Aamsanchar

प्रहरीलाई गृहमन्त्री रवि लामिछानेकाे निर्देशन : हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्नु

Author Image
आइतवार, फागुन २७, २०८०

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। उनले अनुहार, पद, प्रतिष्ठा हेरेर नभई प्रमाणका आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारबाही अघि बढाउन पनि प्रहरीलाई आग्रह गरे।

नेपाल प्रहरी प्रधान कार्यालयको आज निरीक्षण भ्रमणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कुनै घटनाका प्रतिवादी आदेशका आधारमा नभई प्रमाणका आधारमा बनाउन पनि उनले निर्देशन दिए।

गृहमन्त्री लामिछानेले भने, “कुनै पनि घटना तथा अपराधको छानबिन र अनुसन्धान हुँदै गर्दाको प्रतिवादी हुने वा नहुने निर्धारण आदेशले होइन प्रमाणले गर्नुस्, अनुसन्धान प्रमाणमुखी हुनुपर्दछ र कानुनको नजरमा सबै बराबर हुनुपर्दछ।”

उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे। निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित सङ्ग्रहालयको निरीक्षण गर्नुका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिए।

उनले संगठन निर्माण र उच्च छवि बनाउन योगदान दिने सम्पूर्ण पूर्वप्रहरी अधिकृतहरू र बहालवाला प्रहरी अधिकृत तथा जवानहरूप्रति सम्मानसमेत प्रकट गरे। कर्मचारीहरूले आफूलाई सुम्पिएको जिम्मेवारी कानुनी परिधिमा रही निर्वाह गर्नुपर्ने तथा उनीहरूको वृत्तिविकासको सुनिश्चितता सङ्गठनले गर्नुपर्ने बताउँदै गृहमन्त्री लामिछानेले कर्मचारीको सरूवा, बढुवा तथा वृत्ति विकासका लागि आवश्यक नीति र योजना बनाएर ल्याउन आग्रह गरे।

गृहमन्त्री लामिछानेले वैज्ञानिक प्रविधिको प्रयोगबाट हुने अपराधको अनुसन्धानमा प्रविधिको प्रयोग सँगसँगै लिएर वैज्ञानिक उपकरणहरू र दक्षजनशक्तिको विकास आवश्यक रहेको उल्लेख गरे। पीडित महिला तथा बालबालिका, वृद्धवृद्धा, असहाय, गरिब, अपाङ्गता भएकाहरुको न्यायका लागि अझ बढी सजग र सचेत भई विशेष प्राथमिकताका साथ सम्बोधन गर्न उनले निर्देशन दिए।

मिटरब्याजपीडित, सहकारीपीडितको समस्या ठूलो चुनौतीको रूपमा रहेको उल्लेख गर्दै उनले आर्थिक अपराध, ठगी, साइबर अपराध, लागुऔषध कारोबार लगायतका आपराधिक गतिविधि नियन्त्रणमा जुट्न पनि आग्रह गरे।

समारोहमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गृहमन्त्रीबाट भएको निर्देशन कार्यान्वयनका लागि सङ्गठन पूर्ण प्रतिबद्ध रहेको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर