
कनकाई। ११४औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा यहाँका तीन जना जेष्ठ माता, दुई जना महिला उद्यमी, एक महिला समूह र एक जना शिक्षासेवीलाई सम्मान गरेको हो। कार्यक्रममा जेष्ठ माताहरू पुण्यकुमारी पौडेल, मनमाया राय र नरमाया उप्रेतीलाई दोसल्ला र नगदसहित सम्मान गरिएको हो ।

त्यसैगरी पूर्व शिक्षिका मनकुमारी चुडाल, महिला उद्यमीद्वय मनिता चेम्जोङ अम्बिका कुइँकेल र मखमली महिला समूहलाई सम्मान गरिएको छ । उनीहरुलाई प्रमुख अतिथि संविधानसभा सदस्य सुशीला कन्दङ्वा, वडाध्यक्ष भीष्म भुसाल सिटौला लगायतका अतिथिहरुले सम्मान गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कन्दङ्वाले महिला हकहितका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले महिलालाई संविधानले अधिकार दिए पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष अनिरुद्र चापागाईं, संघीय लोकतान्त्रिक मञ्चका महेन्द्र कन्दङ, ज्येष्ठ नागरिक संघका अध्यक्ष हरिप्रसाद सिवाकोटी, नगरस्तरीय बाल क्लबका अध्यक्ष अश्लेषा कडेल, सीता ओली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।




कार्यक्रममा नेपाली कांग्रेस वडा सभापति ईश्वरीप्रसाद शिवाकोटी, नेकपा एमाले वडाध्यक्ष लीलाबहादुर कन्दङ्वा, राप्रपाका डिल्लीराम पोखरेल, नेपाल दलित उत्थान सञ्जालका कविता ल्वागुन, वडा सदस्य निर्मल आङ्थुपो, वडा सदस्य भगन टुडू सातार लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा विभिन्न भजन–कीर्तन समूहले भजन, नारी सम्बन्धी गीत, बालबालिकाहरुले सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए । वडा सदस्य सावित्रा कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव तुलसा थापाले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वडा सदस्य अरुणा सुब्बाले गर्नुभएको थियो ।

