Aamsanchar

पार्वताको चिया पसलमा रमाएकी पवित्रा

Author Image
बिहिवार, पौष २६, २०८०

२३ पुगेर २४ वर्ष हुन लाग्यो– यस शनिश्चरे चौकमा बसेको । अहिले चेतन सरको घरको सहारा छ । योभन्दा पहिल्यै दुई ठाउँ सरिसकेकी छु । हरकपुर छोडेपछिका दिनहरू कहिल्यै पनि सजिला थिएनन्, बरु कहरलाग्दा थिए । यसबीचमा निकै चुनौतिपूर्ण ढंगले उभिएको पहाड पल्टाउनसरह थियो ३ जना छोरीहरू सँगसँगै लिएर गरिखान । एकातिर माओवादी भएको आरोप र अर्कोतिर गृहस्थ सम्हाल्न नसकिने अवस्था ! भीरको चिण्डो उँभो र उँदोजस्तो थियो त्यो बखत । यसबेला एमाले नेता विनोद ढकाल र मोहनकुमार न्यौपानेले लगाएको गुण कहिल्यै बिर्सन सक्दिनँ । आइताकुमारी लिम्बु, राधा राईजस्ता साथीहरूको सहयोग पनि कम गुनिलो छैन । खलामा दाइँ गर्दागर्दै कम्युनिष्ट भएको र अमर गुरुङको घरमा नियमितजसो मिटिङ बैठकहरू हुने गरेको दृश्यचित्रहरू अहिले पनि मानसपटलमा ताजै छन् । विवाह उपरान्त महिला एक्लो हुँदा ब्यहोर्नुपरेको पीडा सम्झियो भने मुटुको घाउझैँ बल्झिन खोज्छ, चसक्क घोच्छ, घरिघरि दुख्छ । यस्तो नियति कसैको पनि नहोस्। हातमा चिया पकाउने भाँडो लिएर पार्वताको चिया पसलमा यतिबेला पवित्रा रमाएको देखिनुहुन्छ ।

पार्वता अर्थात् पवित्रा खतिवडा । वर्ष अन्दाज ४६/४७ । पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ र ४ को दोसाँधस्थित चियापसलको प्रोपराइटर । चियाका पारखीहरूको भेटघाटस्थल । गफसपको केन्द्रबिन्दु । कतिपय स्थानीय योजना निर्माणको कार्यस्थल । मानिसको दुःख बिसाउने चौतारी । भलाकुसारीको लागि मिलनबिन्दु ।
हरकपुरस्थित बाल माविमा कक्षा ८ चढ्दै गर्दा पवित्रा घरपरिवारमार्फत चिनजानकै व्यक्तित्व टेकनाथ घिमिरेसँग विवाहबन्धनमा बाँधिनुहुन्छ । १६ वर्ष नपुग्दै विवाहबन्धनमा बाँधिनु एउटा परीक्षा त थियो नै । औसत टाठीबाठी हुँदाहुँदै पनि परीक्षा उत्तीर्ण हुन उहाँलाई निकै धौधौ पर्छ ।

विवाहलगत्तै घरगृहस्थीको जग कसिलो बनाउने उद्देश्यका साथ हरकपुरबाट अहिलेको वडा नं. ४ अवस्थित मिलनचौक बसाइँसराई गर्नुभयो । माओवादी जनयुद्धमा सामेल भएको आरोपमा श्रीमान टेकनाथमाथि मानिसको हुने कुदृष्टि पवित्राका लागि असह्य हुन्थ्यो । सजिलो भएन मिलनचौकको बसाइँ । ३ वर्षपछि फेरि हरकपुर जानुभयो । तमासा त्यहाँ पनि कम थिएन, १ वर्ष बसेर फर्किनुभयो पथरी शनिश्चरे । माओवादीमा लागे वापत पाता कसेर सजाय दिने तहमा पुगेपछि टेकनाथ माओवादी होइन, एमाले कार्यकर्ता भनेर पुलिसको फन्दाबाट छुटाउन एमाले नेता विनोद ढकाल र मोहनकुमार न्यौपानेले लगाएको गुण निकै गर्विलो छ पवित्रालाई । अब अलिक ढुक्क भयो ।
ढुक्कसँग २०५७ साउन ४ गतेदेखि पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ स्थित शनिश्चरे चौक र आसपासका क्षेत्रमा व्यवसायरत् पवित्राको दिनचर्या कठोर संघर्ष र पछिल्ला समयमा पछ्यैटो सामाजिक यातनाले आकर्षित छ ।

अहिलेजस्तो ग्यासको प्रबन्ध पर्याप्त थिएन । चुल्हो बाल्न दाउरा नभए स्टोभ प्रयोग गरिनुपर्दथ्यो । मट्टितेल पनि अचम्मै महङ्गो, कहाँबाट स्टोभ बाल्न सम्भव हुन्थ्यो र ! फेरि आम्दानी रुपैयाँ र खर्च सवाँ रुपैयाँ पनि गर्नुभएको नि ! बिहानभरि दाउराको जोहो गर्नेदेखि लिएर मेलापातसमेत गर्न भ्याउने पवित्राले चियापसल सञ्चालनलाई व्यवसायको मूल आधार बनाउनुभयो । २०६१ माघ १२ गते श्रीमानले बहुविवाह गरेपछि पवित्राको जीवनमा एकखालको असह्य चोट दिने प्रहार भयो । काखमा बालख छोरीहरू छन् । तिनको एक्लो गार्जियन म । तिनलाई चटक्कै माया मार्न सकिन्न । अब के गर्ने ? कसो गर्ने ? मनमा धेरै थरीका कुरा नआएका होइनन् तर सम्हालिनुभयो र धैर्यतापूर्वक अग्रसरता लिनुभयो ।

पवित्राको जीवनमा क्रमशः चुनौति थपियो, दैनिकी बोझिलो भयो र कार्यव्यस्तता ह्वात्तै बढ्यो । एकातिर श्रीमानले आफूमाथि सौता ल्याइदिएको बखत थियो भने अर्कोतिर मानिसको छोइछिटोपूर्ण व्यवहार।।। घरिघरि त मन अमिलो हुन्थ्यो रे उहाँ अहिले पनि मसिनो ढंगले सम्झनुहुन्छ !
फेरिएको समयको प्रभावलाई सम्झँदै उहाँ भन्नुहुन्छ– माओवादी भएको आरोपले मुछिएका कारण गैरमाओवादी पसलमा ग्राहक नआउने, छोरा मानिस ग्राहक आउदा वरपरका मानिसले नानाथरिका लाञ्छना लगाइदिने, यदाकदा कोही आइहाले पनि घर गरिखान नसकेकी भनिदिने, बिनासित्तैमा बद्नाम गरिदिने, आफ्नै कानले प्रस्टैसँग सुन्नेगरि अश्लील गाली बोल्ने र अप्रिय लाग्ने आरोप–प्रत्यारोपको चाङ थोपरिदिनेसम्मको काम हुन्थ्यो ।

चियापसलकै भरमा तीन छोरीहरू कुसुम, करुणा र काजललाई हुर्काउन, पढाउन र बढाउन चानेचुने कुरा थिएन । जसोतसो आँट गर्नुभयो । अंशको हकस्वरुप उहाँले पाउनुभएको ३० हजारमा थपथाप केही गर्दै ग्रामीण विकास बैंकको सहयोगमा बजार क्षेत्रअन्तर्गत १० धुर जमिन लिनुभयो । घडेरी लिएपछि घर बनाउनुपर्ने आवश्यकता र हुटहुटीले सधैँभरि सतायो । नसताओस् पनि कसरी– कतिञ्जेल पोकापन्तुरा ओसारपसार गर्ने १ सामाजिक लाञ्छना सहेर बस्नुपर्ने आफू पनि एक्लो र छोरीहरू पनि हुर्कदै बढ्दै गएका ।

यसैबीचमा आइताकुमारी लिम्बू, राधा राई, निर्मला गदालको आँटबल, हौसला र साथ–सहयोग घर उभ्याउनुभयो । एसएलसीसम्म बोर्डिङ स्कुल मार्फत छोरीहरूको पढाइलेखाइ गराउँदै उच्च शिक्षार्जनको तहमा ल्याउन सक्नु एकजना आमाको लागि सजिलो पक्कै थिएन । २० किलोसम्म हुने दुधको चिया, अर्डर आए खाना र खाजाको लागि आममानिसको छनौटमा पर्दै गएको पार्वताको चियापसलले अहिले सागसब्जी र फलफूलको समेत सेवा दिइरहेको छ ।

हरकपुरछँदा भूमिगतकालीन एमाले नेता अमर गुरुङको घरमा दिनहुँजसो मिटिङ बैठक हुन्थ्यो । बुबा नबिराईकन त्यहाँ जानुहुन्थ्यो । कतिपय आगन्तुकले समेत हामीलाई सोधपुछ गर्दै त्यहाँ पुग्ने गर्नुहुन्थ्यो, कतिपयलाई त्यहाँ पुग्न हामीले सहजीकरण गरिदिन्थ्यौँ । हिउँदभरि खलामा हुने दाइँमा हल गोरुका पछिपछि लागेर हामीले ठूलाबडाको संगत पायौँ, तिनका गफगाफबाट कम्युनिष्ट बुझ्यौँ, एमाले चिन्यौँ । सामाजिक विभेद, काटमार, हिंसाप्रिय व्यवहार र अभिव्यक्ति हामीलाई सानैदेखि मन पर्दैन थियो । यति हुँदाहुँदै पनि कसैले हामीलाई एमाले होइन भन्दा चुल्होमा झोस्दै गरेको अगुल्टो लिएर झम्टन मन लाग्दथ्यो– अल्पहाँसो हाँस्दै पवित्रा पोखिनुहुन्छ ।

२०६२/०६३ को जनआन्दोलनताका चौकचौकमा हुने मानिसको जमघटसँगै चियापसल एउटा केन्द्र बन्यो । म स्थानीय नेतृत्वसँग नजिकिन पाएँ । अखिल नेपाल महिला संघमार्फत आवद्ध भएँ । लगत्तैपछि नेकपा (एमाले) को सङ्गठित सदस्यता लिएँ । कतिपय बेलामा चित्त बुझ्दैन, झोंकिन्छु । साथीहरू टाढा भएको ठान्नुहुन्छ । यस्तो केही पनि होइन । सामान्य पढालेखा गरेको मानिसको तहबाट बुझ्दा पनि सिद्धान्त, दर्शन, बिचार, नीति, नीतिगत मूल्यमान्यता र कार्यक्रमका हिसाबले पनि एमालेको विकल्प अरु कुनै राजनीतिक शक्ति हुन सक्दैन– पवित्राको बुझाइ पवित्र छ ।

भरखरै अघिमात्रै कान्छी छोरीको समेत विवाह कर्म र जिम्मेवारीमुक्त भएपछि उहाँलाई खुशी लागेको छ, मन चंगा भएको महसुस हुन्छ । मोरङ मेरिगोल्ड र मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल, उर्लाबारीलाई छोरीहरू पढाउने विषयमा सहयोगी बनिदिनु भएकोमा साधुवाद अर्पण गर्न हतारिनुहुन्छ अथक श्रमसिञ्चनको प्रेरणास्रोतपात्र पवित्रा ।
एक्लो हुनुको पीडामाथि कतिपय मानिसको नुनचुक नै आफूलाई यहाँसम्म आइपुग्नुभएको दह्रिलो प्रेरणा रहेको ठान्नुहुन्छ । छोरा नहुनुको दोषसमेत ममाथि थोपरियो । छोरीहरू मुख हेर्दै चित्तबुझाएर । धैर्यता ठूलो कुरा रहेछ, आँट र साहास बटुल्दै आएँ । अहिले म औसतमा सफल भएँ– हर्षानुभूतिका साथ पवित्रा पवित्रकर्ममा निर्विघ्न हुनुहुन्छ । दुई कार्यकाल शनिश्चरे सहकारी र एक कार्यकाल पार्टीको वडा तहको कमिटीमा बसेर काम गर्नुभएको उहाँलाई कामबाट बचेको समय सामाजिक काममा लगाउन खुबै मन छ ।

बिहानबिहानैदेखि पार्वताको चियापसलमा भेटिनुहुने पवित्रा अबेरसम्म चेतन पौडेलको घरमुनि छुनुमुनु गर्दै भविष्य नियालिरहनुभएको हुन्छ । छोरीहरू घर गरिखान गए । विवाहदान भयो । तथापि, मलाई भेट्न आइरहन्छन् । चासो र चिन्ता लिइरहेका हुन्छन् । वातसंवाद भइरहन्छ । छोरा हुनु नुहुनुको आभास भएको छैन, अभाव महशुस भएको छैन र यसकारण भिन्नपन विकास हुन पाएकै छैन । अब त नातिनातिनाहरू पनि भए । ज्वाइँहरू पनि असल, सफल र कुशाग्रमतिको हुनुहुन्छ । छोरी–ज्वाइँ र नातिनातिनाहरू बाक्लै आँउछन्, आमा भन्छन् । मन बुझाउँछु । तिनैसँग नजिकिन्छु, खेल्छु, भुल्छु र माया साटासाट गर्छु । जानेको कर्म यहीं हो, हात चलुन्जेल चिया पकाउछु, बनाउँछु र खुवाउँछु । यसबाट मेरो जीविकोपार्जन होला नै । ओछ्यानै लागेका दिन त छोरीहरू छन्, तिनले मेरो दुःखदर्द र कठोरकाललाई बुझेकाछन् । सम्हाल्नेछन् ।

राजनीतिक संगत, सामाजिक जीवन र परिवेश, सांस्कृतिक चेत र एक्लो जीवन निर्वाहका दृष्टिकोणले पार्वताको चियापसलकी पवित्राको जीवन प्रेरणास्पद छ । पवित्राले काटेका विरक्तिपूर्ण क्षण र व्यहोरेका अमिल्दा–असजिला क्षण कसैले ब्यहोर्नु नपरोस् ! धैर्यता, आँट, साहसले सबैको जीवनमा सार्थक सफलता ल्याओस् ! बाँच्ने आधारको रूपमा विकसित चियापसलकी पार्वता अर्थात् पवित्रा र पवित्राजस्ता धेरै पवित्र मन भएका छोरी, चेलीबेटी, दिदीबहिनी र आमाप्रति हार्दिक सम्मान ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर