बिर्तामोड । नेपालमा व्यवसाय गर्न सकिदैन, आर्थिक मन्दीले अहिले त व्यवसायमा लगानी गर्न पनि जोखिम छ भनेर व्यवसायीहरू बिच हुने गरेको चर्चा विपरित आफ्नै ठाउँमा केही गर्न सके आर्थिक सबल बन्न प्रचुर सम्भावना छ भनेर झापा बाह्रदशी गाउपालिका राजगढका चाँद महम्मद हुसेनले झापाको बिर्तामोड स्थित विशाल बजार भित्र एभरेष्ट फेसन एण्ड फ्रेस स्टोर सञ्चालनमा ल्याएका छन् ।
आज एक कार्यक्रमका बिच उक्त व्यवसायिक प्रतिष्ठानको उद्घाटन गरिएको हो । बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाईँले उद्घाटन गरेको स्टोर भाटभटेनी पछि धेरै सामान एकै ठाउँमा पाउने स्टोर रहेको सञ्चालक चाँदको दावी छ ।
स्टोरहरू सञ्चालनको लागि ५ करोड लगानी भई सकेको बताउँने सञ्चालक चाँदले बिर्तामोडको स्टोरको क्षेत्र अझै विस्तार गर्ने योजना रहेको आमसंचारलाई बताए ।
स्टोरमा दैनिक उपभोग्य, खाद्यन्नलगायतका बस्तु, रेडिमेट कपडा, जुत्ता चप्पल, भाडा वर्तन लगायत सयौँ सामानहरू बिक्रीका लागि राखिएको छ । सुलभ मूल्य, धेरै बिक्री भन्ने सोचका साथ सञ्चालनमा आएको बिर्तामोड स्टोरमा विभिन्न विदेशी तथा स्वदेशी ब्रान्डका सामानहरू बिक्रीका लागि राखिएको छ ।
निशुल्क सामान ढुवानी सेवा समेत उपलब्ध गराउने सञ्चालक चाँदले बताए । उनले भने ‘हाल २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । आगामी दिनमा अन्य शहरहरूमा पनि शाखा विस्तार गर्ने लक्ष्य रहेको छ ।’
उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राजु न्यौपाने, अतिथि महासचिव कुशल खतिवडा र उपाध्यक्ष विशाल थापा, सामाजिक व्यक्तित्व प्रेमबहादुर घिमिरेलगायतको उपस्थिति रहेको थियो ।