राज्यका तीन वटै सरकारले सहकारीको प्रभावकारी नियमित र सहयोग गर्न नसक्दा सहकारी अभियान सोचे अनुसार अघि नबढेको उहाँको भनाई थियो । केन्द्रमा सहकारी दर्ता गर्ने र देशभर कार्यक्षेत्र दिने राज्यकै कारण अहिले सहकारी संस्थामा समस्या देखिएको कार्यकारी उपाध्यक्ष पोख्रेलले बताउनुभयो । सहकारी सदस्यहरूको श्रोत, बुद्धि, सदस्यको व्यवसाय र सदस्यको उत्पादनले चल्ने सहकारी अभियान चल्नुपर्ने भन्दै उहाँले सहकारीले सहकारीलाई बलियो बनाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो । सहकारीलाई सफल नभई असल बनाउनेतर्फ लाग्नुपर्छ भन्दै पोख्रेलले अव सहकारीलाई व्यवसाय प्रविधि, सेवा र सेवा गुणस्तर बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गौतमले सर्वोत्तम सहकारीले सहकारीका सबै सूचकको पालना गर्दै युवाहरूलाई समेटेर अघि बढेकोमा खुसी व्यक्त गर्नुभयो । देशको आर्थिक अवस्था नाजुक रहेको समयमा पनि सर्वोत्तम सहकारीले नवीनतम योजना र उत्पादनमुखी काममा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश गृह मन्त्रालय सहकारी शाखा प्रमुख कालिदास बस्यालले स्वाभिमानी र सक्षम समाज निर्माणका लागि सहकारी अभियानले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँले सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थालाई राज्यका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफू र आफ्नो मन्त्रालय तयार रहेको बताउनुभयो ।
बहुउद्देश्यीय सहकारी संघका जिल्ला अध्यक्ष कृष्णप्रसाद गौतम, सहकारी तथा रोजगार प्रवर्द्धन शाखा घोराही उपमहानगरपालिकाका प्रमुख प्रेम केसी, नेपाल पत्रकार महासंघ दाङका निवतमान अध्यक्ष सविन प्रियासन, संस्थाका सल्लाहकार कृष्णप्रसाद शर्मा, राष्ट्रिय सहकारी बैक लिमिटेड घोराहीका प्रमुख डिल्लिराज दाहाल, भानबहादुर खड्का लगायतकाले बोल्नु भएको थियो ।
कार्यक्रममा नियमित रुपमा बचत गर्ने शारदा रिजाल पौडेल, असल ऋण कारोबार गर्ने टेकबहादुर राम्जाली र सहकारी बजारबाट उत्कृष्ट कारोबार गर्ने भानबहादुर खड्कालाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा सहकारी बजारमा उत्कृष्ट कारोबार गर्ने १० जनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका सचिव हेमराज शर्माले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष गुरुप्रसाद खनालले आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण उपसमितिका संयोजक खिमराज खनालले लेखा उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष शालिकराम खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव हेमराज शर्माले गर्नु भएको थियो ।