Aamsanchar

ताप्लेजुङमा आर्थिक वर्ष सकिनलाई तीन महिना बाँकी रहँदा ४० प्रतिशत मात्र पुँजिगत खर्च

Author Image
आइतवार, वैशाख ९, २०८१

ताप्लेजुङ- ताप्लेजुङमा आर्थिक वर्ष सकिनलाई तीन महिना बाँकी रहँदा पुँजीगततर्फको बजेट करिब ४० प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार सङ्घ तथा प्रदेश दुवैतर्फको पुँजीगत बजेट खर्च ४० प्रतिशत हाराहारी मात्र भएको हो ।

चालू आर्थिक वर्षको नौ महिनामा अर्थात् चैत मसान्तसम्ममा पुँजीगत बजेटको ४० प्रतिशत मात्र खर्च भएको पाइएको कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका प्रमुख एवम् कोष नियन्त्रक गणेशप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीयतर्फको पुँजीगत बजेट ४०.४० प्रतिशत खर्च भएको छ । यस्तै प्रदेशतर्फको पुँजीगत बजेट ४०.८४ प्रतिशत खर्च भएको छ ।

सङ्घीयतर्फ पुँजीगत बजेट ४० करोड ३९ लाख ५३ हजार ५०४ रुपियाँ रहेकोमा १६ करोड ३२ लाख २३ हजार १६२ रुपियाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सहायक लेखापाल नवीन खनालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशतर्फ २० करोड पाँच लाख दुई हजार रुपियाँमध्ये आठ करोड १८ लाख ९३ हजार ९६५ रुपियाँ पुँजीगत बजेट खर्च भएको छ । पुँजीगत बजेट खर्च न्यून हुनु भनेको विकास तथा पूर्वाधारका काममा प्रगति नहुनु हो ।

त्यस्तै चालू बजेट भने सङ्घतर्फ ६५.३० प्रतिशत र प्रदेशतर्फको ५०।३१ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । सङ्घको चालू बजेट कुल चार अर्ब २९ करोड ३१ लख ५९ हजार १० रुपियाँमध्ये चैत मसान्त सम्ममा दुई अर्ब ८० करोड ३८ लाख ६१ हजार ४९७ रुपियाँ खर्च भइसकेको छ ।

यसै गरी प्रदेशतर्फको चालू बजेट ४१ करोड ४३ लाख २२ हजार रुपियाँ रहेकोमा २० करोड ८४ लाख ६० हजार ४७ रुपियाँ खर्च भइसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालू बजेटमा अधिकांश तलब भत्ताको रकम भएकाले खर्चको अवस्था उल्लेख्य देखिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर