उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइने छ, सानो मिहिनेतले मानसम्मान बढ्नुका साथै ठूलाबडाको सद्भाव प्राप्त हुनेछ । प्रयास गरेमा आश मारेको काम अर्थात् नबन्ने काम पनि बनाउन सकिने छ । सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ । असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनेछ । आज कालीगढी, मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा राम्रो हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ, त्यस्तै स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलोसमेत हुनसक्छ । अत्यास लाग्ने दिन छ, आफ्नै वा परिवारको कुनै स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्न सक्छ । धार्मिक र रहस्यात्मक विषयमा रुचि जाग्नेछ । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
खेलवाड र मनोरञ्जनमा अलमलिएर सजिलै दिन बित्ने परिस्थिति छ, तर उज्ज्वल भविष्य र राम्रो रिजल्टका लागि अझ धेरै मिहिनेत गर्नुहोला । नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ । व्यस्त रहनुपर्ने समय छ, तर सहकर्मीको साथ पाउनाले दिन सजिलै बित्नेछ, मिहिनेतको परिणाम पनि राम्रै रहनेछ, बेलुकीपख रोमान्टिक र चञ्चल मनस्थिति बन्नसक्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर