दाङ – जिल्लाको शान्तिनगर-१ बाघखोरका बलबहादुर वलीले रातको समय अग्लो ठाउँबाट दक्षिणतर्फ हेर्दा बत्ती बेलेको झलमल देख्छन्। उनलाई पनि आफ्ना गाउँमा बत्ती बेलेको देख्न मन छ।
उमेरले ६ दशक बढी भएका वलीलाई मर्नुभन्दा अगाडि गाउँमा बत्ती बलेको हेर्न ठूलो धोको छ।
तर, गाउँमा विद्युत् नआउँदा त्यो धोको अहिलेसम्म पूरा भएको छैन। उनलाई मर्नुभन्दा पहिले विद्युत् बालेको हेर्ने ठूलो धोको रहेको छ।
उनले भने,‘उमेर गइसकेको छ, तर, मलाई गाउँमा एकरदुई वर्ष भए पनि बत्ती बलेको देख्न मन छ।’
सबै कुराले विकट मानिने ठाउँमा पहिलाको तुलनामा केही विकास भएयता पनि त्यो पूर्ण रुपमा नभएको उनको भनाइ छ।
उनले भने,‘ हामी दाङ जिल्लाका नागरिक हौँ, तर यहाँ एकदमैम विकट ठाउँ भएको हुँदा निकै दुर्गम जिल्लाका नागरिक जस्तो अनुभव हुन्छ। पहाडी क्षेत्रमा पर्ने यो ठाउँबाट वडा कार्यालय जानसमेत हामीलाई २ र ३ घण्टा समय लाग्छ।’
उनका अनुसार राम्रो सडक नहुनु, अहिलेसम्म विद्युत् नपुग्नु, खानेपानी, स्वास्थ्य लगायतको समस्या रहेको छ। यस्तै, उनले अहिले गाउँमा विद्युतको पोलहरू गाड्न थालेको भए तापनि विद्युत् आउने टुंगो नभएको समेत बताए।
यस्तै, स्थानीय विपना वलीलाई पनि गाउँमा अहिले विद्युतको पोल गाडेको देख्दा विद्युत् आउने आशा रहेको छ। तर, त्यो आस कहिले पूरा हुन्छ,भन्ने थाहा छैन।
उनले भनिन्,‘हामीले स्थानीय तहमा दुईपटक भोट हालेका छौँ। नेताहरू भोट माग्न आउँदा यहाँको समस्या सम्बोधन गर्न वाचा गर्नुहुन्छ, तर, जितेपछि हेर्नुहुँदैन। तर, यसपटक गाउँपालिका अध्यक्ष लाग्नु भएको छ। विद्युत आउँछ, भन्ने आशा पलाएको छ।’
उनका अनुसार अहिले आफूहरूले सोलार बाल्दै आएको र बाउँ बाजेहरूलाई अन्धकारमा नै जीवन बिताएका थिए। अहिले यत्रतत्र फालिएका पोलहरू गाड्न सुरू भएपछि आश पलाएको उनको भनाइ छ।
अर्का स्थानीय ६३ वर्षीय बेलधर वली बाघखोरमा बस्ने लागेको ३६ वर्ष बढी भयो। पहिलेको तुलनामा भन्दा केही विकास भएपनि जति हुनु पर्ने होरु त्यति नभएको उनको गुनासो रहेको छ। २०७४ सालमा निर्वाचित जनप्रतिनिधिले खासै काम नगरेको भन्दै अहिले निर्वाचित भएकाले काम गर्ने आश पलाएको समेत उनले बताए।
उनले भने,‘पहिला सडकको पनि व्यवस्था थिएनकी, हामी यहाँबाट हिँडेर नै कुनै काम परेमा तुलसीपुर बजार जान्थ्यौँ। तर, अहिले जसोतसो जिप चल्ने सडक बनेको छ। अब हामीलाई सडक राम्रो भए र गाउँमा विद्युत, खानेपानी आए राम्रो हुन्थ्यो।’
यस्तै, गत भदौ महिनादेखि गाउँमा विद्युतका पोल गाड्न थालेपछि अब विद्युत् आउने आशा पलाएको समेत उनको भनाइ छ।
विद्युत् विद्यार्थीहरूलाई पनि समस्या
विद्यालयमा कम्प्युटर शिक्षा भएयता पनि विद्युत् नहुँदा किताबबाट मात्र पढाइ हुने पेदीखोलामा रहेको राप्ती माविकी प्रधानध्यापक टीका केसीले बताइन्।
अहिलेसम्म विद्युत नहुँदा विद्यालयका विद्यार्थीहरूले कम्प्युटर देख्न नपाएको भन्दै किताबबाट पढाउँदै आएको उनले बताइन्।
उनले भनिन्,‘विकटमा रहेको विद्यालयमा धेरै समस्याहरू रहेका छन्। तर, हामीले हाम्रा विद्यार्थीहरूलाई कम्प्युटरबाट पढाउन पाएका छैनौँ। गाउँपालिकाले दिएको एउटा ल्यापटपबाट हामीले सामान्य काम गर्दै आएका छौँ।’
यसै वर्ष बिजुली बाल्ने तयारी छ : अध्यक्ष बस्नेत
शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतका अनुसार विद्युतको काम पहिले नै हुनुपर्ने हो। तर, आफूहरू निर्वाचित भएर आएपछि त्यहाँ विद्युत् लैजाने बारेमा बुझ्दै जाँदा दुईवटा ठेकेदारले जिम्मा लिएको र काम नगरेको भेटाएपछि कालो सूचीमा राखेर अहिले काम भइरहेको बताए ।
भलानेटीदेखि पेदी खोलासम्म बब्लु भन्ने ठेकेदारले जिम्मा लिएको र लामो समयदेखि काम अलपत्र पारेको थाहा पाएपछि कालो सूचीमा राख्ने भनेपछि अहिले आएर काम गरिरहेको उनको भनाइ छ।
यस्तै, पेदीखोलादेखि कालापोखरा, सालघारी, बाघखोर लगायत ठाउँमा अर्को ठेकेदारले जिम्मा लिएको र त्यहाँ पनि काम अलपत्र पारेको हुँदा कालो सूचीमा राख्ने भनेपछि विद्युतको काम भइरहेको उनले बताए।
छिटोभन्दा छिटो पुर्याउनको लागि आफूले ताकेता गर्दै आएको र यसै वर्ष पुर्याउने लक्ष्य रहेको उनको भनाइ छ।
उनका अनुसार गाउँपालिका भूगोलका हिसाबले दुई भागमा विभाजन रहेको छ। तल्लो भाग समतल र माथिल्लो भाग पहाडी विकट क्षेत्र रहेको छ। जसमा वडा-१ देखि ३ सम्म रहेको छ।
वडा-३ को धेरै भागमा विद्युत नपुगेको अवस्था रहेको भन्दै उनले आफू निर्वाचित भएर आएपछि धेरै प्रयास र पहल गर्दा अहिले विद्युत पुगेको समेत बताए।
यस्तै, अहिले गाउँपालिकाका १ र २ को केही स्थानमा विद्युत नपुगेको भन्दै त्यसका लागि आफू लागि रहेको समेत बताए।