Aamsanchar

आजको राशिफल । ७ फागुन २०८०, सोमवार

Author Image
सोमवार, फागुन ७, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
धनधान्य र प्रतिष्ठाका दृष्टिले राम्रो दिन छ, साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ वा कुनै यात्रामा सँगै निस्कँदै हुनुहुन्छ भने साझेदारलाई आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला । आन्तरिक समस्याका कारण वा फाँटको कामविशेषले सहकर्मी वा जुनियर स्टाफसँग विचार÷विमर्श हुने वा कुनै कार्यक्रममा सहभागी भई रामरमाइलो गर्ने दिन हो । साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
घरमा सम्पर्क राखी व्यवहारिक जानकारी प्राप्त गर्ने समय हो । परिवारभित्रका सानातिना समस्या सुन्दा दिक्क लाग्ने र एक आपसमा मनोमालिन्य बढ्ने समय देखिन्छ । कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ तपाईंको व्यवसाय बढाउने उत्तम तरिका बन्नसक्छ । मानिसहरूको नकारात्मक प्रतिक्रियालाई बेवास्ता गर्दै आफ्नो कर्ममा ध्यान दिने समय हो । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नुहुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ । महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्ने दिन हो । अल्छीपन बढ्न सक्छ, तर याद गर्नुहोला, कल्पना गरेरमात्र केही पनि हुँदैन, प्रतिफल प्राप्त गर्न मज्जाले खट्नुपर्ने हुन्छ । लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ, मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै पक्षमा बढोत्तरी हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुरा नबताउनु होला, नत्र बेकारको अफवाह फैलने डर हुन्छ । रिस र घमण्डको कुचक्रमा फँस्ने दिन हो । आत्मसंयम बन्ने प्रयास गर्नुहोला, नत्र परिस्थिति अझ जटिल बन्नसक्छ । कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन, सहयोगीमाथि पनि पूर्ण भरोसा गर्ने दिन छैन, नत्र आकस्मिक रूपमा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ । बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्रवर्गको साथ जुटाउनसके महत्त्वपूर्ण उपलब्धि लिन सकिने छ । ज्ञान र अनुभूतिमा बृद्धि हुनेछ । अड्डा–अदालतमा अड्किएको कुनै काम गर्न अनुकूल समय छ, त्यस्तै कुनै बाँकीबक्यौता रकमको कारोबार मिलाउनु छ भने पनि आजको प्रयास फलदायी हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
मिहिनेत गर्नुपर्ने दिन हो, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ । प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ । इच्छाएको फाँट वा कार्यालयको जिम्मेवारी प्राप्त हुने दिन हो, कामप्रतिको अभिरुचिका कारण छोटो समयमा कार्यसम्पादन गरी प्रशंसा बटुल्न सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
आम्दानीको मार्ग बढ्नेछ र आयका नयाँनयाँ स्रोतहरू प्राप्त हुनेछन् । यद्यपि खर्च पनि बढ्नेछ, तर आम्दानीका तुलनामा बढी खर्च हुनेछैन । हाँके÷ताकेको लक्ष्यमा पुग्न सफल भइने छ, नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ । कुनै पारम्परिक वा सामाजिक क्रियाकलापमा संलग्नता जनाउने राम्रो दिन छ, तर योजना अनुरूप आफ्ना नियमित कामधन्दामा केही बाधा उत्पन्न हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
दिकदारी र चिडचिडेपन बढ्ने समय हो । शरीरमा थकान र अस्वस्थता देखिए पनि कामबाट फुत्कने र आराम गर्ने अनुकूलता मिल्दैन, तर मनले नमानेको कामकुराबाट टाढा नै रहेको जाती हुन्छ । असहजता बीचमा कामको चाप बढ्ने दिन हो, स्वभावगत कमजोरी वा उदार मनोवृत्तिको प्रयोग गरी अरुले नाजायज फाइदा उठाउन सक्छन् । मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको गुनासो बढ्ने गर्दछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
भावनामा वहने समय छ, बिर्सने बानीले पनि कतिपय काममा बिलम्ब हुनसक्छ, कामप्रतिको लगावमा कमी आउनाले वरिष्ठ कर्मचारी रिसाउन सक्छन् । इच्छाअनुरूप एकान्तमा बस्न पाउने अवसर मिल्नेछ, यस अवसरमा मनमा जरो गाडेर बसेको कुनै कुरा छ भने साथीलाई बताउनु होला । सहकर्मी साथी वा सहयोगीसित झैझगडा हुने दिन हो, बल प्रदर्शन गर्नु हुँदैन, नत्र सानोतिनो चोटपटक नै लाग्नसक्ने परिस्थिति छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
चुनौतीका माझ मोटो रकम हातलागी हुने दिन हो, रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ । अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ । आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो, आजको दिनअध्ययनप्रति मात्र होइन, स्वास्थ्यस्थिति एवं आहार÷विहारप्रति पनि ध्यान दिनु ठीक हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
पुस्तक, शिक्षाक्षेत्र, छापाखाना, कन्सल्टेन्सी र वस्त्राभूषणको कारोबारबाट लाभ लिने दिन हो, केही धनरकम छोराछोरी र भाइबहिनीका लागि खर्च गर्नुपर्ने हुन्छ । पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । आन्तरिक प्रतिभाको प्रस्फूटन हुने राम्रो दिन छ, कला र साहित्यप्रति झुकाव छ भने फुरेको विषयवस्तु टिपोट गर्नुहोला, भविष्यमा काम लाग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
आत्मविश्वासमा बृद्धि हुनेछ तर कामको चाप बढ्ने समय हो, तथापि साथीभाइको सहयोग लिएर काम गरेमा सबै काम पूरा गर्न सकिने छ । विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । घरिघरि मानसिक उल्झन र तनावबाट ग्रसित रहनु पर्नेछ । सुखसुविधा, भोगविलास र सँगीसाथीहरूसँग भुलिनाले गर्नैपर्ने कुनै काममा अवरोध हुनसक्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर