Aamsanchar

शीत भण्डारमा राखेका ५६ लाख ७० हजारकाे सुन्तला कुहिएर नष्ट, कृषक चिन्तित

Author Image
आइतवार, माघ १४, २०८०

अर्घाखाँची – अर्घाखाँचीको पाणिनिमा शीत भण्डारमा राखेका सुन्तलाहरू कुहिएर नष्ट भएपछि कृषकहरू चिन्तित बनेका छन्।

पाणिनि गाउँपालिका-२ पोखराथोकमा रहेको शिवशक्ति शीत भण्डारमा पणेनाको सिम्ले र पोखराथोकका कृषकले राखेको ९० मेट्रिक टन मध्ये ६३ मेट्रिक टन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको कृषक खगेन्द्र पौडेलले बताएका छन्।

शीत भण्डारणमा राखेका ६३ मेट्रिक टन सुन्तला कुहिएपछि ९० रुपैयाँप्रति केजीमा सुन्तलको हिसाब गरेपनि कृषकहरूले झण्डै ५६ लाख ७० हजार रुपैयाँ घाटा व्यहोर्नुपरेको छ। कृषकहरू मानबहादुर श्रेष्ठ, चिरञ्जिवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीत भण्डारणमा स्थानीय स्तरमा उत्पादन भएको ४५ सय क्यारेट अर्थात् ९० टन सुन्तला राखेका थिए।

शीत भण्डारणमा राखेपछि बेमौषमी समयमा महँगो बिक्री गर्ने उद्देश्यले राखेका सुन्तलामा ढुसी लागेपछि आफूहरूलाई ठूलो घाटा परेको कृषकको भनाइ छ। अघिल्ला दुई वर्षमा पनि यस्तै कुहिएर नोक्सान भएका थिए। यस वर्ष लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मंसिरमा विज्ञ प्राविधिक ल्याएर कृषकलाई गाउँमै कोल्डस्टोरमा सुन्तला राख्ने तरिका सिकाएको थियो। सिकाएअनुसार सुन्तला भण्डारण गर्दापनि कुहिएर नष्ट भएको कृषकको भनाइ छ।

सुन्तला कसरी र किन कुहियो भनेर आज आइतवार नेपाल कृषि अनुसन्धान परिषदका वैज्ञानिक उमेश आचार्यको टोली र कृषि विकास निर्देशनालयको टोलीले स्थलगतरूपमा अवलोकन गरी सुन्तला कुहिएको बारेमा जानकारी लिन सुरु गरेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताए।

वैज्ञानिकको टोलीले अनुगमनग गरेको ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख घिमिरेले भने सबै रिपोर्ट दुई तीन दिनमा आउला। प्रारम्भिक जानकारीअनुसार सुन्तलाको ट्रिटमेन्ट राम्रोसँग नभएको देखिएको छ।

अघिल्ला दुई वर्षमा केही मात्रामा कुहिए पनि यसपटक एकैसाथ नष्ट भएको हो। यसरी वर्षेनि सुन्तलामा बिग्रँदा किसान चिन्तित भएका छन्। लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा पाणिनि गाउँपालिकाले तीन वर्ष अघि ३ सय मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण गरेको थियो। कोल्डस्टोर सिम्लेका सुन्तला कृषकको शिवशक्ति मिश्रित कृषक समूहले सञ्चालन गरेको छ।

Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर