Aamsanchar

पपुवा न्यूगिनीलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

Author Image
मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं – नेपाल हङकङमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजको फाइनलमा प्रवेश गरेको छ। हङकङको मिसन रोड मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ८५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

१९९ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा अलआउट हुँदै ११३ रन मात्र बनाउन सक्यो। ​ पीएनजीका लागि हिरी हिरीले सर्वाधिक २८ रन बनाए। यस्तै सेसे बाउले २१ रनको योगदान गरे। कप्तान असद भाला ९ रन बनाएर आउट भए। ओपनिङमा निकै आक्रामक देखिएको पीएनजीको पहिलो विकेट ३२ रनमा पतन भएको थियो। ओपनर टोनी उरा १५ रन बनाएर आउट भए। त्यसपछि पीएनजीको विकेट पतन रोकिएन।

पीएनजीलाई सस्तैमा समेट्न कुशल भुर्तेलले चार विकेट लिए। चार ओभर बलिङ गरेका भुर्तेलले ४ चार विकेट लिए। प्रतिश जिसीले २ विकेट लिए भने आकाश चन्द र गुल्शन झाका नाममा एक एक विकेट रह्यो।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनायो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए। उनले टी–ट्वेन्टी आइमा एक हजार रन पूरा गरे। उनी यो खेलमा प्लेयर अफ द म्याच बने।

नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे। पहिलो विकेटका लागि विनोद भण्डारी र कुशल भुर्तेलले ६४ रनको साझेदारी गरे । २७ रन जोडेका विनोद ८ औँ ओभरको तेस्रो बलमा जोन कारिको बलमा क्याच आउट भए। कप्तान रोहित पौडेलले १ रन मात्र बनाउन सके। आरिफ शेख ४ रनमा पवेलियन फर्किए। कुशलले ३२ बलमा अर्धशतक पूरा गरेका थिए। कुशलले ३६ खेलको ३५ इनिङमा खेलमा १ शतक र ८ अर्धशतकसहित १ हजार रन पूरा गरेका हुन्।

उनी टी–२० आईमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली ब्याटर बनेका छन्। दीपेन्द्रसिंह ऐरीले टी–२० आईमा एक हजार रन पूरा गरेका छन्। सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्का सहित ५६ रनको अक्रमक इनिङ खेले। टी–२० आईमा आफ्नो करियरकै उत्कृष्ट प्रदर्शन गरेका सन्दीपको यो दोस्रो अर्धशतक हो। लोकेश बम १४ रनमा रन आउट भए। गुल्सन झा १५ र विवेक यादव १९ रनमा अविजित रहे।

कप्तान असद भालाले २ तथा जोन कारी, नर्मन भानुआ, नोसैना पोकना र १-१ विकेट लिए। नेपाल र घरेलु टोली हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले १–१ अंक बाँडेका थिए।

पीएनजीले आजै पौने १२ बजे हुने अर्को खेलमा हङकङको सामना गर्ने छ। त्यो खेलको विजेताले फाइनलमा भोलि नेपालसँग खेल्नेछ भने पराजित टोलीले हङकङ एको सामना गर्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर