काठमाडौं- नेपाली कांग्रेसकी नेत्री एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेत्री राणाले सानै उमेरमा हुने विवाह रोक्नका लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको हो ।
सभापति राणाले भन्नुभयो, ‘‘विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने छ । विवाह गर्नका लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरू आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने छ ।’’
उहाँले यसका लागि वडा तहदेखि कानुनी रूपमा नीति बनाउन आवश्यक रहेको बताउनु भयो । विवाह अगाडि सबै प्रक्रिया पुर्याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले अन्तर्राष्ट्रिय धेरै देशमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि भनाइ राख्नुभयो । सभापति राणाले बालविवाह, महिला हिंसा, बलात्कारजस्ता विकृतिहरू रोक्नका लागि कानुन नै एकमात्र विकल्प हुनसक्न भन्नुभयो ।
सभापति राणाले भन्नुभयो, ‘‘हाम्रो समाजमा विवाह दर्ता गर्ने प्रचलन छ । विवाह दर्ता गरेन भने कतिपय कुराहरू हामीले पाउँदैनौँ । विवाहका लागि लाइसेन्स लिने राम्रो हुन्छ । यो वडामा नै ल्याउन सकिन्छ । यो एउटा चलन किन सुरु नगर्ने त रु सन् २०३० सम्म जुन च्यालेन्स मिट गर्ने हो । यो गर्न सोसल इन्जिनियरिङले मात्रै पुग्दैन । लिगल केही कुरा ल्याउन सकियौँ भने हुन्छ । विवाह दर्ता गर्ने पहिला नै लाइसेन्स लिनुपर्यो । त्यो बेला नागरिकता हुनैपर्यो । यो भयो भने मायामा फसाएर विवाह गर्ने ट्राफिकिङ पनि रोकिन्छ ।’’
उहाँले नेपालका पहाडी जिल्लाहरूमा विद्यालय अध्ययनताका नै विद्यार्थीहरूले विवाह गर्ने गरेका छन् कम उमेरमा विवाह गर्नेहरूलाई आवश्यक अभिमुखीकरण दिनुपर्छ भन्नुभयो ।