विघ्नेश्वराय वरदाय सुरप्रियाय, लम्बोदराय सकलाय जगद्विताय
नागाननाय श्रुतियज्ञविभुषिताय, गौरीसुताय गणनाथ नमो नमस्ते
विघ्नेश्वर, वर दिनेवाला, देवताहरूको पनि प्रिय, लम्बोदर, कलाहरूले परिपूर्ण, जगतको हित गर्ने वाला, हात्तीको समान मुख भएका र वेद तथा यज्ञबाट सुशोभित यस्ता पार्वती पुत्रलाई नमस्कार छ । हे गणनाथ, हजुरलाई कोटी कोटी नमस्कार छ ।
हिन्दु संस्कारमा मानिसहरूले कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर कामको थालनी गर्नुभन्दा पहिले भगवान् श्री गणेशको आराधना र स्मरण गर्छन् । भगवान् श्री गणेशलाई मङ्गल कारक देवताका रूपमा पूजा गर्ने चलन पनि छ ।
मङ्गल चौथी किन भनिन्छ ?
आज मङ्गलवारलाई भगवान् गणेशको दिनको रूपमा मान्ने चलन पनि छ । भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ । मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरूले आजकै शुभ दिनबाट व्रत प्रारम्भ गर्छन् ।
भगवान् गणेश शुभ फल प्रदान गर्ने देवताको रूपमा चिनिनुहुन्छ । आजको दिन श्रद्धापूर्वक गणेशको व्रत लिनाले गणेश भगवान् प्रसन्न भएर व्रतालुहरूलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता छ । यदि तपाईंहरुलाई पनि कुनै नयाँ कार्यको सुरुवात वा श्रीगणेश गर्नु छ भने आजको दिन अति शुभ मानिन्छ ।