Aamsanchar

अबैध रुपमा भारततर्फ नेपाली उत्पादन लैजाँदै गरेको फेला

Author Image
बिहिवार, वैशाख ६, २०८१

नेपालगन्ज- भारतबाट भन्सार छलेर विभिन्न सामान नेपालतर्फ अवैध रुपमा आयात भइरहेका बेला नेपालबाट पनि अबैध रुपमा भारततर्फ नेपाली उत्पादन लैजाँदै गरेको भेटिएको छ । ठुलो परिमाणको खुकुरी चुरोट प्रहरीले नाका नजिकबाट बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका –१५ जमुनाहबाट अवैध रुपमा भारततर्फ चोरी निकासी गर्न लागिएको एक हजार २८० प्याकेट खुकुरी चुरोट प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले उक्त चुरोटको अन्दाजी मुल्य एक लाख ५८ हजार ७२० रुपियाँ रहेको जनाउँदै सो बारेमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।

अबैध रुपमा नेपालबाट भारततर्फ लैजाँदैगरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले सो चुरोट फेला पारी ढुवानीमा संलग्न ३ जना व्यक्तिसहित नियन्त्रणमा लिएको प्रवक्ता डिएसपी डाँगीले बताउनुभयो ।

उहाँले आवश्यक थप कारवाहीका लागि सो चुरोट र पक्राउ परेका तीन जनालाई भन्सार कार्यालय नेपालगन्जमा बुझाइएको बताउनुभयो । बाँकेमा जिल्ला प्रहरी प्रमुखको फेरबदल भई नयाँ प्रहरी प्रमुखका रुपमा एसपी तुलबहादुर कार्की आएलगत्तै प्रहरीले अवैध चोरी पैठारी र आपराधिक घटनाविरुद्ध कडा कदम चालेको छ ।

बाँकेको प्रहरी प्रमुख एसपी कार्कीले आफू जिल्लामा आएलगत्तै कानुन व्यवस्था कडा पार्नुका साथै नाकाबाट भइरहेको अवैध पैठारी निकासी रोक्न विशेष अभियान सञ्चालन गरेको बताउनुभयो । प्रहरीले जनताको सहयोगबाट हरेक प्रकारका गैर कानुनी कामलाई रोक्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर