Aamsanchar

शिवसताक्षी ८ नम्बर वडाको तर्फबाट अरुणोदय आधारभूतलाई विद्युतीय अटो (ई–रिक्सा) हस्तान्तरण

Author Image
शुक्रवार, चैत २, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–८ ले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै स्कुल डाँडामा रहेको अरुणोदय आधारभूत विद्यालयलाई विद्युतीय अटो (ई–रिक्सा) उपलब्ध गराएको छ ।
बिहीबार एक कार्यक्रमकाबीच वडा अध्यक्ष सन्तकुमार फेउदिनले सो विद्यालयका विद्यार्थीलाई ई—रिक्सामा राखेर विद्यालय परिसर घुमाउँदै विद्यालयलाई हस्तान्तरण गरेका हुन् । वडा अध्यक्ष फेउदिन, वडा सदस्य टिकामाया दर्जी, विवेक थिंङ, ज्ञानु लुइँटेल र वडा सचिव पुष्पलाल पाण्डेले विद्यालयकी प्रधानाध्यापक तारा लावती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश सिलवाललाई विद्युतीय अटो रिक्साको साँचो हस्तान्तरण गरेका हुन् ।

विद्यालयलाई वडाले अटो रिक्सा दिएपछि आउने शैक्षिक सत्रमा विद्यार्थीको चाप बढ्ने वडा कार्यपालिका र विद्यालय प्रसाशनको ठम्याई छ ।

सम्झना चोक, डाँडा गाउँ, मुसर बस्ती, बिहानी चोक, कञ्चन टोल, बुद्ध चोक, पगरी टोल, गुराँस चोक लगायत टाढा टाढाबाट आउने विद्यार्थीलाई विद्यालयसम्म सहज रुपमा आउन र गन्तव्य सम्म पुग्न विद्युतीय अटो रिक्साले सहयोग पुग्ने विद्यालयकी प्रधानाध्यापक तारा लावतीले बताइन् । विद्यालयको समग्र भौतिक निर्माण तथा शैक्षिक विकासका लागि वडाले दिएको विद्युतीय अटो रिक्सा उपहारले विद्यालयको सर्वाङ्गीण विकासमा टेवा पु¥याउने उनले बताइन ।

विद्यालयले विद्युतीय अटो रिक्सा सञ्चालनका लागि सोही विद्यालयका एक विपन्न अभिभावकलाई जिम्मा दिने भएको छ । उनले विद्यालयमा टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीलाई विद्यालय सम्म ल्याउने र छुट्टी भएपछि घर सम्म पु¥याउने गर्छन् । विद्यार्थी ओसारे बापत उनले कुनै पारिश्रमिक विद्यालयबाट नलिने प्रधानाध्यापक लावतीले बताउन् । ‘बिहान बेलुका विद्यार्थी बोक्नुहुन्छ, दिउसो यात्रु बोक्नु हुन्छ,’ विद्यालयकी प्रधानाध्यापक लावतीले भनिन्, दिउँसो यात्रु बोके बापत उनले विद्यालयलाई दिनहुँ तीन सय भुक्तानी गर्नुहुन्छ ।’

विद्युतीय अटो रिक्सा चालकले दिएको तीन सयले विद्यालयले एक जना निजी शिक्षक नियुक्ति गर्ने विद्यालय प्रशासनले योजना बनाएको छ । नर्सरी देखी कक्षा १ सम्म अङ्ग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुने सो विद्यालयमा आउँदो शैक्षिक सत्रदेखि कक्षा २ सम्म अङग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुने भएको छ ।

आदिवासी, जनजाति, सन्थाल र दलित समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा वडाले दिएको विद्युतीय अटो रिक्सा उपहारले विद्यार्थी सङ्ख्या वृद्धि हुने वडा अध्यक्ष फेउदिनले बताए । उनका अनुसार टाढाको स्थानबाट पढ्नका लागि बालबालिका आउने कार्यलाई सहज बनाउन साधनको रुपमा विद्युतीय अटो रिक्सा उपलब्ध गराइएको हो ।

उनले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउन पनि सवारीसाधनले सहयोग पुग्ने जनाए । वडाले विद्युतीय अटो रिक्सा विद्यालयलाई उपहार दिएपछि स्थानीय अभिभावक पनि मक्ख परेका छन् । उनीहरूले अब, बोर्डिङ स्कुलबाट आफ्ना नानी निकालेर अरुणोदयमा भर्ना गर्ने बताए । स्थानीय भीमा राईले भनिन्,’ अघि नानीलाई बोक्ने गाडी थिएन र बोर्डिङमा पठाए । अव विद्यालयमा विद्युतीय अटो रिक्सा आएपछि आफ्नै गाउँको विद्यालयमा मेरी छोरी पढाउँछु ।’

सो विद्यालयमा ५ महिना अघि मात्र तारा लावती प्रधानाध्यापक पदमा नियुक्त भएकी हुन् । उनी प्रधानाध्यापकमा नियुक्त भएपछि विद्यालयको स्वरूप परिवर्तन हुन थालेको छ । शिक्षक शिक्षिकाको टिम वर्क मिल्यो भने सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सकिने उनले बताउन् । ‘म एक्लै केही होइन । अभिभावक, शिक्षक र दाताको सकारात्मक सोचले विद्यालयको गुणस्तर सुधार गर्न सकिने रहेछ । उनको नियुक्ति पछि १० जना विद्यार्थी थपिएका छन् ।

लावतीले विद्यालयका अक्षय कोष पनि स्थापना गरेकी छन् । गएको तिहारमा देउसी खेलेर अक्षय कोषको स्थापना गरेको उनले बताइन । देउसीको अलावा केही दाताले पनि विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)