विराटनगर । मुख्यमन्त्री केदार कार्कीले कोशीमा अनुसाशित चालक, सुरक्षित सडक अभियान शुक्रवार सुरु गरेका छन् । प्रदेश सरकारले मोरङ र झापाबाट ’अनुसाशीत चालक, सुरक्षित सडक’ अभियानको शुरूवात गरेको हो । मुख्यमन्तत्री कार्कीले विराटनगरस्थित रानी र नेमुवामा कार्यक्रम आयोजना गरी उक्त अभियान सुरू गरेका छन् ।

कोशी प्रदेशभरिका सवारी चालकहरुको लागुऔषध तथा मादक पदार्थ सेवनका साथै आखा जाँच अभियान सुरु गरिएको हो । ‘यो अभियानले नागरिकको जीवन बचाउ अभियानका रुपमा सुरु गरेका छौं,’ उनले भने, ‘बिना कारण सवारी दुर्घटनाबाट प्रदेशमा धेरैले अकालमा ज्यान गुमाईरहनुका साथै घाइतेको तथाङ्क पनि बढिरहेकाले सरकार गम्भीर भएर यो अभियान सुरू गरेको हो ।’

मुख्यमन्त्री कार्कीले सडकमा यात्रा गर्दा अनुसाशित भएर नियमको पालना गर्न प्रदेशवासीलाई आग्रह गरेका छन्। ’हामीले अस्पताल गएर उपचार गराउने भन्दा पनि अस्पताल नै जाने अवस्था कसरी अन्त्य गर्नु भन्ने तर्फ जानू पर्दछ,’ उनले भने ’लापसे र मापसेले ज्यान गुम्छ त्यसैले यसको नियन्त्रणका लागि हामीले नागरिकको ज्यान जोगाउने अभियान सुरु गरेका हौं ।’
लागू पदार्थ तथा मादक पदार्थ सेवन गरेको नगरेको जाँच गर्ने कीट हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्कीले चेक जाँच कार्य नियमित गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिएका छन । ‘कानुन दण्ड गर्ने माध्यम मात्रै होइन, यो अनुसाशन सिकाउने माध्यम पनि हो,’ उनले भने, ’हामीले कानुनलाई दण्डको रुपमा मात्र लिनु हुन्न, यसको पालना गर्न सकिएमा समाज सभ्य बन्छ ।’ नियममा बस्न सकिएनौं भने सरकारले कानूनी कारवाही गरेर नियम पालन गराउने मुख्यमन्त्री कार्कीले बताएका छन् ।



आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सडक, चालकका साथै नागरिकको सुरक्षाका लागि प्रदेशभरि सडक सुरक्षा अभियान सुरु गरेको उक्त मन्त्रालयका मन्त्री समशेर राईले बताएका छन् । कोशी प्रदेशमा दैनिक औसत ८ वटा दुर्घटनाको घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ । जसमा सरदर एक जनाले ज्यान गुमाउनुका साथै २ जना गम्भीर घाइते र १० जना सामान्य घाइते हुने गरेको ट्राफिक प्रहरीले जनाएको हो ।

