

धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा धनकुटास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सम्पर्क कार्यालयमा पहिलो पटक बसेको मन्त्रिपरिषद्को बैठकले धनकुटावासी हर्षित भएका छन् । संविधानसभाका सदस्य समेत रहेका मनोहर नारायण श्रेष्ठले धनकुटा व्यवहारमै प्रदेशको राजधानीको महसुस भएको भन्दै खुसी व्यक्त गरे । बृहत् विराट क्षेत्रको अवधारणा अनुसार प्रदेशको राजधानी विराटनगर घोषणा गरे पनि त्यसको प्रत्याभूत नभइरहेका बेला मुख्यमन्त्री कार्कीको नेतृत्वमा पहिलो पटक मङ्गलवार धनकुटामा मन्त्रिपरिषद् बैठक बसेको हो ।

२०७६ साल वैशाख २९ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले सम्पर्क कार्यालयको उद्घाटन गर्दै मन्त्रिपरिषद्को बैठक बस्ने र महत्त्वपूर्ण निर्णय गरिने जनाए पनि उक्त कार्यालयमा बैठक भने बसेको थिएन । मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री नियुक्त भएसँगै धनकुटामा रहेको सम्पर्क कार्यालयबाट पनि जनताका काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
जसअनुसार अरू विविध कार्यक्रमका साथ मुख्यमन्त्री धनकुटा पुगेका हुन् । मुख्यमन्त्री कार्कीले सम्पर्क कार्यालयमा अब नियमित रूपमा सञ्चालन भई बैठक बस्ने समेत बताए । यस्ता छन् धनकुटामा बसेको
पहिलो मन्त्रिपरिषद् बैठकका निर्णयहरू :

१, स्वदेशी उत्पादन तथा उपभोगलाई प्रोत्साहन गर्दै प्रदेशको अर्थतन्त्रलाई मजबुत बनाउन प्रदेशका सबै सार्वजनिक निकायले स्वदेशी तथा विदेशी पाहुनाहरूलाई कोसेलीको रूपमा केही वस्तुहरू दिनुपर्दा, कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दा र कर्मचारीको स्वागत तथा बिदाइ गर्दा प्रदान गरिने उपहार प्रदेशभित्रै उत्पादन भएको वस्तु हुनुपर्ने ।
२, खुवालुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको रूपमा विकास गर्ने ।
३, मन्त्रिपरिषद्को बैठक महिनाको एक पटक धनकुटामा बस्ने ।
मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालयमै प्रदेश लगानी प्राधिकरणको बोर्ड बैठक पनि बसेको छ । बैठकले आगामी जेठ ७, ८ र ९ गते विश्व चिया सम्मेलन गर्ने निर्णय गर्दै त्यसको लागि निर्देशक समिति गठन गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाका अनुसार बैठकले धनकुटाको भेडेटारमा निर्माण भएको स्काई वाकको राजश्व बाँडफाँडको लागि प्रदेश सरकार, धरान उपमहानगरपालिका र साँघुरीगढी गाउँपालिकाको प्रतिनिधि रहेको समितिसमेत गठन गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।


सोही क्रममा महिला स्वास्थ्य स्वयं सेविकाले धनकुटामा मुख्यमन्त्री कार्कीलाई स्वागत गरेका छन् । महिला स्वास्थ्य स्वयं सेविकालाई प्रोत्साहनका साथै सम्मान गरेर प्रदेश सरकारले उदाहरणीय काम गरेको भन्दै सम्मान गरिएको हो । महिला स्वास्थ्य स्वयं सेविकाले आफूहरूका समस्या दीर्घकालीन रूपमा समाधान गर्न मुख्यमन्त्री कार्की समक्ष आग्रह गरेका छन् । संचारकर्मीहरुसंगको छलफलमा मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री कार्कीद्वारा अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता कोशी प्रदेशका खेलाडी र प्रशिक्षकलाई पुरस्कृत, प्रदेश योजना आयोगको योजना तर्जुमा सुझाव सङ्कलन, राजनीतिक तथा स्थानीय बुद्धिजीवीसँग सुझाव सङ्कलनका साथै सहिद भीमनारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठसँग आशीर्वाद लिई विराटनगर फर्किएका छन् ।


