

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ पकडियाका सुकुमवासी मुसहर बस्तीका १० जनालाई एकसाथ नागरिकता प्रदान गरेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेका अनुसार बस्तीका १० जनालाई एकैसाथ नागरिकता प्रदान गरिएको छ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले कुरा गर्दै भने, ‘विपन्नता र अशिक्षाका कारण लामो समयदेखि उहाँहरू नागरिकताबाट वञ्चित हुनु भएको थियो।’

प्रजिअ पाण्डेका अनुसार सबभन्दा बढी ४८ वर्षको उमेरमा मोतीलाल सदाले नागरिकता पाएको बताए।
उनीसँगै बस्तीकै अनिताकुमारी सदा, इन्द्ररेखा सदा, विनिताकुमारी सदा, लरुवती देवी सदा, सरिता सदा, रामबाबु सदा, दीपेन्द्र सदालगायतले नागरिकता पाएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।
केही दिनअघि उक्त बस्तीमा नागरिकताविहीनका लागि मानव कल्याण समाज नेपालले आयोजना गरेको कार्यक्रममा प्रजिअ पाण्डे कार्यक्रममा पुगेका थिए। उनीहरूले लामो समयदेखि नागरिकता नपाएको गुनासो गर्दै आएका थिए। कार्यालयमा जाँदा पनि कागजी प्रक्रिया पूरा गर्न नसक्दा नागरिकताबाट वञ्चित रहेको गुनासोपछि कार्यालयमै बोलाएर उनीहरूलाई नागरिकता प्रदान गरेको प्रजिअ पाण्डेले बताए।
प्रजिअ पाण्डेले भन्ने थप ७ जनालाई कानुनी प्रक्रिया पूरा गरी छिटै नागरिकता प्रदान गरिने बताए।

