Aamsanchar

आजको राशिफल । ६ फागुन २०८०,आइतवार

Author Image
आइतवार, फागुन ६, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, कुरा काट्नेहरूले तपाईंको छिद्र खोतल्ने प्रयास गर्नेछन् । कामबाट फाइदा हुनेछ, रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन्, तर नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ । सुखसुविधा बृद्धिका लागि विभिन्न सामाग्रीको किनमेल गरिने र खर्च बढ्ने दिन हो, तर खर्च बढे पनि मानसिकतामा यसको कुनै प्रभाव पर्नेछैन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
अरुले के गर्दैछन् र के सोच्दैछन् भन्ने चिन्ता गर्ने होइन, बरु आफ्नो कहाँ कमजोरी छ पत्ता लगाएर अघि बढ्ने समय हो । आत्मबल बढ्ने छ, नयाँ ज्ञान प्राप्त गर्ने वा विगतको सिकाइ अनुभवको प्रयोग गरी अघि बढ्ने समय हो । धन वा प्रतिष्ठाको बृद्धिका लागि चालेका हरेक प्रयास सफल हुनेछन् । आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । त्यस्तै घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यानकेन्द्रित हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोला, नत्र आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन हो । मौजमस्ती, आनन्द र रामरमाइलोमा केन्द्रित भइदिंदा आर्थिक सङ्कट बढ्नसक्ने समय छ, दानपुण्यका क्षेत्रमा समेत केही रकम खर्च गर्नुपर्ने हुन्छ । आम्दानीमा उतारचढाव आउने दिन हो, सामान्य मानेको लापरवाहीले समेत दण्ड÷जरिवानामा पर्न सकिन्छ, जतिसक्दो आफ्नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाती हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूर्ण विषयमा लाभ लिन सकिने छ । दाजुभाइ र बन्धुबान्धवका बीचमा उन्नति÷प्रगतिको चर्चा हुनेछ, तपाईंको परिश्रमको प्रशंसा हुने वा कमजोरीको विश्लेषण गर्दै सुझाव प्राप्त हुने समय छ । बौद्धिक सामर्थ्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन्, मित्रताका वा साझेदारीका लागि अनुकूल समय छ । तर आफूभित्रका आवेगलाई नियन्त्रण गर्दै अनुशासनको दायरालाई पालना गर्नु महत्त्वपूर्ण मानिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
उच्चपदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, कुनै पुरस्कार वा सम्मान पाउन सक्नुहुन्छ अथवा कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्छ । व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो, पार्टनरका तर्फबाट पनि कुनै खुसी हुने कुरा सुन्न पाइने छ र प्रसन्नता बढ्नेछ । दाजुभाइ, बन्धुबान्धव वा ससुराली पक्षमा सम्पर्क गरी खबर आदान÷प्रदान गर्ने दिन हो, कार्यक्षेत्रमा पनि सहकार्य र रामरमाइलो गर्ने अवसर मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ । इज्जत र प्रतिष्ठालाई दाउमा राखेर काम नगर्नुहोला, जीवनमा पैसा नै सबथोक होइन, आफ्नो कर्तव्य र स्वास्थ्यका बारेमा पनि ध्यानकेन्द्रित गर्नुपर्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
परीक्षा र प्रतिस्पर्द्धामा सामेल हुने हो भने गोपनीयतामा जोड दिनुहोला, अनि एक्लै वा एकान्तमा बसेर तैयारी गरेको राम्रो हुन्छ । आवेग र रिसरागमा नियन्त्रण राखी खासगरी ड्राइभिङका क्रममा घुम्ती र मोडमा सावधानी अपनाउनु होला । आजको दिन आफूले गल्ती नगरे पनि अरुको लापरवाहीको सजाय व्यहोर्नुपर्ने समय छ । महत्त्वपूर्ण काम छ भने आफ्नै उपस्थितिमा मात्र गर्नुहोला, त्यस्तै सहीछाप गर्दा कागजपत्र पढेरमात्र गर्नुहोला, नत्र अप्ठ्यारो र झञ्झटमा पर्न सकिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
जीवनसाथी वा प्रेयसीसँग लामो कुराकानी वा सम्बन्ध÷सम्पर्क हुने दिन हो, उता आयका दृष्टिले पनि थप धनार्जन गर्न सकिने समय छ । मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । रूपसौन्दर्य र गहनागुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्य÷अभिनय वा कला र साहित्यका विषयमा रुचि जाग्ने समय हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ, खिसीट्युरी गर्नेसित सतर्क रहनुपर्छ, नत्र ठूलो कलहको वातावरण बन्नसक्छ । पढाइमा परिश्रम गरे अनुसार प्रतिफल पाइनेछ । सिर्जनात्मक क्रियाकलापमा समेत संलग्न भइने छ, साहसी वा पराक्रमी काममा पनि मन जानसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता मिल्नेछ । बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गरी सफलता कमाउने दिन हो, समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ । मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
मानसिक अस्थिरताको समय हो, मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुनसक्छ, असाध्यै दौडधूप गर्नुपर्ने समय छ, सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अतः महँगा चिजबीजको प्रयोग गर्दा सावधान रहनुहोला । कार्यालयीय काममा खासै परिश्रम गर्नु पर्दैन, तर आज घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ । घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ, त्यस्तै पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन छ । विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय हो, नजानेको कुनै कुरा छ भने दाजु÷दिदी वा गुरु÷गुरुआमाको सहायता लिंदा लाभ पाइने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 245

प्रतिक्रिया (०)

सम्बन्धित खबर