Aamsanchar

जय श्री हरि । आजको राशिफल । ३ फागुन २०८०, बिहिवार

Author Image
बिहिवार, फागुन ३, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्न सक्छ । निर्णयात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ । रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज त्यस्तो व्यक्तिसँग भेट हुनसक्छ, जससँग बाँकी जीवन बिताउन सजिलो हुनेछ । आत्मविश्वासमा कमी आउनसक्छ, हरेक क्रियाकलापमा संयमता र हिम्मतको खाँचो हुनेछ । जुवा वा सट्टाबाजीमा धन लगानी गर्नु हानिकारक बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
सरकारी ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिन्छ । जिम्मेबारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् । आज परदेशमा रहेका आफन्तजन वा बिछोडिएका पुराना सँगीसाथीसँग पुनर्मिलन हुने समय हो । आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
सङ्घर्ष नै जीवनको अर्को नाम हो भन्ने ठानी अघि बढ्दा महत्त्वाकाङ्क्षा पूरा गर्नुका साथै करियरमा परिवर्तन ल्याउन सक्नुहुन्छ । प्रयास गर्दा सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पुरस्कार प्राप्त गर्ने ग्रहयोग बनेको छ, त्यसैले आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो, प्रतिस्पर्द्धीसमेत सहयोग माग्दै तपाईंसामु आउनसक्छन् । व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो, निजी काममा खट्नुपर्दा अधिकांश समय बित्नसक्छ, पार्टनरको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव व्यहोर्नुपर्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
कार्य पद्धतिमा सुधार हुनेछ, सामाजिक संस्थामा कार्यरत हुनुहुन्छ भने विशेष सफलता पाउन सक्नुहुन्छ, सिनियर्सको मुखबाट प्रशंसा सुन्न पाइने छ । व्यापारबट्टा र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ, नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ । धार्मिक÷सामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
सहयोगीको साथ पाइँदैन, एैनमौकामा बन्नै लागेको काम पनि बिग्रनसक्छ, उता शरीरमा पनि कमजोरी देखिने छ, तथापि कारोबारमा आफैं खटेको जाती हुन्छ । अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ, सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ । गोपनीय र रहस्यात्मक विषयको जानकारी बटुल्ने दिन हो, तर आज बारम्बार नकारात्मक धारणामात्र आइरहने छ, कसैको असम्भव आशामा वा बहकाउमा नफँस्नु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । लामो समयपछि एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पनि पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला । भइपरि आउने काममा खर्च बढ्ने दिन हो । स्वार्थ पूरा गर्न जोखिम मोल्ने काम नगर्नु होला, नत्र झञ्झटमा पर्न सकिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
पारिवारिक वातावरण सुखशान्तिले भरिपूर्ण देखिन्छ, पतिपत्नीका बीचमा उचित तालमेल कायम हुनेछ । यद्यपि एकअर्काको भावनाको कदर गर्नु समुचित हुनेछ । एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, त्यसैले परिश्रम र आरामको सन्तुलनमा ध्यान दिई पठनपाठनमा जुट्नुपर्छ, बहस वा तर्कवितर्कमा विजयी भइने छ । प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पर्द्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
पढाइप्रति दिलचस्पी जाग्नेछ, रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ । अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन् । तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने र लाभ पाउने समय हो, जुनियर स्टाफ वा छोराछोरीका माध्यमबाट पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
इच्छानुसार आत्मीयजनसँग कुराकानी हुनसक्छ, तर घरायसी परिबन्दले भेटघाटको अनुकूलता नमिल्नाले मन एकतमासको हुने र भावुक बन्ने दिन हो । साथीभाइको क्रियाकलाप र व्यवहार देखेर चिन्ता बढ्न सक्छ । पारिवारिक दायित्वको बोध हुनेछ, घरायसी समस्याका बारेमा जानकारी लिएको जाती हुन्छ । कारोबारलाई नयाँ गति दिने प्रयत्न हुनेछ । आशाका पछि लाग्नु स्वाभाविक हो, तर पनि आज कसैको आश्वासन वा लोभमा भुलिनु हुँदैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
इष्टमित्र र नातेदारसँग भेटघाट हुनेछ, पार्टनरले आफूलाई कति ब्याकअप गर्छ भन्ने थाहा पाउँदा एउटा नौलो अनुभूति र रोमाञ्चकता देखापर्ने दिन हो । नयाँ ठाउँ, रमणीय वातावरण र नयाँ मित्रको सङ्गत र संसर्ग हुने समय हो । मनमस्तिष्क धर्म, अध्यात्म र परोपकारप्रति केन्द्रित हुनसक्छ । कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
बोलीमा विशेष बल छ, मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइने छ । सानो प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो । आनन्द र प्रसन्नताका साथमा नै नियमित काम सम्पन्न हुनेछन्, आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन सञ्चित गर्न सकिने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर