आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमिल्सिना र आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गर्नुभयो । सो अवसरमा समावेशी आयोगका अध्यक्ष तिमिल्सिनाले समावेशीतालाई हेर्ने दृष्टिकोण बदल्नुपर्नेमा जोड दिँदै समावेशीता सामुदायिक प्रतिनिधित्व मात्रै नभई समुदायभित्रका भौगोलिक र वैचारिक प्रतिनिधित्व पनि हो भन्नुभयो । “विविधतायुक्त समावेशीतालाई अगाडि बढाउनुपर्छ, यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीति आवश्यक छ”, उहाँले भन्नुभयो ।
आदिवासी जनजाति आयोगका अध्यक्ष थापाले नीति निर्माण र कार्यान्वयन तहमा समावेशीकरण नहुँदा त्यसको प्रभाव राज्यका सबै निकाय र सञ्चार माध्यममा पनि परेको बताउनुभयो । समावेशी लोकतन्त्रको पाटो उल्टो बाटोमा जान लागेको महसुस भइरहेको उल्लेख गर्दै उहाँले लोकतन्त्रको समावेशीकरणमा सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो । पुस्तकमाथि टिप्पणी गर्दै राष्ट्रिय समाचार समिति ९रासस० का कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले नेपाली समाज विविधतायुक्त भए पनि सञ्चारमाध्यममा विविधता पाउन नसकिएको यथार्थ पुस्तकले दर्शाएको बताउनुभयो । “सञ्चार माध्यमले समाजको चित्र ग्रहण गर्न सकेका छैनन्, मिडियो सबल नहुँदा लोकतन्त्र नै सुदृढ हुन नसकेको विषयलाई पुस्तकमा प्रष्टसँग देखाइएको छ”, उहाँले भन्नुभयो ।
त्यस्तै, अर्का टिप्पणीकार एवं पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले मिडियाको विषयवस्तु कुनै एक जातिको वरपर घुमेको, समाचार कक्ष तथा सञ्चार संस्था समावेशी हुन सकेका छैनन् भन्ने तथ्य पुस्तकले देखाएको बताउनुभयो । पुस्तकका लेखक सापकोटाले पुस्तकमा सञ्चार माध्यम, सञ्चार संस्था, पत्रकारका पेसागत सङ्घसङ्गठन, संवैधानिक तथा कानुनी आयोग, सञ्चारमाध्यममा प्रकाशन–प्रसारण भएका सामग्री, सञ्चारमाध्यममा सहभागिताको अवस्थाको परिमाणात्मक विधिबाट अध्ययन गरिएको जानकारी दिनुभयो ।