काठमाडौं – पाँच दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्प सार्वजनिक गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट मंगलबार अपरान्ह सरकारको न्यूनतम साझा संकल्प सार्वजनिक गरिएको हो।
न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्पमा आर्थिक शिथिलता अन्त्य गर्ने, संघीयता पूर्ण कार्यान्वयनका लागि कानुन तथा सुशासनमा सुधार गर्नेगायतका विषयलाई प्राथमिकतामा राखिएको छ।
यस्तै, यस्तै शिक्षा, स्वास्थ्य र रोजगारीको विषय पनि मुख्य रुपमा समेटिएको छ। शान्ति प्रक्रियाका बाँकी काम सहमतिका आधारमा टुंग्याउने भनिएको छ।
न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्प तयार गर्न सत्ता गठबन्धनले १० सदस्यीय कार्यदल बनाएको थियो। उक्त कार्यदलले गत शनिबार नै मस्यौदा शीर्ष नेताहरूलाई बुझाएको थियो।
उक्त मस्यौदामा शीर्ष नेताको बैठक बसेर अन्तिम रुप दिएपछि सार्वजनिक गरिएको हो।