Aamsanchar

नेप्से परिसूचक २२.१० अंकले वृद्धि

Author Image
आइतवार, फागुन २७, २०८०

काठमाडौं – साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक २२।१० अंकले वृद्धि भएको छ।

अर्थमन्त्रीमा वर्षमान पुन आएसँगै पुँजीबजारका लगानीकर्ता पनि उत्साहित देखिएका छन्। लामो समयसम्म लगातार घटेको बजार नयाँ सत्ता समिकरण बनेसँगै शेयर बजार सकारात्मक बनेको छ। पछिल्ला तीन कारोबारमा नेप्से परिसूचक निरन्तर रुपमा उकालो लागेको छ।

आइतबार नेप्से परिसूचक २२.१० अर्थात् १.०८ प्रतिशतले वृद्धि भएर २०५२.६५ बिन्दुमा बन्द भएको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ४.२६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंकले बढेको छ।

आइतबार कारोबारमा आएका ३०४ कम्पनीको ७० लाख ४३ हजार ४५७ कित्ता शेयर २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार नेप्से कारोबार रकम करिब ३ अर्बनजिक पुगेको छ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये हाइड्रोपावरबाहेक अन्य १२ वटा उपसमूहको सूचक बढेको छ। जसमा लघुवित्त उपसमूहको सूचक ४.२१ प्रतिशतले बढेको छ भने लाइफ इन्स्योरेन्स, ननलाइफ इन्स्योरेन्स, लगानी, होटल, विकास बैंक, फाइनान्स र म्युचुअल फण्ड उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।

नेप्से परिसूचक बढेसँगै विन लघुवित्त र जाल्पा लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लागेको छ भने महुली लघुवित्तको ८.७२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ८.७१ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको ७.९४ प्रतिशतले बढेको छ। तर यता चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.०६ प्रतिशतले घटेको छ भने पिपुल्स पावरको ६.९५ प्रतिशतले घटेको छ। आइतबार शिवम् सिमेन्टको सबैभन्दा धेरै २२ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर